टुर डे ठाकुरद्वाराको पाँचौ संस्करणकाे तयारी पूरा,हुदै छ बिशेष


नेपालगन्ज – यहि माघ २६, २७ र २८ गते टुर डे ठाकुरद्वाराको पाँचौ संस्करण हुँदैछ । आयोजक नेपालन्ज साइकिलिङ क्लबले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । २९ भारतीय यात्रीसहित करिब ३०० जना सहभागी हुने टुर डे ठाकुरद्वारामा ४२ महिला साइकल यात्री पनि रहनेछन् ।

नेपालगन्ज साइकिलिङ क्लबका अध्यक्ष सतिश निरौलाले माघ २६ गते नेपालगन्ज किड्स रेस पनि आयोजना गरिएको बताए । प्रतियोगितामा ३० जना बालबालिका सहभागी हुनेछन् । माघ २६ गते बाहिरबाट आएका पहुनाहरुलाई पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गराई यहाँका अन्य पर्यटकीय स्थलको अवलोकन गराउँदै नगर परिक्रमा गराइनेछ । माघ २७ गते विहान ८ बजे बागेश्वरी मन्दिरबाट औपचारिक कार्यक्रम पश्चात ठाकुरद्वाराको साइकल यात्रा प्रारम्भ गरिने र त्यसै दिन साँझ साढे ५ बजे ठाकुरद्वारा पुगिने निरौलाले बताए ।

साइकल यात्रा करिब १०० किलोमिटर हुनेछ । निरौलाका अनुसार टुर डे ठाकुरद्वारामा सहभागिता जनाउन विश्व साइकल यात्री एवम् सगरमाथा आरोही पुष्कर शाह र चर्चित वाइल्ड लाइफ फोटोग्राफर चुङ्ग्वा शेर्पा आउँदैछन् । त्यस क्रममा साइकल यात्रीवीच वातावरण, प्रकृति र बन्यजन्तु संरक्षण सम्बन्धि छलफल गरिने बताइएको छ । यस्तै ठाकुरद्वारा मन्दिर परिसरमा विभिन्न पाँच प्रकारका विशेष विरुवाहरु रोपिने कार्यक्रम संयोजक प्रदिप सापकोटाले बताए । साइकल उत्सवमा अनुमानित कुल लागत खर्च करिव २० लाख लाग्ने आयोजकले बताएको छ ।

बाँके,बर्दियाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको टुर डे ठाकुरद्वाराले यस क्षेत्रमा भारतीय पर्यटको आगमनलाई उल्लेख्यरुपमा बढाएको साइकिलिङ क्लबका अध्यक्ष निरौलाले बताए । साइकलका माध्यमबाट पनि यहाँका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्न सकिने सन्देशले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुगेको उनले बताए ।

प्रकाशित मितिः     २५ माघ २०७९, बुधबार १९:४७  |