दुई मन्त्रालयमा नमुनाले पेश गरिन १७ बिकासका याेजना


बाँके । राप्तीसोनारी र नरैनापुरमा विकासका योजना माग्दै प्रदेश सांसद कृष्णा केसी (नमुना)ले संघीय सरकारका विभिन्न मन्त्रालयमा योजनाहरु पेश गरेकी छन् ।

काठमाडौं पुगेकी उनले सोमबार अर्थ मन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर दुई पालिकाका विकासे योजनाहरु पेश गरेकी हुन् ।
उनले मन्त्रीसमक्ष आफ्नो निर्वाचन क्षेत्रमा चार स्थानमा पक्की पुल, दुई स्थानमा झोलुङ्गे पुल, चार स्थानमा एकिकृत बस्ती विकास, दुई वटा विद्यालयको भवन निर्माण, तीन हजार फुसका छाना हटाउनको लागि बजेट, १६ किलोमिटर पक्की नाली निर्माण लगायतका योजनाहरु पेश गरेकी छन् ।

‘मैले राप्तीसोनारी र नरैनापुरका लागि १७ बुँदामा योजनाहरु राखेर दुबै मन्त्रालय तथा अन्य केही विभागहरुमा पेश गरेकी छु । मन्त्री ज्यूहरुसँग समेत यहाँको विकास निर्माणको बारेमा छलफल समेत भयो’ काठमाडौंमा रहेकी सांसद नमुनाले भनिन् ।

आफुले पेश गरेका योजनाहरुको बारेमा मन्त्रीहरु सकारात्मक रहेको भन्दै केही योजनाहरुमा बजेट केही दिनमै अर्थ मन्त्रालयबाट सुनिश्चित हुने उनले बताइन् ।
बाँसखुली हुँदै दाङको भौवानाका जोड्ने सडकको लागि राप्ती नदीमा, नरैनापुरको दोन्द्रानालामा, कचनापुरको साइरन टावर नालामा र बेलबासदेखि राजपुर जोड्नको लागि परुवा खोलामा पक्की पुल निर्माणको लागि योजना र बजेटको लागि सांसद नमुनाले पहल थालेकी हुन् ।

फुसको छानो हटाउने कार्यक्रम अनुसार सुरक्षित आवास कार्यक्रम अन्तर्गत नरैनापुरमा २ हजार, राप्तीसोनारीमा १ हजार र कोहलपुरमा ५ सय घर निर्माणको लागि बजेट सुनिश्चित गरिदिन अर्थ मन्त्री शर्मालाई आग्रह गरेकी छिन् ।
‘फुसका छाना विस्थापित गर्नको लागि सोमबार नै मैले पेश गरेका योजनाअनुसार बजेटको लागि अर्थमा फाइल गइसकेको छ’ सांसद नमुनाले जानकारी दिदैं भनिन्, ‘एक दुई दिनमै अर्थ मन्त्रालयले बजेट सुनिश्चित गर्छ होला ।’
राप्तीसोनारीको वडा नम्बर ४, ५ र ७ तथा नरैनापुरको ५ नम्बर वडामा एकिकृत बस्ती विकास र निर्माण गर्नको लागि सहरी विकास मन्त्री चौधरीलाई उनले आग्रह गरेकी थिइन् ।

ने.रा.मा.वि. कुम्भर र ने.रा.मा.वि. धामपुरमा ६/६ कोठे भवन तथा सहिद स्मृती सामुदायिक भवन निर्माणको लागि बजेट सुनिश्चित गरिदिनका लागि अर्थ मन्त्री शर्मासँग सांसद नमुनाले छलफल गरेकी हुन् ।

बाँके क्षेत्र नम्बर १ लुम्बिनी प्रदेशसभा १ का मा पर्ने वडाहरुमा १६ किलोमिटर पक्की नाली निर्माण, मोरङा खोलामा तीन किलोमिटर तटबन्धको लागि समेत बजेट दिन अर्थ मन्त्रीसँग उनले आग्रह गरेकी छन् ।

प्रकाशित मितिः     ४ पुष २०७९, सोमबार १७:४६  |