नेपालगन्ज – बाँकेको नेपालगन्जमा ३ वर्षपछि महोत्सव मेला लाग्ने भएको छ । ‘समृद्ध नेपालको प्रमुख आधार उद्योग, ब्यापार, कृषि, पर्यटन, सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ भन्ने मूल नाराका साथ माग १० गतेदेखि २४ गतेसम्म प्रदेशस्तरीय नेपालगन्ज लघु घरेलु, कृषि पर्यटन महोत्सव–२०७९ आयोजना हुने लागेको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँके र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रालिको सयुक्त आयोजनामा महोत्सव संचालन गर्न लागिएको छ । सो मेलाका विषयमा शुक्रबार आयोजकले नेपालगन्जमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले महोत्सवको माध्यामबाट लुम्बिनी प्रदेशमा के–के वस्तु उत्पादन हुन्छ भनेर चिनाउन सहयोग पुग्ने बताए । उनले भने, ‘हामीले घरेलु बजारको प्रवद्र्धनमात्रै नभएर, ती वस्तुहरुको प्रवद्र्धनका लागि प्रदेशदेखि केन्द्रसम्म चिनाउनका लागि यो महोत्सव संचालनको तयारी गरिरहेका छौं ।’
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष भधुकुमारी खड्काले घरेलु तथा सानाबाट उत्पादन भएका वस्तुलाई जोड दिँदै लुम्बिनी प्रदेशका ब्यापार, व्यावसायीलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव संचालन गर्न लागिएको बताइन् । ‘केही वर्षदेखि देशमा आर्थिक संकटले व्यावसायी मारमा परिरहेका बेला तिनीहरुको प्रवद्र्धन र लुम्बिनी प्रदेशमा उत्पादन भएका वस्तुहरुलाई देशव्यापी प्रचार गर्न महोत्सवले मद्दत गर्ने छ,’ उनले भनिन् ।
आयोजकले ८० लाख रुपैयाँ खर्च गरेर लुम्बिनी प्रदेशका १२ वटा जिल्लालाई समेट्नेगरी महोत्सवको अयोजना गर्दैछ । महोत्सवमा ३ सय वटा स्टल राखिने र साना तथा घरेलु उत्पादनका लागि ५० वटा स्टलको निःशुल्क व्यवस्था गर्ने लक्ष्य लिएको अध्यक्ष खड्काले बताइन् ।
त्यस्तै आयोजकले महोत्वसमा पहिलोपटक कुस्ती प्रतियोगिताको पनि आयोजना गरिने भएको छ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापालगायतका खेलाडीको सहभागिता रहने छन् । साथै महोत्सवमा थारु होमस्टे गाउँ, टिकटक पारखीका लागि टिकटक स्थलसमेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।
प्रवेश शुल्क ६० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकेको अयोजकले महोत्सवभरी १ करोड ८० लाखको कारोबार गर्ने लक्ष्य लिएको जनाएको छ ।