संघकाे साधारणसभामा व्यवसायीले पाेखे आर्थिक संकटकाे पिडा


नेपालगञ्ज, फागुन १३ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोले सो मा तत्काल सुधारका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभाको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको व्याज, लगानीको अवस्था र खस्कदैं गएको व्यापार व्यवसायका कारण निजि क्षेत्र धराशायी बनेको बताउनुभयो ।
उहाँले आर्थिक क्षेत्रमा यति ठुलो संकट आइसक्दा पनि सरकारले त्यसको सामाधानका लागि कुनै ठोस योजना र कार्यक्रम अगाडी सार्न नसकेकोले आउने दिन अझै कष्टकर हुनसक्ने चेतावनी पनि दिनुभयो ।

देशको आर्थिक अवस्थाका बारेमा पटक पटक सरकारको ध्यानाकर्षण गराईएपनि ठोस कदम नचालिएको गुनासो गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले देशभरिबाटै उद्योगी व्यवसायीले दिनदिनै आफ्नो पिडा र दुख शेयर गर्ने गरेको बताउनुभयो ।

यति धेरै प्रतिकुल अवस्थामा पनि देशका उद्योगी व्यवसायीले निरन्तर उद्योग व्यवसाय सञ्चालन गर्दै आएकोमा उहाँले सो कार्यको सराहना गर्नुभयो ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरु दुर्गा प्रसाद चौधरी र भण्डारी लाल यादवले प्रदेश सरकारले निजि क्षेत्रको समस्या समाधान गरेर आर्थिक अवस्था सुदृढ गर्ने योजना बनाईरहेको बताउनुभयो ।
उहाँहरुले आर्थिक विकासका लागि उद्योग, कलकारखाना र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुको विकल्प नरहेको पनि प्रष्ट पार्नुभयो ।

सो अवसरमा बोल्दै नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले सीमावर्ति क्षेत्रको उद्योग व्यवसाय तस्करी र अवैध आयातका कारण धरासायी भएको बताउनुभयो ।
उहाँले सरकारी निकायले नाकाहरुमा कडाई नगर्दा देनिक ५ देखि १० करोडको तस्करी भैहरेकोले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको गुनासो गर्नुभयो ।
नाकामा कडाई नगरिएमा एक एक गरेर उद्योगी व्यवसायी पलायन हुँदै जाने र यो क्षेत्र ठुलो आर्थिक संकटमा फस्ने उहाँले बताउनुभयो ।
सो अवसरमा आफ्नो धारणा राख्ने नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कन्हैयालाल टण्डन, कृष्ण प्रसाद श्रेष्ठ, संघका महासचिव चिरन्जीवि ओली लगायत अधिकांश उद्योगी व्यापारीका अगुवाहरुले बैंक र सरकारी नितीकै कारण आर्थिक अवस्था जर्जर हुँदै गएकोले निजि क्षेत्रको सुझाव अनुसार तत्काल सुधारका कामहरु शुरु गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा गंगा रोजिन टरपेनटाइनलाई उत्कृष्ठ निर्यातकर्ता, बाहुबली ग्लोबल हर्बललाई तेस्रो देशमा सबैभन्दा बढी निर्यात गर्ने उद्योग, निरु चौधरीलाई उत्कृष्ठ महिला उद्यमी, टण्डन प्लाष्टिक उद्योगलाई उत्कृष्ट उद्योग र उत्कष्ट आर्थिक पत्रकारका रुपमा गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई सम्मान गरिएको थियो ।

 

प्रकाशित मितिः     १३ फाल्गुन २०७९, शनिबार १८:०९  |