डुडुवामा नदिजन्य पदार्थकाे उपभाेगमा ‘आफ्नालाई काखा अरुलाई पाखा’ नगर्न एमालेको चेतावनी


नेपालगन्ज- डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले ‘भेदभावपूर्ण’ ब्यवहार गरेकाे भन्दै नेकपा एमालेले बिराेध जनाएको छ । एमाले गाउँपालिका कमिटी अध्यक्ष विनय राज त्रिपाठी नेतृत्वकाे टाेलिले आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै व्यवहार नसुधारे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

ज्ञापनपत्रमा डुडुवा गाऊँपालिका अन्तर्गत पर्ने बिभिन्न वडाहरुमा गाऊँपालिका अध्यक्षको आफ्नो ब्यक्तिहरु बाहेक अन्य कसैलाई पालिकाबाट काम परे सहजै नहुने, पालिका अध्यक्षको चाकरी गर्नु पर्ने, बिहान ब्युझने बित्तिकै पालिका अध्यक्षको घरको बाटो लाग्नु पर्ने अवस्था रही आएको दाबी गरिएको छ ।

पालिका अध्यक्षको पार्टीको ब्यक्ती भए सबै काम सजिलो तरिकाले हुने र पालिकाबाट पाउने सेवा सुबिधाहरु आफ्नै ब्यक्तिहरुलाई मात्र सहजै उपलब्ध हुने गरेको देखिएको भन्दै ज्ञापनपत्रमा आर्थिक बर्ष २०७९/०८० मा पालिका अध्यक्षको अडानका कारण समयमा गाऊँ परिषद नभएको हुँदा सर्व–साधारण जनताको र डुडुवा गाऊँपालिका कै बिकासमा अपुरणीय क्षति पुगेको भनिएको छ ।


समस्याहरु पालिकाका सर्वसाधारण ब्यक्तिहरुले भौग्दै आएता पनि हाल आएर आफ्नो घर बनाउन चाहिने माटो, बालुवा आफ्नै जग्गाबाट ल्याउनमा समेत पालिकाले रोक लगाएको र त्यो पनि आफ्नो ब्यक्ति बाहेकका सर्वसाधारणहरुको लागि मात्र गाऊँ पालिका भित्र रहेका जनपद प्रहरी र शसस्त्र प्रहरीहरुलाई परिचालन गरी सर्व साधारणहरुलाई आफ्नै कामको लागि माटो र बालुवा ल्याउनमा रोक लगाइएको ज्ञापनपत्र दाबी गरिएको छ । तर निकट ब्यक्तिहरु ब्यापारिक रुपमा माटो, बालुवा आदि अबैधानिक तरिकाले निकासी गरिरहेकाे ज्ञापनपत्र उल्लेख छ ।
सर्वसाधारणहरुको घरको कामका लागी ल्याइने माटो बालुवा आदिलाई सहज तरिकाले ल्याउन पाउनु पर्ने, जनपद प्रहरी र शसस्त्र प्रहरीहरुले पालिका अध्यक्षको मौखिक निर्देशनमा गरी रहेको सर्वसाधारणहरु माथिको अन्याय बन्द गरी डुडुवाको सम्पूर्ण जनताको सुरक्षा ब्यवस्था तर्फ ध्यान दिनु माग गरिएको छ ।

यदि पालिकाले माटो बालुवा ढुवानी रोक्छ भने सबै वडालाई पत्राचार गरी सबैको लागि माटो बालुवा आदि ल्याउनमा रोक लगाउनु पर्ने माग अघि सारिएको छ । तत्काल सम्बोधन नभएमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रम सार्वजनिक चेतावनी दिइएको छ ।

प्रकाशित मितिः     २१ फाल्गुन २०७९, आईतवार १९:०४  |