बाँके । बाँकेको अति विकट खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट स्वीकृत भएको छ । लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना) को पहलमा पहिलोटक खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट स्वीकृत भएको हो । खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि तीन करोड पचास लाख रुपैयाँ स्वीकृत भएको काठमाडौंमा रहेकी सांसद नमुनाले जानकारी दिइन् ।
विद्युतीकरणका लागि नेपालगन्ज वितरण केन्द्रले तयार पारेको अनुमानित बजेटसहितको फाइल बोकेर काठमाडौं पुगेकी उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उक्त फाइल पेश गरेकी थिइन् । काठमाडौंमै रहेकी सांसद नमुनाले खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट पक्का भएको बताइन् ।
‘खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि मैले थालेको प्रयासले सार्थकता पाएको छ’ उनले टेलिफोनमा भनिन्, ‘नरैनापुर र राप्तीसोनारीका अन्य स्थानमा बिजुली पुगेपनि यहाँ पुग्न सकेको थिएन । अब बजेट सुनिश्चित भएसँगै बिजुली पुग्ने पक्का छ ।’ खयरभट्टीसम्म करिब २२ किलोमिटर ‘११ केभी प्रशारण लाईन’ र ४ दशमलभ ३ मिटर वितरण लाईन विस्तार गर्न तथा ३ थान ट्रान्सफर्मर जडानका लागि बजेट स्वीकृत भएको सांसद नमुनाले जानकारी दिइन् ।
त्यस क्षेत्रमा बसोबास गर्ने करिब ४ सय घरधुरीलाई विद्युत सेवा पु¥याउन विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रबाट विद्युतिकरणको काम अगाडि बढ्नेछ । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज डिभिजन कार्यालयका प्रमुख सुरज गौतमले पनि बजेट स्वीकृत भएर आएको जानकारी दिए । ‘माथिल्लो निकायबाट खयरभट्टी क्षेत्रमा विद्युतीकरणको लागि बजेट स्वीकृत भएर आएको छ’ उनले भने, ‘अब नेपालगन्ज वितरण केन्द्रलाई टेण्डर आह्वान गर्ने बाटो खुलेको छ ।’