बाजुरामा वित्तीयसाक्षरता अभियानमा सहभागिता हुँदाको अनुभव


गुरुप्रसाद पौडेल (कार्यकारी निर्देशक,नेपाल राष्ट्र बैंक )

नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयको आयोजनामा सुदुर पश्चिमाञ्चलको वाजुरा जिल्लामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रममा सहभागी हुने मौका पाइयो । सुदुर पश्चिम प्रदेश अन्तर्गतको नौं जिल्लामध्येको एक वाजुरा तुलनात्मक रुपमा बिकासमा अलि पछि परेको देखियो । जिल्लामा वुढीगंगा नदीले केही फाइदा अलि बढी दुःख दिएको देखियो ।

हालसालै प्रकाशित जनगणना २०७८ को विस्तृत विवरण अनुसार उक्त जिल्लाको जनसंख्या एक लाख अठतीस हजार पाँचसय तेइस । जसमा महिला ५१.६ प्रतिशत । जिल्लाको घरपरिवार संख्या २८ हजार ६५ वटा । प्रति घरपरिवारमा परिवार सदस्य संख्या करिव ५ जना । जिल्लाको साक्षरता दर ७१.२ प्रतिशत (महिला ६३.३ प्रतिशत, पुरुष ७९.८ प्रतिशत) । आर्थिक रुपमा निष्क्रिय अर्थात् आर्थोपार्जनका लागि कुनै पनि काम नगरी र काम नखोजी बस्नेको संख्या करिव ३९ प्रतिशत ।
बाजुरामा नौंवटा स्थानीय निकाय जसमध्ये चारवटा नगरपालिका र पाँचवटा गाउँपालिका । जिल्लाभरिमा बैंक तथा वित्तीय संस्थाहरुको शाखासंख्या २७ वटा जसमध्ये वाणिज्य बैंकका १३ वटा, विकास बैंकको एउटा र लघुवित्तका १३ वटा । ती शाखाहरूको स्थानीय निकायमा उपस्थिति (१) बडीमालिका १० वटा, (२) बुढीगंगा ५ वटा, त्यसैगरी (३) बुढीनन्दा, (४) त्रिवेणी, (५) जगन्नाथ, (६) खप्तड छेडेदह, (७) स्वामीकार्तिक खापरमा दुई दुई वटा छन भने (८) गौमुल र (९) हिमालीमा एक एक रहेका छन् । यी बैंक तथा वित्तीय सस्थाका शाखाहरुले १ लाख ६ हजार ७३० वटा निक्षेप खाता खोलेर रु. १ अर्व ६० करोड निक्षेप संकलन गरेको पाइयो भने जिल्लाभरिमा रु. १ अर्व ३८ करोड कर्जा प्रवाह गरेको पाइयो । जिल्लाभरिमा जम्मा ३ वटा मात्र एटिएम मेशिन दखियो । सदरमुकाममा केही मात्रामा विद्युतीय बैंकिंगको प्रयोग पनि देखियो । समग्रमा गुणस्तर इन्टरनेटको पहुँचको कमी, साँफेवगरबाट मार्तडी जोड्ने ५७ किमी सडकको विचविचमा समस्या, विद्युत आपूर्तिमा निरन्तरताको अभाव, कठिन भूगोल आदिका कारण अन्य थुप्रै समस्या सिर्जना भएको पाइयो ।
हाम्रो उक्त कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष रुपमा सघाउ पुराउने त्यस क्षेत्रका वाणिज्य बैंकका क्षेत्रीय प्रवन्धकहरु, जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिज्यूहरु, वाजुरा क्याम्पसका अध्यापकज्यूहरु, स्वामीकार्तिक होटल व्यवस्थापन र परोक्ष रुपमा सघाउने प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काज्यू, नेपाली सेनाका मेजर दिवाकर खड्काज्यू प्रति हार्दिक आभार ।
समस्याभित्र नै प्रचुर सम्भावना लुकेको हुन्छ भने चुनौतिहरुले अवसरको ढोका हेरिरहेका हुन्छन् । त्यस क्षेत्रबाट प्रतिनिधी सभामा निर्वाचित जुझारु युवा माननीय वद्री पाण्डेले जिल्लाका यी विषयलाई गम्भिरतापूर्वक लिनु भएको पनि देखियो । अर्को पटकको यात्रामा बाजुराका यी समस्याहरु निराकरण हुँदै जानेछन् । शुभकामना ।

प्रकाशित मितिः     ११ चैत्र २०७९, शनिबार १५:५९  |