सुर्खेत – गुर्भाकाेटकाे खटाङमा पुग्नुभयाे भने तपाईले गोवा (भारत)को समुन्द्रको किनारमा गएको अनुभूति गर्न सक्नुहुन्छ । भेरी नदि किनारकाे मनाेरम दृश्य कुनै समुन्द्र किनारकाे भन्दा कम राेमान्चक छैन । खटाङ गुर्भाकाेटमा पर्यटकियक्षेत्रका रुपमा परिचित छ । याे एउटा उदाहरण मात्रै हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि पूर्व भेरी नदीको किनारै किनारको सुन्दर ठाउँमा पर्ने भेरीगंगा र गुर्भाकोट नगरपालिका पर्यटन क्षेत्रमा उदाउँदै छ । गुर्भाकाेटका नगरप्रमुख हस्त पुन भन्छन -‘पर्यटनमा नयाँ सम्भाव्यताका रुपमा देखा परेको भेरी कोरिडोरका लागि नेपालगन्ज प्रवेश केन्द्र बन्नसक्छ ।’
नेपालगन्ज मानसरोवरको प्रवेशद्वारमात्र होइन, व्यवसायीहरुले नयाँ सम्भावना पहिल्याउँदा गुर्भाकोटको खटाङ क्षेत्रलाई आफुसँग जोड्नुपर्छ । जो भेरी नदीको किनारमा छ, जहाँ ¥याफ्टिङ सहितको समुन्द्र किनार जस्तो बनाउन खोजिंदै छ । गुर्भाकोट नगरपालिकाका प्रमुख पुन भन्छन्,–‘हामी पर्यटन र कृषि क्षेत्रबाट यहाँको आर्थिक अवस्था उकास्न के–के गर्न सकिन्छ भनेर लागिपरेका छौं ।’ धार्मिक तथा प्राकृतिक महत्व बोकेको ठाउँ घुम्ने । त्यो पनि एक दिनमै ! कहाँ सम्भव हुनु ? नेपालगन्ज हुँदै भेरीगंगा–गुर्भाकोटदेखि कुपिन्डेतालक्षेत्रलाई नयाँ पर्यटन गन्तव्यका रुपमा विकास गर्न खोजिंंदै छ । प्रदेश फरक भए पनि भेरीगंगा र गुर्भाकोट सहित सिङ्गो कर्णालीसंग नेपालगन्जको खास सम्बन्ध छ । सामाजिक, धार्मिक, आर्थिक सम्बन्धले प्रदेश फरक भएको अनुभूति गराएको छैन । त्यसकारण भेरीगंगा र गुर्भाकोटमा विकास हुने पर्यटन रुटले नेपालगन्जलाई पनि प्रभावित गर्छ । अहिले पनि कयौं मानिसहरु यो रुट हुँदै धार्मिक, प्राकृतिक र सांस्कृतिक महत्व बोकेका पर्यटकीयस्थलको घुमघाम गरिरहेका छन् । तर व्यवस्थित पर्यटकीय रुटका रुपमा स्थापित हुन भने सकेको छैन् ।
यो रुटमा अहिले अधिकांस ठाउँमा पिच बाटो छ । पिच नभएको ठाउँमा ग्राभेल बाटो पुगेको छ । यातायातको सञ्जाल जोडेकाले पर्यटकलाई आवातजावतमा कुनै कठिनाई हुने छैन् । प्रदेश सांसद ठम्मर बिष्ट गुर्भाकोट र भेरीगंगालाई पर्यटकीय हब बनाउने प्रशस्त सम्भावना भएको बताउँछन् । उनी भन्छन्,–‘प्रचार, प्रसार गरी देश दुनियामा यो क्षेत्रलाई चिनाउने गरी योजनाहरु बनाइरहेका छौं ।’ स्थानीय तहले यातायात, बिजुली, खानेपानी जस्ता विकासका पूर्वाधार तयार गरिरहेको नगर प्रमुख पुन बताउँछन् । उनी भन्छन,–‘यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन कसरी सकिन्छ भनेर लागिपरेका छौं । हामीले केही नयाँ काम पनि गरिरहेका छौं ।’
गुर्भाकोट नगरपालिकाले मात्र प्याराग्लाईडिङ्ग, भेरी नदीमा र्याप्mटीङ, ट्याकिङ्क रुट तयार गर्दै छ । यसको सम्भाव्यता अध्ययन भइरहेको नगर प्रमुख पुनले बताए । अन्य स्थानीय तहले पनि आफ्नो क्षेत्रको पर्यटकीय विकासमा काम गरिरहेका छन् । प्रदेश तथा केन्द्र सरकारको ध्यानार्कषण भएको छ । यहाँ देउतीबज्यै गंगामाला मन्दिर, चमेरे गुफा रहेको छ । त्यस्तै गुर्भाकोटमा गुर्भाकोट , खटाङ्क क्षेत्र, दह ताल, गुफा रहेका छन् ।
भेरी डाईभर्सनको मुहानमा बन्ने ठुलो जलाशयले पर्यटक तान्ने निश्चित छ । त्यसक्षेत्रमा हुने पर्यटकीय विकासले बाँकेलाई प्रत्यक्ष पार्ने बताउँछन, सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय निर्देशक केशव न्यौपाने । यही रुट हुँदै कुपिन्डे तालको दर्शन गरी फर्किएका न्यौपानेले भने,–‘ निकै सुन्दर ठाउँ रहेछ । यसले धार्मिक तथा प्राकृतिक सौन्र्दयतामा रमाउन चाहनेलाई तान्ने निश्चित छ ।’ कुनै बेलाको सामान्य गाउँ गाभरलाई होमस्टेका रुपमा देशभर चिनाउन सकेका कृष्ण चौधरीले भेरीगंगा–गुर्भाकोट क्षेत्रलाई नजिकबाट नियालेका छन् । उनी भन्छन,–‘बाँकेसंग जोडेर त्यहाँको पर्यटकीय विकास गर्न सक्नुपर्छ ।’ बाँके, बर्दिया लगायत भारतसम्मका पर्यटक तान्ने गरी योजना बनाउन सक्नुपर्ने उनको सुझाव छ । चौधरी भन्छन,–‘तर त्यसका लागि अन्तरपालिकाका जनप्रतिनिधिबीच कम्तिमा पर्यटनका क्षेत्रमा समन्वय र सहकार्य हुनुपर्छ ।’ ‘क्याम्प फायर’ गुर्भाकोट–४ झालपरमा ‘क्याम्प फायर’ हुन थालेको छ । पर्यटनका क्षेत्रमा फड्को मार्दै गएको गुर्भाकोटको उक्त लेकमा क्याम्प फायरका लागि युवाहरु जाने गरेका छन् । दशैंको अवसरमा बिदा मनाउन घर आएकाहरुले पहिलो पटक उक्त ठाउँमा रात बिताए । क्याम्प फायरका लागि झारेपर अत्यन्त उपयुक्त भएको त्यहाँ पुगेका प्रमुल पुन मगरले बताए । उनले भने,–‘क्याम्प फायर यताको लागि नयाँ कुरा हो । तर, निकै आनन्ददायी ठाउँ रहेछ । पर्यटनका लागि अति नै उपयुक्त लाग्यो ।’ मेहलकुनाबाट आठ जना युवा पिकअप भ्यानमा त्यहाँ पुगेका थिए ।
झारेपर गुर्भाकोटको मुकाम मेहलकुना–बोटेचौरदेखि उचाईमा पर्छ । बोटेचौरसम्म मोटरसाइकलमा जान पिच बाटो छ । त्यहाँबाट माथि उकालो चढ्न भने कच्ची बाटो प्रयोग गर्नुपर्छ । भर्खरै बाटो बन्दै गरेका कारण मोटरसाइकलमा जान जोखमयुक्त नै मानिन्छ । केही वर्षभित्रै उक्त बाटो पिच हुन सके आवातजावत सहज हुन्छ । यद्यपी पहिलो पटक बाटो पुगेपछि त्यहाँका नागरिकको दैनिकी सहज मात्र बनेको छैन पर्यटकीय दृश्यावलोकनका लागि सर्बसाधारण जान थालेका छन् । बोटेचौर भन्दा माथि पिकअप भ्यान प्रयोग गर्न सकिन्छ ।
क्याम्प फायर गरेर फर्किएका प्रमुलका अनुसार, लेकमा पुगेपछि अत्यन्त मनमोहक दृश्य देख्न पाईन्छ । गोछेफाँट र वरीपरीका पहाडमा दृश्य हेर्न सकिन्छ । ‘माथि साँझ चसो हावा चल्छ । राती भने न्यानो लाग्यो । हामी टेन्टमा बसेका थियौं ।’– प्रमुलले भने,–‘लोकल कुखुरा लगायत अन्य परिकार आफै लिएर गएका थियौं ।’ गाउँदेखि टाडा रहेका कारण क्याम्प फायर गर्दा स्थानीयलाई कुनै समस्या पनि हुँदैन । गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले सो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताएका छन् । वडा नं. ४ का अध्यक्ष राम डांगीले यातायातको सुगमतासगै पर्यटकको आकर्षण बढ्ने उल्लेख गरे ।
कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित यो नगरपालिका यस जिल्लाको दोस्रो नगरपालिका हो । साविका दहचौर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असोजमा बेनेको थियो भने यसमा साविका सहारे, मालारानी र धारापानी गा.वि.स. थप गरी २०७३ फागुन २७ गुर्भाकोट नगरपालिका घोषणा भएको हो । यस नगरपालिकाको २०६८ सालको राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या ४३ हजार ७ सय ६५ जना रहेकोमा पुरुष १९ हजार ८ सय ८२ र महिला २३ हजार ८ सय ८३ जना रहेका छन भने क्षेत्रफल २२८।६० वर्ग कि.मी रहेको छ । यस क्षेत्रमा व्यापार, उद्योग, पर्यटन, व्यवसायिक कृषि पशुपालन माध्यमबाट यस क्षेत्रका मानिसहरुको जिविकोपार्जन भएको देखिन्छ । यस नगरपालिकामा सवै प्रकारका
जातजातीहरुको मिश्रित प्रकारको बसोवास रहेको देखिन्छ । विशेष गरी ब्राहमण, क्षेत्री, मगर, राजी तथा दलितहरुको उच्च बसोबास रहेको छ ।
यस क्षेत्रमा मगरहरुको उल्लेखनिय बसोबास रहेका पाइन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाइ मातृभाषाको रुपमा प्रयोग गरेको पाइन्छ भने मगर भााषाको पनि प्रचलन रहेको छ । यस क्षेत्रमा खेतीयोग्य जमिन भए पनि सिचाइको अभाव, तथा उच्च आधुनिक प्रविधिको अभावमा यहाँका मानिसहरु जिविकोपार्जनका लागि व्यवसाय,कृषि, पशुपालन ज्याला मजदुरीका अतिरिक्त अन्य बैकल्पिक रोजगारीका अवसहरु खोजिरहेको पाइन्छ । नागरपालिकाको नाम गुर्भाकोट नामाकरण गर्नुमा यस क्षेत्रको ऐतिहासिक बाइसे राज्यको रुपमा रहेको गुर्भाकोट हो ।
प्रारम्भमा सल्यान जिल्ला रहेपनि यो क्षेत्र २०१८ सालको १४ अंचल ७५ जिल्ला विभाजन पछि सुर्खेत जिल्लामा गाभिन पुगेको हो । यस नगरपालिकाको पुर्वमा सिम्ता गाउँपालिका र सल्यान जिल्ला पश्चिममा भेरी गंगा नगरपालिका र लेखवेशी नगरपालिका दक्षिणमा सल्यान जिल्ला र उत्तरमा लेखवेशी नगरपालिकाको विचमा गुर्भाकोट नगरपालिका रहको छ । यस नगरपालिकाको राजधानि मेहेलकुना रहेको छ । यसको नगर प्रमुख हस्त पुन छन् भने उपप्रमुख मैना बिक हुन् ।