बाँके । नेपालगन्जको बीपीचोकबाट शनिबार बिहान ७ बजेदेखि आठौँ नेपालगन्ज म्याराथन संस्करण शुरु भएको छ । म्याराथनले नेपालगन्ज उत्सवमय बनेकाे छ ।
यो पटकदेखि आयोजकले १ लाख १० हजार पुरस्कार राशि बढाएर १ लाख ५० हजार रुपैयाँ पुर्याएको छ । नेपालगन्ज म्याराथन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एन्ड डिस्टेन्स रेसेसले मान्यता दिएको आधिकारिक रुटमा आयोजना हुन लागेको हो । यो एम्सको वार्षिक क्यालेन्डरमा उल्लेख भएको नेपालको एक मात्र म्याराथन प्रतियोगिता हो ।
नेपालगन्ज म्याराथनमा शीर्ष ८ धावकले नगद पुरस्कार पाउने छन् भने उपविजेताले ६० हजार, तेस्रो हुनेले ३० हजार र चौथो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पाँचौँदेखि आठौँस्थानसम्म आउनेले क्रमशः १०, ८, ७ र ६ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
महिला हाफ म्याराथनमा पनि पुरस्कार बढाएर विजेताका लागि ६० हजार बनाइएको छ । यसअघि विजेताले ५५ हजार पाएका थिए । महिलातर्फको हाफ म्याराथनमा उपविजेताले ३० हजार, तेस्रोले १५ हजार र चौथो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउँछन् ।
पाँचौँदेखि आठौँस्थानसम्म आउनेले क्रमशः ८ हजार, ७ हजार, ६ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
पुरुष १० किमी खुलातर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् भने महिलातर्फ ५ किमी खुलामा विजेतालाई २० हजार, उपविजेतालाई १० हजार र तेस्रो हुनेलाई ७ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
त्यस्तै विद्यालय स्तरीय ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
ह्विलचेयर रेसतर्फ शीर्ष तीन जनालाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ भने प्रतियोगिताको कुल पुरस्कार राशि ५ लाख ८५ हजार रुपैयाँ रहेको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।
कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी गराइनेछ । विजेतालाई हवाई टिकटसहित दुई दिनको आवास तथा भोजनको समेत व्यवस्था गरिएको छ ।