भारु भन्दा नेरु महँगो


नेपालगन्ज – नेपालगन्ज लगायत देशभरका सिमावर्ती क्षेत्रमा भारतीय रुपैयाको दाजाेमा नेपाली रुपैया महँगो भएको छ । पश्चिमको अर्को सीमावार्ती रुपैडिहा बजारमा पनि प्रतिदिन १० करोड रुपैयाँ बराबरको कारोबार हुँदै आएको छ ।

तर नेपालगन्जको जमुनाह नाकासँगै जोडिएको रुपैडिहामा अन्यमा जस्तो नेपाली मुद्राको भाउ बढेको भने छैन । तर भारतीय बजारमा नेपाली रुपैयाँमा हुँदै आएको कारोबार भने बढेको छ । ‘यहाँ प्रतिदिन १० करोड रुपैयाँको कारोबार हुँदै आएको हाम्रो सर्वेक्षणले देखाएको छ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले भने, ‘त्यो नेपाली रुपैयाँ साटेर व्यापारी तथा एजेन्टले भारु लैजान्छन् । यसबाट नेपालमा भारतीय मुद्रा सञ्चिति घट्ने देखिन्छ ।’

सीमापारि नेपाली मुद्रामा हुने कारोबार बढेपछि भारु खोज्न व्यापारी तथा एजेन्ट पहाडी जिल्लामा समेत पुग्ने गरेका छन् । भारतमा रोजगारी गरी कमाएर ल्याएको भारु साट्न पहाडी जिल्लामा जाने गरेका हुन् । ‘सीमावर्ती भारतीय बजारमा नेपाली मुद्रामा कारोबार गर्दा जम्मा भएको रकम भारतमा चल्दैन । त्यसैले कुन नेपालीसँग भारु छ, त्यो पत्ता लगाउने र त्यहाँ पुगेर नेपाली रुपैयाँ दिई भारु लिएर फर्किने गर्छन्,’ मन्सुरीले भने । वीरगन्ज र नेपालगन्ज जस्ता प्रमुख सीमावार्ती सहर नजिकका भारतीय बजारमा देखिएको नेपाली र भारतीय मुद्राको कारोबारलाई राष्ट्र बैंकले नियन्त्रण गर्न सकेको छैन ।

नेपालगन्जमा सञ्चालित क्यासिनोमा सीमापारिबाट आउनेले भारुमा जुवा खेल्छन् । त्यो रकम पनि राष्ट्र बैंकमा नपुग्ने गरेको सरोकारवाला बताउँछन् । बरु सीमापारि नेपाली मुद्रामा कारोबार गर्ने भारतीयले यता आएर पैसा साटेर लैजाने गरेका छन् ।

यसो गर्दा विदेशी मुद्रा सञ्चितिमा कमी आउने र मुद्राको अवैध धन्दा बढ्ने जोखिम बढेको उनीहरूको भनाइ छ । यता सीमावर्ती क्षेत्रमा पनि एक सातायता भारु–नेरु सटही केन्द्रमा मन्दी आएको छ । धेरैजसो सटही केन्द्रको कारोबार बन्द भएको छ । चालु अवस्थामा रहेका केन्द्रमा पनि पहिलाको जस्तो नाफामूलक कारोबार छैन ।

कुनै समय भारुको दाँजोमा नेरुको मूल्यांकन थिएन । त्यस बेला सय रुपैयाँ भारुलाई नेरुमा साट्दा कम्तीमा पाँच रुपैयाँ कमिसन हुन्थ्यो । अहिले कमिसन हुँदैन । प्रतिदिन एक लाखको भारु–नेरुको सटही गर्थें । एक साता भयो, एक हजारको पनि सटही छैन । पहिला सय भारु १ सय ७० रुपैयाँसम्ममा बिक्थ्यो । अहिले सय भारु १ सय ५८ रुपैयाँमा बिक्री भइरहेको छ ।

इतिहासमै भारुको तुलनामा मोरुको मूल्यांकन बढेकामा खुसी लागेको छ ।। कुनै समय नेपाली रुपैयाँको दाँजोमा भारतीय रुपैयाँको मूल्यांकन बढी हुँदा सय रुपैयाँको सटहीमा १० रुपैयाँसम्म कमिसन पाइने गरेको थियाे । एक सातायता नाकाबाट आउजाउ गर्नेले न भारु माग्ने गरेको, न नेरु नै साट्ने गरेको छ ।

प्रकाशित मितिः     ८ माघ २०७९, आईतवार ०९:३२  |