बाँके र बर्दियामा रु. ५ अर्ब ४७ करोड ९७ लाख कर संकलन


आधुनिक, पारदर्शी र वैज्ञानिक करको रुपमा परिचित मूल्य अभिवृद्धि कर नेपालमा समेत लागू गर्ने सन्दर्भमा वि.सं.२०५२ चैत १७ गते नेपाल राजपत्रमा प्रकाशन भएको मूल्य अभिवृद्धि कर ऐन,२०५२ देशव्यापी रुपमा वि.सं.२०५४ मंसीर १ गते देखि लागू भएको थियो ।

मू.अ.कर लागू भएको सोही मितिको सम्झनामा नेपाल सरकार मन्त्रिपरिषद्को २०६९ कार्तिक २ गतेको निर्णयानुसार वि.सं. २०६९ साल देखि मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसको रुपमा मनाउन थालिएको हो । हाल मंसिर १ देखि ७ गतेसम्म सप्ताहव्यापी रुपमा राष्ट्रिय कर सप्ताह आयोजना गरि कर सम्बन्धी सचेतना अभिवृद्धिका कार्यक्रम आयोजना गर्ने गरिएको छ ।

कर प्रशासन, करदाता र सरोकारवाला निकायहरू बीचको सहकार्य, समन्वय र सहजिकरणमा सेवा प्रवाहलाई थप छिटो, छरितो र गुनासो रहित बनाउने, करदाता र कर प्रशासन बीच सौहार्दपुर्ण वातावरण सृजना गरी कर सँग डर होइन, भर गर्ने अवस्थाको सृजना गर्ने, बढी कर तिर्ने करदाताहरूलाई सम्मान गरी प्रोत्साहन गर्ने, कर तिर्ने संस्कार र संस्कृति जागृत गराउने, कर प्रणाली र कर कानूनका विषयमा अन्तरक्रिया र छलफल कार्यक्रम आयोजना गरी कर सचेतना अभिवृद्धि मार्फत आन्तरिक राजस्व परिचालनमा अभिवृद्धि गर्ने लगायतका उद्देश्य सहित सप्ताहव्यापी रुपमा कर सप्ताह आयोजना हुँदै आएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले आयकर ऐन, २०५८ मूल्य अभिवृद्धि कर ऐन, २०५२ अन्तःशुल्क ऐन, २०५८, मदिरा ऐन, २०३१ र सालवसाली रुपमा आउने आर्थिक ऐनमा भएका कर सम्बन्धी प्रावधानहरूको कार्यान्वयन गर्ने काम गर्दछ । बाँके र बर्दिया जिल्ला कार्यक्षेत्र रहेको र मातहतको करदाता सेवा कार्यालय गुलरियाबाट समेत सेवा प्रवाह गर्दै आएको छ ।
२०७९ कार्तिक मसान्त सम्मको अभिलेख अनुसार हाल यस कार्यालय अन्तर्गत (बाँके र बर्दिया जिल्लासमेत गरी ) करिव १०६९२३ व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता, करिव ५३२४३ व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाता र ६४५ Withholder PAN लिने करदाता सेमत गरी जम्मा १६०८११ करदाताहरू रहेका छन् ।

उक्त करदाताहरू मध्ये ७७४१ करदाता मू.अ.करमा र ४४३९ करदाता अन्तःशुल्कमा समेत दर्ता भएका छन् ।
कार्यालयले आ.व. २०७८/०७९ मा रु. ५ अर्ब २२ करोड ४६ लाख २ हजार राजस्व असुलीको लक्ष्य रहेकोमा कोभिड-१९ को कारण र आर्थिक मन्दीका बाबजुत पनि रु. ५ अर्ब ४७ करोड ९७ लाख ५ हजार राजस्व असुल गरी लक्ष्यको तुलनामा १०४.८८ प्रतिशत प्रगति हाँसिल गर्न सफल भएको व्यहोरा सहर्ष निवेदन गर्न चाहन्छौ ।

आन्तरिक राजस्व विभागले यस कार्यालयलाई आ.व. २०७९/०८० को लागि रु. ६ अर्ब ५६ करोड ५९ लाख १८ हजार राजस्व असुलीको लक्ष्य निर्धारण गरेको छ । जस मध्ये कार्तिक मसान्तसम्मको लक्ष्य रु. १ अर्ब ५१ करोड ४९ लाख ५९ हजार रहेकोमा उक्त अवधिमा १ अर्ब ७४ करोड ३५ लाख ४६ हजार राजस्व असुल भई लक्ष्यको तुलनामा ११६ प्रतिशत राजस्व असुली भएको अवस्था छ । सम्पूर्ण व्यवसायी, लेखा परीक्षक, विभिन्न विषयगत तथा वस्तुगत संघ संगठनहरुले उक्त लक्ष्य पूरा गर्न सहयोग, समन्वय गरिदिनुहुनेछ भन्ने अपेक्षा समेत राखेको छु ।

हाल करदाताले Connect IPS र Eswea जस्ता विद्युतीय भुक्तानीका माध्यमहरू प्रयोग गरी घरैबाट कर तिर्न सक्ने व्यवस्था मिलाईएको छ । डे ०१ र डे ०२ आय विवरण पेश गर्ने करदाताहरुले घरैबाट कर चुक्ता प्रमाणपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था पहिले देखि नै रहि आएकोमा निकट भविष्यमै D03 आय विवरण पेश गर्ने करदाताहरूले समेत घरैबाट करचुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था मिलाइदैछ ।

अन्तःशुल्क इजाजतपत्रको नवीकरण समेत करदाताले घरैबाट गर्न सक्ने व्यवस्था मिलाइसकिएको छ । साथै करदाता लगअन मार्फत आय विवरण, कर विवरण, ETDS विवरण करदाता आफैले प्रमाणित गर्ने , कर दाखिला र बक्यौता सम्बन्धी जानकारी आफैले हेर्न सक्ने लगायतका सुविधाहरू पहिले देखि नै करदाताहरुले उपयोग गर्दै आएको व्यहोरा विदितै छ ।

यस वर्षको राष्ट्रिय कर दिवसको नारा अनुसार स्वेच्छीक सहभागिता सहितको फराकिलो कराधार निर्माण गर्दै राष्ट्रिय अर्थतन्त्रलार्इ दिगो, उत्पादनमूखि र सवल बनाउने लक्ष्यमा सम्पूर्ण करदाताहरु, सरोकारवाला निकाय, वस्तुगत संघ संगठन समेतको सहयोग समन्वय र सहकार्यमा सफल हुने विश्वास लिएको छु ।

कोभिड-१९ को कारणले सिर्जित चुनौतिलाई अवसरको रुपमा उपयोग गर्दै नेपाल सरकारले लिएको डिजिटल नेपालको संकल्पलाई साकार पार्न विभागले कार्यप्रक्रिया सरलीकरण, अनलाइन सेवाको विस्तार एवम् स्वचालित सेवा प्रवाहलाई दृढताका साथ अगाडि बढाएको छ।
आ आफ्नो व्यवसायको आयकर तथा मु.अ.कर वक्यौता समयमा बुझार्इ सहयोग गरिदिनहुन आग्रह गर्दछु ।
आर्थिक ऐन, २०७९ ले प्रदान गरेका छुट तथा सूविधाहरु रहेको हुँदा उक्त समयावधि भित्र छुट सूविधा उपभोग गर्नहुन अनुरोध गर्दछु ।

कर सप्ताहको समयावधिमा प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनको कारण करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम संचालन गर्न असहज भएकोले करसँग सम्बन्धित विषयमा आन्तरिक राजस्व कार्यालय तथा उद्योग वाणिज्य संघ, अन्य विभिन्न वस्तुगत संघ संगठन, सरकारी तथा गैर सरकारी क्षेत्र, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था, व्यवसायी एवं आम करदाताहरुसँग करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिने कुरा यहाँहरुलार्इ जानकारी गराउछु ।

राष्ट्रिय कर सप्ताह २०७९ को पुनित अवसरमा आज आ.व. २०७७/०७८ मा सर्वाधिक आयकर दाखिला गर्ने करदातालाई सम्मान गर्ने र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रशंसापत्र सहित पुरस्कृत गरी कर सप्ताह समारोह मनाउने तथा कार्यालयको प्राङगणमा कर सप्ताहको समापन कार्यक्रम आयोजना गरी कर सप्ताह मनाउन लागिएको छ ।

राष्ट्रिय कर दिवस २०७९ को कार्यक्रमहरू र कार्यालयका नियमित कार्यहरूमा समेत सदा झैं यहाँहरूको सहयोग, सहकार्य, समन्वय र सुझाव प्राप्त हुनेनै छ भन्ने अपेक्षा सहित अमुल्य समयको लागि यहाँहरू प्रति पुन एक पटक हार्दिक आभार प्रकट गर्दै पुनः एक पटक मञ्चमा आसिन विशिष्ट व्यक्तित्वहरू र कार्यक्रममा उपस्थित महिला तथा सज्जन वृन्दहरूलाई हार्दिक स्वागत गर्दै विदा हुन चाहन्छु ।

(कर सप्ताह समापनकाे अबसरमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जकाे तर्फबाट स्वागत मन्तव्यका क्रममा व्यक्त बिचार)

प्रकाशित मितिः     ८ मंसिर २०७९, बिहीबार १७:३१  |