गत बर्ष बाँकेमा थपिए डेढ अर्व बढि लगानीका छ ठूला उद्योग


बाँके २० मंसिर– गत आर्थिक बर्ष २०७८/७९ मा बाँकेमा रु १ अर्ब ६७ कुल लगानीका ठूला छ वटा उद्योग स्थापनाका लागि उद्योग बिभागमा दर्ता भएका छन् । दर्ता उद्योग मध्ये कतिपय सञ्चालनमा गइसकेका छन् भने कति निर्माणधिन अबस्थामा छन् । यी उद्योग पूर्णरुपमा सञ्चालनमा आए साढे चार सय जनाले रोजगारी पाउने छन् ।

बाँकेमा पछिल्लो समय करोडौ लगानीका उद्योग स्थापना गर्ने क्रम बढेको छ । नेपालगन्ज औद्योगिकक्षेत्रमा मात्र सीमित उद्योग ग्रामिणक्षेत्रमा समेत केन्द्रीत भएका छन् । पश्चिमको ‘ट्रान्जिट’ भएका कारण यहाँ उद्योग सञ्चालनको माहोल बनेको हो ।

उद्योग बिभागका अनुसार, गत आर्थिक बर्षमा बाँकेमा सञ्चालनका लागि दर्ता भएको मध्ये सबैभन्दा ठूलो उद्योग घोराही सिमेन्ट उद्योग रहेको छ । बैजनाथ गाउँपालिका–५ मा रहेको यो उद्योगले सिमेन्ट प्याकेजिङ्गको काम गर्दै आएको छ । विभागमा भएको दर्ता अनुसार उक्त उद्योगमा रु २१ करोड लगानी छ भने ४८ जनाले रोजगारी पाउने उल्लेख गरिएको छ ।

यि बाहेक बाँकेमा सबैभन्दा धेरै हस्पिटालिटीक्षेत्रको क्यासिनोहरु रहेका छन् । त्यस्तै हर्बल उद्योगहरु समेत रहेका छन् । दर्ता भएका मध्ये अधिकांस उद्योग सन्चालनमा छन् । स्थापना भएका नयाँ उद्योग मात्र नभई पुराना उद्योगहरु समेत अहिलेको आर्थिक समस्याले पिरोलिएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बाँकेमा ठूला उद्योग स्थापनाको लहर भएपनि कोभिड–१९ र त्यसपछि उत्पन्न आर्थिक समस्याले उद्योग सन्चालनमा कठिनाई भइरहेको बताउँछन् । उनी भन्छन्–‘अहिले समस्यालाई समयमै सल्टाउन नसक्ने हो भने निजीक्षेत्र उठ्नै नसक्ने गरी धरासायी बन्छ ।’

 

प्रकाशित मितिः     २० मंसिर २०७९, मंगलवार १२:०९  |