नेपालगन्ज, २३ मंसिर- अन्तर्राष्ट्रिय अख्तियार दिवस मनाइहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय, नेपालगन्जले पहिलेको तुलनामा उजुरी घटेको र मुद्दा फच्र्योट बढेको तथ्यांक सार्वजनिक गरेको छ ।
नेपालगन्जमा आयोजित सरोकारवालासंगको अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।
गत आर्थिक वर्ष २०७८/०७९ मा करीब ७० प्रतिशत मुद्दा फच्र्योट गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय, नेपालगन्ज देशका ८ आयोगका कार्यालयमा दोस्रो भएको छ । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको उक्त कार्यालयले गत वर्ष ७५३ उजुरीमा ५२४ मुद्दा फच्र्योट गरेको जनाएको छ ।
चालू आर्थिक वर्षको ४ महिनामा ४०० उजुरीमा ९१ वटा उजुरीको किनारा लगाएको अख्तियार सम्पर्क कार्यालय, नेपालगन्जले जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ६५ प्रतिशत प्रगति रहेकोमा गत आर्थिक वर्षमा ५ प्रतिशत वृद्धि भएको अख्तियारको नेपालगन्ज प्रमुख बिजय पौडेलले बताए ।
कार्यालयले दिवसका अवसर पारेर बाँके स्थित सरकारी कार्यालयका प्रमुख, नागरिक समाज, निजी क्षेत्र र संचारकर्मीसंग अन्तरक्रिया राखेर सुझावसमेत संकलन गरेको छ । सहभागीहरुले अख्तियारको काम कारवाही अझै गतिशील, अनुसन्धान विधि प्रक्रिया छिटो छरितो हुनु पर्ने र झुठा उजुरीमा थप चनाखो हुँदै प्रवद्र्धनात्मक क्रियाकलाप हुनु पर्ने सुझाव दिएका छन् । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सबैभन्दा बढी स्थानीय तहका मुद्दा धेरै रहेकोले स्थानीय तहका कर्मचारी पनि सरुवा हुनु पर्ने बताए ।
अख्तियारमा परेका उजुरीमा सार्वजनिक खरिद, भूमि व्यवस्थापन तथा सहकारी, विकास निर्माण, कर्मचारी व्यवस्थापन, शिक्षा, अनुदानको दुरुपयोग, उपभोक्ता समितिले प्रक्रिया नपु¥याएका जस्ता प्रवृत्ति रहेको तथ्यांकमा उल्लेख छ ।