८७ बिघा जग्गामा यसरी बन्दैछ आइसिपी,६०% काम सम्पन्न


नेपालगन्ज, २८ कात्तिक-आगामी २०८० साल जेठ महिनासम्ममा काम सम्पन्न गर्नुपर्ने लक्ष्य तोकिएको नेपालगन्जमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आइसिपी) को काम अझै ४० प्रतिशत बाँकी रहेको पाइएको छ ।

२०७७ पुस महिनादेखि निर्माणको काम सुरु गरिएको आइसीपीको २२ महिनामा ६० प्रतिशत काम मात्र सम्पन्न भएको छ । तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नका लागि ७ महिनामा बाँकी ४० प्रतिशत काम सक्नुपर्नेछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा निर्माणाधीन आइसिपीको निर्माणको लागि भारतको राजदीप ब्रिडकोम प्रा.लि. ले एक अर्ब ४७ करोड भारतीय रुपैयाँमा ठेक्का पाएको छ । नेपाल र भारत सरकारबीच १७ वर्षअघि भएको सम्झौताअनुसार भारतले उक्त आइसीपीको निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ ।

नेपालगन्जसहित विराटनगर, वीरगन्ज र भैरहवा नाकामा आइसिपी निर्माणका लागि भारत सरकारसँग सन् २००५ मा सहमति भएको थियो । विराटनगर र वीरगन्जमा भने आइसिपी निर्माण गरी भारतले यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर विजय मण्डलिकले हालसम्म ६० प्रतिशत काम सम्पन्न हुनु राम्रो प्रगति भएको दाबी गरे । तर निर्माण समयमै सकिनेमा निर्माण कम्पनी पनि ढुक्क छैन ।

मण्डलिकले केही महिना थप लाग्न सक्ने संकेत गरे । सुरुवाती चरणमा माटो भर्नुपर्ने भएकोले र कोरोनाका कारण काम प्रभावित भएकोले धेरै समय लागेको उनको भनाइ छ । ॅअब माटो भर्ने काम लगभग सकिएको छ,’ उनले भने, ॅभवन लगायतका संरचनाहरु निर्माण करिब अन्तिम चरणमा पुगिसकेको छ । यस हिसाबले हामी काम समयमै सकिनेमा आशावादी छौँ । बढी भयो भने एक दुई महिना थपिन सक्छ ।’ मण्डलिकले अबको समय निर्माणका लागि उपयुक्त समय भएकाले द्रुतरुपमा काम हुने दाबी गरेका छन् । ॅनिर्माण सामग्रीहरु प्राप्तिमा कुनै समस्या छैन । अन्य कुनै अवरोधहरु पनि छैनन् । अब मौसम पनि राम्रो सुरु भएको छ । त्यसकारण हामीलाई काम गर्न कुनै समस्या छैन,’ उनले भने ।

८७ बिघा जग्गामा आइसिपी निर्माण भइरहेको छ । अहिले डिपिआरमा रहेका भवन तथा सेडहरु निर्माण भइरहेका छन् । आइसिपीबाट मुख्य सडक जोड्ने दुई हजार दुई सय मिटर लम्बाईको लिंकरोड पनि निर्माण भइसकेको छ । अब मुख्यगरी भवन लगायतका संरचनाहरु निर्माण गर्न र पार्किङ तथा खुला क्षेत्रको निर्माण कार्य बाँकी छ ।

आइसिपीमा भन्सार जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, खाद्य प्रविधि तथा गुण नियन्त्रण लगायत कार्यालय रहनेछन् ।

जसले अहिले अव्यवस्थित रुपमा रहेको देशकै व्यस्तमध्येको एक नेपालगन्ज भन्सारको सेवा सुधार हुने र राजस्व चुहावटमा कमी आउने अपेक्षा गरिएको छ । अहिले भन्सारको व्यवस्थित संरचना नहुँदा नेपालगन्ज नाका अव्यवस्थित छ । ट्रक, ट्यांकर तथा कन्टेनर लगायतका मालवाहक साधनहरु मुख्य सडकमै रोक्नुपर्ने अवस्था छ ।

प्रकाशित मितिः     २८ कार्तिक २०७९, सोमबार १०:४५  |