पश्चिम नेपालको त्यो सेतो घर….


  • सुनिल उलक(इतिहासका खाेजकर्ताबाट)

खलङ्गा डाँडागाउँको यो घर सात सालको क्रान्तिको पश्चिम नेपालको योद्धा लिला बहादुर मल्ल एवं बिपी कोईराला मन्त्री मण्डलमा वन सहायक मन्त्री रहनु भएका नेब बहादुर मल्लको सेतो घर हो ।

स्वर्गीय लिलाबहादुर मल्ल सात सालको क्रान्तिमा होमिनु भए पनि भाइ नेबबहादुर भने सात सालपछि नेपाली कांग्रेसमा सक्रिय भएर लाग्नु भएको थियो । २०१६ सालको आमनिर्वाचनमा सल्यान मध्यपश्चिमबाट नेपाली कांग्रेसको टिकट पाउनु भएपछि चुनावमा बिजयी समेत हुनुभयो । वहाँको कांग्रेस प्रतिको योगदानको कदर गर्दै बिपी कोइराला मन्त्रीपरिषदमा शिक्षा उपमन्त्री समेत बन्नुभयो ।

१७ सालको राजनीतिक परिवर्तन पछि भूमिगत रहनु भएका वहाँ २०३७ सालको जनमतमा बहुदलीय ब्यबस्थाको पक्षमा लाग्नुभयो । तर यसपछि राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिनुभयो तर पराजित हुनुभयो । खलंगामा रहेको त्रिभुवन जन माविलाई आर्थिक सहयोग तथा महेन्द्र संस्कृत विश्वविद्यालयलाई १२ बिघा जमिन दान गर्नुभएका नेबबहादुरको अवसान भने अज्ञात रह्यो ।

२०५२ सालमा भैरहवाबाट नेपालगन्ज आउँदै गरेको समाचार परिवारलाई पठाउनु भएका वहाँ न त कहिल्यै नेपालगन्ज पुग्नुभयो । न त परिवारसंग भेट्न नै आउनुभयो । अचानक हराउनु भएका वहाँको खोजी र प्रतिक्षा लामो समयसम्म परिवारले गरे। तर वहाँ भेटिनुभएन । अन्तत करिव २२ वर्षपछि २०७१ सालमा परिवारले कुशको शव बनाएर अन्तिम संस्कारका पितृकर्म पूरा गरे ।

यहाँ राखिएको सेतो घर त्यो बेला नेबबहादुर राजाको खलंगा दरवार भनेर चिनिन्थ्यो ।

प्रकाशित मितिः     २४ चैत्र २०७९, शुक्रबार १७:११  |