‘यसपटक मौका दिनुस्, तपाईंको शिर ठाडाे पार्ने काम गर्छु’


नेपालगन्ज, ३० कार्तिक- राप्रपा एमाले तालमेलबाट बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेदवार डा. धवल शम्शेर राणाले चुनाव जितेर पैसा कमाउने फेरि चुनाव लड्ने र जनता किन्ने चक्रब्यू तोड्न आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

नेपालगन्ज १० को गणेशमान चौकमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. राणाले भ्रष्टाचार रोक्नु आफ्नो अभिस्ट रहने भन्दै आफुले पाउने तलब भत्तासमेत जनताकै लागि खर्चिने बताए । उनले आफू २ पटक नगरपालिकाको नेतृत्व गर्दा कुनै भ्रष्टाचार गरेको प्रमाण ल्याए आफू राजनीतिबाट बिदा हुने बताए । उनले नगरको गाउँको र देशको भविस्य सम्झेर अन्य नेताहरूको स्वभाव बुझेर मात्रै मतदान गर्न आग्रह गरे । उनले भने भ्रष्टाचारीहरुको मुख नलाग्ने, कटु नबोल्ने ढुंगा हान्ने होइन बाकस खाली गरे पुग्छ ।

उम्मेदवार डा. राणाले पहिले आफ्नो घर बनाउन जनताले पठाएकाले आफुले नमूना नगरपालिका बनाएको दावी गरे । अब देश जनता र क्षेत्रको सेवा गर्न उभिएको बताए । नेपालगन्ज दिल्ली उडान गेम चेन्जर हो भन्दै आफू त्यसको पहलमा लाग्ने डा. धवलले बताए । किसानको पीडा आफुले राम्रोसँग बुझेको भन्दै देशमा मलको उद्योग जरुरी रहेकोले आफू शुरुदेखी पहलमा लान्ने उनले बताए । डुडुवामा विकास कम भएकोले आफ्नो ध्यान त्यहीँ पुगेको राणाले बताए । उनले जनताको शीर झुकाउने काम दुबै उम्मेदवारले नगर्ने बताए ।

डाक्टर राणाले एमालेबाट प्रदेश ख का उम्मेदवार निरक गुरुङको निष्कलंक यात्राको प्रशंसा गर्दै आफुलाइ जति भोट आउँछ त्यति भोट गुरुङलाई हाल्नु पर्ने बताए । डाक्टर राणाले अब नदोहोरिने गरी सुकुम्बासी समस्या समाधान गर्नु पर्ने धारणा राखे । कार्यक्रममा प्रदेश ख का उम्मेदवार गुरुङले आफ्नो ४० वर्से राजनीतिक यात्रामा जनतालाई पीर पार्ने, भ्रष्टाचार, अनैतिक काम नगरेकोले नेपालगन्जबासीले न्याय गर्ने बताए ।

राणाले एकपटक अवसर दिन अपिल गर्दै भने- ‘संसदमा नेपालगन्जकाे आवाज बुलन्द गर्नुछ,डुडुवाका कुरा सुनाउनुछ । हरेककाे मत र मनकाे प्रतिनिधित्व गर्ने छु याे धवलकाे बाचा हाे’

प्रकाशित मितिः     ३० कार्तिक २०७९, बुधबार १९:०५  |