गाभरमा हुँदै छ ‘एमटिवी च्यालेन्ज -२०२३’


नेपालगन्ज : बाँके जिल्ला साइक्लिङ संघको आयोजनामा प्रदेश स्तरिय साइकल प्रतियोगिता हुने भएको छ । शनिबार बाँकेको पर्यटकिय स्थल गाभर क्षेत्रमा संघले प्रदेश स्तरिय साइकल प्रतियोगिता गर्न लागेको हो । संघले विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै साइकल खेलको बारेमा जानकारी गराएको थियो ।

बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापाका अनुसार साइकल खेलको आवश्यकता तथा महत्वका बारेमा प्रसार प्रचार गर्नका साथै साइकल खेल प्रति रुचि बढाउन प्रतियोगिताको आयोजना गरिएको हो । शनिबार विहान ७ बजे हुने खेलमा १८ जना खेलाडिहरुले सहभागिता जनाउने लुम्बिनी प्रदेश स्तरिय एमटिभि च्यालेन्ज २०२३ का संयोजक कविराम बुढाथोकीले जानकारी दिए । प्रतियोगितामा बाँके सहित दाङ र रुपन्देहीबाट खेलाडिहरुले सहभागिता जनाउने भएका हुन ।

७ जना महिला खेलाडि सहित १८ जनाले भाग लिने तय भएको संयोजक बुढाथोकीले बताए । चार किलोमिटरको दुरीमा रहेको ट्रयाकमा साइकल दौड प्रतियोगिता संचालन गरिने र उक्त ट्रयाकको मर्मत कार्य पनि भैसकेको आयोजक बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष थापाले पत्रकार सम्मेलनमा जानकारी दिए । ट्रयाक जंगलभित्र रहेकाले एक किसिमको च्यालेन्ज खेलाडिलाई हुने प्रतियोगितामा समन्वय गरिरहेको गाभर सामुदायिक होम स्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताए । प्रतियोगितामा भाग लिनेहरुलाई पुरस्कार रकम कति दिने निश्चत भैनसकेको भएपनि आर्थिक अवस्था कमजोर हुँदा सामान्य रुपमा प्रदान गर्नेगरि तयारी गरिएको संघका अध्यक्ष थापाले बताए ।

नेपालमा अहिले साइक्लिङका ४ विधामा खेलहरु खेलाइने भएपनि संघले आयोजना गरेको प्रदेश स्तरिय खेलमा एक्ससिओ फर्मेटमा पहिलो पटक खेलाउन थालिएको संघले पत्रकार सम्मेलनमा जानकारी दियो । प्रतियोगितामा भाग लिन आउने खेलाडिहरु एक दिन अघि नै खेल हुने स्थानमा पुगिसक्ने र ट्रयाकमा आफ्नो साइकल परिक्षण गर्ने गरि तयारी गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मितिः     ९ चैत्र २०७९, बिहीबार १८:०३  |