ऋण असुली गर्दा ऋणीकाे बेइज्जती र मानसिक असर पर्ने काम नगर्न आदेश


नेपालगन्ज – ऋण असुली गर्दा ऋणीकाे सार्बजनिक बेइज्जती र मानसिक असर पर्ने गतिविधि नगर्न उच्च अदालत तुलसीपुर,नेपालगन्ज इजलासले अन्तरिम आदेश दिएको छ ।

नेपालगन्जमा व्यवसाय गर्ने रेखा खड्काले एनआईसी बैंक विरुद्ध दायर गरेकाे रिटमा पुस ८ गते  न्यायाधीश बामदेव ज्ञवालीकाे एकल इजलासले निवेदक ऋणी र उनकाे परिवारलाई मानसिक असर पर्ने गरि घरमा सुरक्षार्थ गार्ड राख्ने कार्य नगर्न नगराउन अन्तरिम आदेश सुनाएको हो ।

ऋण असुली गर्दा सम्बन्धि व्यक्तिको सामाजिक र मानसिक असर पर्ने काम नगर्न अन्तरिम आदेश दिए पनि अदालतले बैंकबाट लिएको कर्जा काराेबार कानुन बमाेजिम हुने उल्लेख गरेकाे छ ।

व्यवसायमा आबद्ध खड्काकाे घर तथा पसलमा एनआईसी बैंकले कर्मचारी र गार्ड खटाएको थियो । यस्तो गर्नुको कारण बारे बैंकले कुनै पनि बिषय सार्बजनिक गरेकाे छैन । बैंकले सताएको भन्दै खड्का अदालसम्म पुगिन ।

उक्त रिट माथि बहस गरेका अधिवक्ता लाेकबहादुर शाहले ऋण असुल गर्ने बैंकको नयाँ तरिका ल्याएको बताए । घर पसलमा सुरक्षा गार्ड राखी मानसिक र सामाजिक दबाब दिनु गैरकानुनी र अमानवीय कदम भएको बताए ।

प्रकाशित मितिः     १० पुष २०७९, आईतवार ०९:१६  |