घुस दिने नेपालगन्जका व्यापारी र लिने भेरीका कर्मचारी दोषी ठहर


शिल्पा कर्ण(नयाँ पत्रीकाबाट)

काठमाडौं ९ माघ-   विशेष अदालतले घुस लिने कर्मचारीसँगै घुस दिनेलाईसमेत भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

बाँकेस्थित भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनालसमेतका १५ जनालाई प्रतिवादी बनाउँदै दायर भएको मुद्दामा सोमबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले यस्तो आदेश दिएको हो ।

कम्प्युटर अपरेटर खनालसमेतका १५ जनालाई प्रतिवादी बनाउँदै अख्तियारले २२ असोज ०७७ मा घुस मुद्दा दायर गरेको थियो । यस मुद्दामा अनुसन्धानका क्रममा ११ जनाले घुस लिएको र चारजनाले घुस दिएको भेटिएको थियो ।

त्यसपछि अख्तियारले ११ जनाविरुद्ध मात्र भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, विशेषले भेरी अस्पतालका कर्मचारीलाई घुस उपलब्ध गराउने सबैलाई भ्रष्टाचार मुद्दा ठहर गर्दै सजाय सुनाएको हो ।

विशेषको आदेशअनुसार कर्मचारीलाई घुस दिने नेपाल स्टोरकी सञ्चालकलाई ४५ हजार रुपैयाँ जरिवाना र तीन महिना कैद तथा कमला इन्टरनेसनलका सञ्चालक दिपेन्द्र अग्रवाललाई ३६ हजार रुपैयाँ जरिवाना र तीन महिना कैद हुने भएको छ ।

यसैगरी, अब्दुल अली अन्सारीलाई ५६ हजार बिगो तथा पंकजकुमार श्रेष्ठलाई ६१ हजार रुपैयाँ जरिवाना हुने फैसलामा उल्लेख छ । उनीहरू दुवैजनालाई चार–चार महिना कैदको सजाय सुनाइएको छ ।

ज्ञानबहादु वलीलाई पनि उति नै कैद तथा ९६ हजार रुपैयाँ जरिवाना तोकिएको छ । यसैगरी, साहित हुसेन हलुवाइलाई २० हजार रुपैयाँ जरिवाना तथा एक महिना कैद सजाय सुनाइएको  प्रवक्ता योगीले जानकारी दिए ।

अदालतले बरामदी मुचुल्का, अनुसन्धानका क्रममा भएको साबिती बयान, अरुण खनालले गुगल ड्राइभमा सुरक्षित राखेको कमिसनको विवरण, अदालतलमा गरेको बकपत्रलगायतलाई प्रमाण मान्दै यस्तो फैसला भएको हो ।

अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर खनालको कार्यकक्षबाट १६ लाख १३ हजार नौ सय ७५ रुपैयाँबराबरको रकम र चेक बरामद भएपछि छानबिन सुरु भएको थियो ।

खनालले विभिन्न फर्म तथा पसलबाट उक्त रकम कमिसनबापत लिएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।

कम्प्युटर अपरेटर खनालसहित उक्त अस्पतालका लेखा अधिकृत माधवप्रसाद आचार्य, लेखापाल इन्द्रबहादुर खत्री र सहलेखापाल प्रेमबहादुर खत्रीलाई प्रतिवादी बनाइएको थियो ।

उनीहरूले आर्थिक वर्ष ०७६/७७ का लागि भन्दै विभिन्न फर्म तथा पसलहरूबाट १९ लाख १३ हजार ७० रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएको थियो ।

विशेष अदालतले दुई वर्षपछि फैसला दिँदै अख्तियारको मागदाबी रहेको कुल १७ लाख ८० हजार चार सय ७५ रुपैयाँलाई चार भाग लगाई बिगो तथा जरिवाना तोकेको छ ।

विशेषका अनुसार उनीहरू चारैजनालाई जनही चार लाख ४५ हजार एक सय १८ रुपैयाँ बिगोबमोजिम जरिवाना तथा तीनैजनालाई सात–सात महिना कैद हुने फैसला भएको छ यस्तै, राजेन्द्रकुमार सोनीलाई ९९ हजार ६ सय रुपैयाँ जरिवाना तथा चार महिना कैद सजाय सुनाइएको छ ।

फैसलाअनुसार कमालुद्दिन मुकेरीलाई ६ महिना कैद र एक लाख ६१ हजार रुपैयाँ जरिवाना तोकिएको छ भने अवनिशकुमार अग्रवाललाई ६ महिना कैद एक लाख १८ हजार ६ सय रुपैयाँ जरिवाना तोकिएको छ ।

सुदीप रिजाल र इजामुद्दिन खाँलाई ६०–६० हजार जरिवाना र चार–चार महिना कैद हुने सजाय सुनाइएको छ ।

प्रकाशित मितिः     १० माघ २०७९, मंगलवार ०८:०५  |