अर्थमन्त्रीले समस्या समाधानका लागि आन्दोलनरत व्यवसायीलाई बार्तामा बाेलाए


नेपालगन्ज । बैंकको चर्को ब्याजदरको विरोधमा आन्दोलनरत नेपालगन्ज उद्योग वाणिज्य संघलाई अर्थमन्त्री बिष्णु पौडेलले बार्ताका लागि बाेलाएका छन् ।

संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार,अर्थमन्त्रालयकाे सचिवालयबाट फाेन आएपछि अध्यक्ष अब्दुल वाहिद मन्सुरी मंगलबार काठमाडौं गएका छन् । अर्थमन्त्रालयले आन्दोलनरत नेपालगन्ज,बिराटनगर र बिरगंजका उद्योग वाणिज्य संघलाई बाेलाएको छ ।

साेमवार उद्योगी-व्यवसायीले राष्ट्र बैंकको कार्यालय अगाडि धर्ना दिँदै बिरोध गरेका छन् ।

बजार परिक्रमापछि व्यसायीहरुले बढ्दो बैंक ब्याज दरलाई व्यवस्थित गर्न माग गरे ।

व्यापारीहरुले चालु पुँजी कर्जा नीति खारेज गर्नुपर्ने, एकल अंकको व्याजदर कायम गर्नुपर्ने र संस्थागत दर दुई–दुई प्रतिशत कायम गर्नुपर्ने र बैंक र व्यवसायलाई अलग गर्नुपर्ने माग गरेका थिए ।

धर्ना दिन पुगेका व्यवसायीले आफूहरुका जाहेज मागको सुनुवाइ नभए देशभर विरोध प्रर्दशन गर्ने चेतावनी दिएका छन् । नयाँ सरकारसँग आफ्ना माग तत्काल पूरा गर्न व्यवसायीहरुको माग छ ।

यस्तै, मोरङका उद्योगी व्यवसायीले आज पनि विरोध प्रर्दशन तथा धर्ना दिएका छन् । उनीहरुले पनि विराटनगरस्थित राष्ट्र बैंकको कार्यालय अगाडि धर्ना दिएका हुन् ।

प्रकाशित मितिः     १२ पुष २०७९, मंगलवार १९:२८  |