नेपालगन्जकाे प्रशंसामा पूर्वराजाले खर्चिएका शब्द


तस्वीर/ऋषिराज देवकोटाकाे फेसबुकपेजबाट

नेपालगन्ज – राजतन्त्रका बेला प्रशासनिक बिभाजन गर्दा राजाहरुको सुर्खेत माेह ज्यादा देखिएको जानकार बताउँछन् । तत्कालिन मध्यपश्चिम विकासक्षेत्रकाे सदरमुकाम विरेन्द्रनगर कायम गरिएको थियाे ।

नेपालगन्जमा रहेका कयौं क्षेत्रिय कार्यालय पूर्वराजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनकालमा रातारात सुर्खेत सारिएको थियो । राजाका पालामा मात्र होइन नेपालगन्जप्रति त लाेकतन्त्रमा समेत सौतेनी व्यवहार देखाएका छन्,नेताहरुले । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला नागरिक हैसियतमा नेपालगन्जलाई मुकाम बनाएर विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।

बैशाख २० गते राप्रपाकाे अगुवाईमा नेपालगन्जमा आयोजना गरिएको एउटा कार्यक्रम पूर्वराजाले नेपालगन्जका प्रशंसामा थुप्रै शब्द खर्चिएका छन् । नेपालगन्ज बारे उनले आफ्नो सम्बाेधनमा भनेका बिषय संपादन सहित प्रकाशित गरिएको छ:-

उपस्थित महिला तथा सज्जनबृन्द,

आज नेपालको यो ऐतिहासिक, औद्योगिक र व्यापारिक महत्वको नेपालगञ्ज नगरमा आएर तपाईंहरू सामु दुईचार कुरा बोल्न पाउँदा मलाई खुसी लागेको छ। यो अवसर दिनुहुने आयोजक तथा उपस्थित यस क्षेत्रका जनसमूहप्रति आभार व्यक्त गर्दछु ।

बाँकेको यो नेपालगञ्ज हाम्रो यस क्षेत्रको केन्द्रवर्ती स्थल हो। बाँके, बर्दिया, कैलानी, कञ्चनपुरको यो भूभाग परिबन्दले हामीमाट केही समय गुमेपनि कालान्तरमा त्यो हामी भित्रै समाहित भयो त्यो हाम्रो गौरवको विषय हो। हामी नेपाली, हाम्रो माटो र हाम्रो भूखण्डमा हाम्रो अपनत्व राब्दस् र त्यसमा गर्व गर्दछौ । यस्तो गौरवको गति हामीले सदा राख्नु पर्दछ । हाम्रो यही मान्यता हो ।

नेपालको यो स्थापित पुरानो शहरमा पाहिला टेकेपछि स्वभावत मलाई यहाँ रहेको परम आस्थाको पवित्र मन्दिर बागेश्वरीको याद आयो । अस्ति सोमबार साँझ म देवी भगवती मागेश्वरीको सन्ध्या आरतीमा संलग्न भए मलाई अन्तरआत्मा देखि नै अपार आनन्दको अनुभूति भयो। त्यहाँ तपाईंहरू नेपालगञ्जवासीको समेत उत्साहपूर्ण साथ रहेकोमा मलाई हर्षको पनि अनुभूति भयो ।

बर्दिया, दाङ जस्ता उर्वर भूभाग भएको र सुर्खेत, कालीकोट, जुम्ला, हुम्ला, धनगडी र भैरहवा सम्मको पहुँच केन्द्र रहेको नेपालगंज ठूलो व्यापारिक, उत्पादक, वितरक र प्रेरक केन्द्र मानिन्छ तर पनि जुन रफ्तारमा यसको चौतर्फि प्रभावकारीता हुनु पर्ने हो त्यो भइरहेको छैन।

आपस आपसमा मिलेर बस्ने नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर यस क्षेत्रको सर्वाङ्गीण विकासमा राज्यले खेल्नु पर्ने भूमिका गहन छ । विभिन्न धर्म, वर्ण र समूह मिलेर हातेमालो गर्दै नेपाली सभ्यताको परिचय बनी नेपालगञ्जको आगामी अवधीमा धेरै प्रकारले फड्को मार्नु पर्ने खाँचो देखिन्छ ।

नेपालको बृहत्त सम्पदाको उपयोग गरेर यो भेगका सबै अविकसित भूभागको विकास गरेर त्यहाँको विपन्नतालाई हटाउन नेपालगञ्जले अग्रणी स्थान राख्न सक्दछ त्यसतर्फ कदम बढोस् भन्ने हाम्रो आकांक्षा हो ।

धन्यवाद,

जय नेपाल

मिति २०८० साल वैशाख २० गते

प्रकाशित मितिः     २१ बैशाख २०८०, बिहीबार ०९:३१  |