बुटवल, पुस १० । मागमा संकुचन, तरलता अभाव र व्याजदर वृद्धिका कारण रूपन्देहीका सिमेन्ट र छड उद्योगमा भएको अर्बौँको लगानी डब्ने अवस्थामा पुगेको छ । व्यवसाय क्षेत्रमा चरम आर्थिक मन्दीले यस क्षेत्रका उद्योगहरू संकटतर्फ धकेलिएका हुन् । जसका कारण ठूला उद्योगहरूले ९० प्रतिशतसम्म उत्पादनमा कटौती गरेका छन् ।
राज्यको विभेदकारी नीतिका कारण देशको औद्योगिक र व्यवसायिक क्षेत्र गम्भीर मोडमा पुगेको व्यवसायीको आरोप छ । केही उद्योगले बजारमा फसेको करोडौंको उधारो रकम उठाउनका लागि पनि दैनिक लाखौंको घाटामा उद्योग सञ्चालन गरेर उधारो रकम उठाउँदै छन् । क्लिङकर उद्योगसँगै सिमेन्ट उत्पादन गर्दै आएको अर्घाखाँची सिमेन्ट उद्योगले गएको असारदेखि क्लिङकर उद्योग बन्द गरेको छ ।
स्टकमा रहेको क्लिङकरबाट २० प्रतिशत उद्योग सञ्चालन गरेको छ । त्यसैगरी पाल्पा सिमेन्ट उद्योगले पनि क्लिङकर उद्योग बन्द गरेको छ । सो उद्योगले पनि उत्पादनलाई कटौती गरी २० प्रतिशत मात्र उत्पादन गर्दै आएको छ । भैरहवा लुम्बिनी रोडमा रहेका सिमेन्ट उद्योगहरूले पनि उत्पादन कटौती गरेका छन् । हामीले दैनिक एक लाख रुपैयाँ नोक्सानमा उद्योग चलाएका छाँै । ‘अलिअलि समान बजारमा नपठाए बजारको उधारो रकम उठाउन सकिँदैन, बजारको उधारो रकम उठाउनका लागि पनि उद्योग चलाएका छौँ’ एक उद्योगीले भने, ‘हामी अब उद्योगी रहेनौँ, कुनै पनि समयमा उद्योग बन्द हुन्छ ।’
‘अहिले बजारमा सिमेन्ट र छडको माग न्यून भएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले बताउँछन । ‘माग नभएपछि उद्योगले उत्पादन गरेर के गर्ने ? सरकारी योजनाहरु बनेका छैनन् । सर्वसाधारणहरूले निमार्ण कार्य गर्न सकिरहेका छैनन । वार्षिक हजारौँ निजी घरहरू बन्थे, अहिले त्यो अवस्था छैन । आर्थिक मन्दीका कारण सरकारी राजश्वदेखि सर्वसाधारणको आम्दानीमा समेत असर परेको छ’ न्यौपानेले भने । बैंक तथा वित्तीय संस्थाहरुले ऋण लगानी गर्न सकिरहेका छैनन् । सिमेन्ट उद्योगको मात्र होइन, छड उद्योगको पीडा पनि समस्या उस्तै छ ।
रूपन्देहीको मधवलीयामा रहेको पञ्चकन्या स्टील उद्योगले विगतका महिनाहरुमा मासिक दश करोड रुपैयाँ विभिन्न शुल्क सरकारलाई बुझाउँदै आएको थियो । यो रकम घटेर केही महिनादेखि मासिक एक करोड रुपैयाँ (भ्याट, अन्तरशुल्क, भन्सारसुल्क ) बुझाउन थालेको छ । त्यसैगरी मासिक ६० देखि ७० लाख रुपैयाँ विद्युत् महशुल बुझाउँदै आएको थियो । अहिले मासिक डिमाण्ड शल्क ३ लाख रुपैयाँ बुझाउन थालेको छ ।
यो समस्या पञ्चकन्या स्टीलको मात्र होइन, एभरेष्ट रोलिङ इन्ड्रस्टिजको पनि अवस्था उस्तै छ । एभरेष्टले रोलिङले मासिक २० लाख विद्युत् महशुल तिर्ने गरेकोमा अहिले डिमाण्ड चार्ज मात्र भुक्तानी गर्दै आएको छ । सरकारलाई भ्याट, अन्त शल्कलगायतका शल्कहरू ३ करोड ३० लाख बढी बुझाउँदै आएकोमा अहिले ५३ लाख मात्र बुझाउँछ ।
मधवलीयामा रहेको एसआर स्टीलले मासिक १ करोड विभिन्न शल्क सरकारलाई बुझाउने गरेकोमा अहिले ठप्प छ । एसआरले मासिक ३५ लाख विद्युत् शुल्क बुझाउँदै आएकोमा अहिले डिमाण्ड चार्ज मात्र मासिक ३ लाख बुझाउँदै आएको छ । यी उद्योगहरु उदाहरण पात्र हुन् । यी उद्योगसँगै रूपन्देहीका फरि स्टील, गोयन्का स्टील र रत्ना आइरन उद्योग पनि बन्द छन् ।
सरकारको विभेदकारी नीतिका कारण रूपन्देहीका यी उद्योगहरू बन्द भएका हुन् । ‘बन्द गर्नुपूर्व उद्योेगीहरूले उद्योग विभाग, श्रम कार्यालय र उद्योग वाणिज्य महासंघमा उधोग बन्द गरेको पत्र दर्ता गराएका थिए । पत्र दर्ता गराउनुपूर्व भैरहवामा उधोगीहरुले मजदुरसँगै विरोध ¥याली पनि गरे तर कही कतै सुनुवाई भएन ।’ पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले भने ।
‘उद्योेगहरु बन्द हुँदा व्यवसायी, मजदुर मात्र नभएर स्वंम सरकारको राजश्वसमेत प्रभावित भएको छ तर सरकार भने मौन छ किन ?’ साहुले थपे । अहिले स्वदेशमा खपत हुने विद्युत् खपत नहुँदा विद्युत् प्राधिकरणको समेत करोडौँको महसुल नोक्शान हुन पुगेको उनले बताए ।
बन्द छड उद्योगको मात्रै १२ अर्ब जोखिममा
विभिन्न ६ वटा उद्योग बन्द हुँदा उद्योगमा भएको १२ अर्ब लगानीसमेत डुब्ने अवस्थामा पुगेको एभरेष्ट रोलिङ इन्डस्टिजका अरुण गोयन्काले बताए ‘चालू आर्थिक विधेयक २०७९ मा रहेको विभेदपूर्ण कर नीतिका कारण उद्योगहरु समस्यामा पर्दै आएका छन् । सरकारले सबै उद्योगलाई समान दृष्टिले हेर्नुपर्नेमा केही उद्योगहरुलाई मात्र लाभ हुने गरी सरकारले नीति बनाएका कारण रुपन्देहीका स्टिल उधोग बन्द हुन पुगेका हुन्’ गोयन्काले भने । ‘उद्योग बन्द हुँदा एकै क्षेत्रमा रहेका २ हजार बढी मजदहरु अहिले बेरोजगार बनेको एसआर स्टीलका सञ्चालक सुरज उप्रेतीले बताए ।
मासिक २० करोड बढी राजस्व गुमाउँदै सरकार
सरकारलाई विभिन्न शुल्क बापतको दश करोड मासिक बुझाउने पञ्चकन्या स्टील उद्योगले अहिले एक करोड बुझाउँछ । त्यसैगरी ३ करोड ३० लाख बुझाउने एभरेष्ट रोलिङले ५३ लाख मात्र बुझाउँछ । एसआरले एक करोड बुझाउने गरेकोमा उद्योग बन्द भएपछि अहिले ठप्प छ । यस्तै समस्या अन्य उद्योगहरुका पनि छन् । समग्र उद्योगको हेर्दा कम्तीमा मासिक २० करोड राजस्व सरकारको प्रभाबित भएको छ । रूपन्देहीमा पञ्चकन्या स्टील, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टील, फेरो स्टील, गोयन्का स्टील र रत्ना आइरनले तार उत्पादन उद्योग बन्द छ ।
मासिक १ करोड ५० लाख विद्युत् महसुल गुमाउँदै प्राधिकरण
बन्द रहेका ६ उद्योगहरुले अहिले डिमाण्ड शल्क मात्र बुझाउँदै आएका छन् । मासिक ७० लाखसम्म विद्युत् खपत गर्ने पञ्चकन्याले अहिले डिमाण्ड शल्क तीन लाख मात्र बुझाउँछ । एभरेष्ट रोलिङले ३५ लाख बुझाउनेले पनि डिमाण्ड शल्क मात्र बुझाउँछ । बन्द भएका उद्योगहरुले मासिक १ करोड ५० लाख बढी विद्युत् महशुल तिर्ने गरेकोमा अहिले आएर डिमाण्ड शल्क मात्र बुझाएका छन् । जस्का कारण विद्युत् प्राधिकरणले मासिक कम्तीमा एक करोड ५० लाख महसुल गुमाउँदै आएको छ ।
उद्योग बन्द भएसंगै उद्योगीले बैंकमा नियमित किस्ता बुझाउन सकेका छैनन् । ‘उद्योगको गेट नै बन्द छ । बजार छैन, कहाँबाट किस्ता बुझाउने ?’ एभरेष्ट रोलिङका सञ्चालक अरुण गोयन्काले भने ।
नोक्सानमा उद्योग सञ्चालन गर्ने अवस्था हुँदैन उद्योग बन्द भएसँगै बैकलाई बुझाउनुपर्ने किस्ताहरु पनि नियमित हुन नसकेको एसआर स्टील उद्योगका सञ्चालक सुरज उप्रेतीले भने । बन्द ६ वटा उद्योगमा कार्यरत २ हजार बढी मजदुर अहिले बेरोजगार बनेका छन् । दैनिक रोजगारी गरी खर्च चलाउने उनी उद्योग बन्द भएपछि अलपत्र अवस्थामा परेको उद्योगीहरुको भनाइ छ ।