मप बिश्वबिद्यालयका सहप्राध्यापक र सहायक डिनविरुद्ध मुद्दा, यस्तो छन अभियोग


नेपालगन्ज २८ कात्र्तिक -पास भएका परीक्षार्थीलाई फेल गराएर त्यसको ठाउँमा फेल भएकालाई पास गराउने मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहप्राध्यापक र सहायक डिनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र संकाय डिनको कार्यालयले १९ माघ ०७७ मा सूचना प्रकाशित गरी लिएको परीक्षामा हिनामिना गर्ने अंग्रेजी संकायका विज्ञ सहप्राध्यापक विनयकुमार दास र परीक्षा समितिका संयोजक सहायक डिन कमलेस डिसीविरुद्ध अख्तियारले सोमबार मुद्दा दायर गरेको हो।

प्रश्नपत्रको गोपनीयता भंग तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। सहप्राध्यापक दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा अंक प्रदान गर्दा अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने प्रकृतिको उम्मेदवारको उत्तरपुस्तिकामा दिएको अंकलाई पटकपटक केरमेट गरी (घटाएर) अनुत्तीर्ण गरे–गराएको देखिएको आरोपपत्रमा उल्लेख छ।

प्रेस विज्ञप्ति:- मिति २०७९।०७।२८ गते ।
—————————————————-
मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र संकाय डिनको कार्यालयद्वारा मिति २०७७।१०।१९ गतेको गोरखापत्रमा प्रकाशित सूचना छलकपटपूर्ण तरिकाले निकालिएको, विभिन्न विषयका आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय (कानूनमा स्नातकोत्तर गरी न्यूनतम ५० प्रतिशत ल्याएको) मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपिमा अङ्‍क थपघट गरिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यमा संलग्न देहायका व्यक्तिहरु उपर देहाय अनुसारको मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय:
(क) अंग्रेजी विषयका विज्ञ विनय कुमार दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा अङ्‍क प्रदान गर्दा अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने प्रकृतिको उम्मेदवारको उत्तरपुस्तिकामा दिएको अङ्‍कलाई पटक-पटक केरमेट गरी (घटाएर) अनुत्तीर्ण गरे गराएको देखिएको, अन्तर्वार्ताको क्रममा अन्तर्वार्ता अगावै सहभागी उम्मेदवारहरूका उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको Symbol No. राखी संकेत गरी उम्मेदवारको पहिचान गरी प्राप्ताङ्‍कको आधारमा अन्तर्वार्तामा अङ्‍क प्रदान गर्ने योजना बनाई सोही बमोजिम अङ्‍क प्रदान गर्न पहिले दिएको अङ्‍क केरमेट गरी बदनियतपूर्वक उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण गरेको र उत्तीर्ण हुन सक्नेलाई वैकल्पिक उम्मेदवार बनाई परीक्षाको परिणामलाई फेरबदल गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको देखिएकोले निज अंग्रेजी विषयका विज्ञ एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहप्राध्यापक डा. विनय कुमार दासलाई ऐ. ऐनको दफा १३ बमोजिम सजाय गर्न मागदावी लिइएको छ ।
(ख) परीक्षा समितिका संयोजक सहायक डिन कमलेश डि.सी.ले अंग्रेजी विषयको Scrutiny Board को तर्फबाट उत्तरपुस्तिका संपरीक्षणको जिम्मेवारी प्राप्त भएकोमा विज्ञबाट पटक-पटक दिएको अङ्‍क केरमेट गरी संशोधन गरिएकोमा समेत अनदेखा गरी स्वीकार गरेको, अन्तर्वार्तामा छनौट समितिको संयोजकको रूपमा सहभागी हुँदा विज्ञले अन्तर्वार्ताको क्रममा उत्तरपुस्तिका माग गर्दा उपलब्ध गराएको, उम्मेदवार पहिचानका लागि Symbol No. लेखी केरमेट गर्न सहमति जनाएको र अंग्रेजी विषयको अन्तर्वार्ताको अङ्‍कसमेत नजोडी नतिजा प्रकाशन गर्ने प्रयोजनको लागि बैठक पुस्तिकामा टाँस गरी परीक्षाको परिमाण फेदबदल गरे गराएको समेत देखिँदा निज मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक तथा Scrutiny Board सदस्य श्री कमलेश डि.सी.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा ऐ. ऐनको दफा १३ बमोजिम सजाय गर्न मागदावी लिइएको छ ।
प्रवक्ता
श्याम प्रसाद भण्डारी

त्यस्तै, अन्तर्वार्ता अगावै सहभागी उम्मेदवारहरूका उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको सिम्बोल नम्बर राखेर उम्मेदवारको पहिचान गरी प्राप्तांकको आधारमा अन्तर्वार्तामा अंक प्रदान गर्न पहिले दिएको अंक केरमेट गरी बदनियतपूर्वक उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण गरेको तथा उत्तीर्ण हुन सक्नेलाई वैकल्पिक उम्मेदवार बनाई परीक्षाको परिणामलाई फेरबदल गरेको अख्तियारको आरोप छ।

सहायक डिन डिसीले अंग्रेजी विषयको परीक्षण बोर्डको तर्फबाट उत्तरपुस्तिका संपरीक्षणको जिम्मेवारी प्राप्त भएकोमा विज्ञबाट पटकपटक दिएको अंक केरमेट गरी संशोधन गरिएकोमा समेत अनदेखा गरी स्वीकार गरेको, अन्तर्वार्तामा छनोट समितिको संयोजकको रूपमा सहभागी हुँदा विज्ञले अन्तर्वार्ताको क्रममा उत्तरपुस्तिका माग गर्दा उपलब्ध गराएको, उम्मेदवार पहिचानका लागि सिम्बोल नम्बर लेखी केरमेट गर्न सहमति जनाएको र अंग्रेजी विषयको अन्तर्वार्ताको अंकसमेत नजोडी नतिजा प्रकाशन गर्ने प्रयोजनको लागि बैठक पुस्तिकामा टाँस गरी परीक्षाको परीमाण फेदबदल गर्न संलग्न भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

प्रकाशित मितिः     २८ कार्तिक २०७९, सोमबार १४:३४  |