नेपालगन्ज – पूर्वाधारको निर्माणसंगै गुर्भाकोट नगरपालिका–४ का सर्बसाधारण पशुपालनमा आर्कषित भएका छन् । गाईभैसी पाल्नेको संख्या बढेपछि दुध बेचेरै वडामा
मासिक रु ३० लाखसम्म भित्रिने गरेको वडा नम्बर ४ का अध्यक्ष रामबहादुर डाँगी बताउँछन् । डाँगीका अनुसार दैनिक पन्ध्र सय लिटरसम्म दुध सदरमुकामबिरेन्द्रनगर लगायतका बजारमा बिक्री भइरहेको छ ।
‘हाम्रो वडाबाट दैनिक १५ सय लिटर दुध अन्यत्र बिक्री हुन्छ । कृषकले प्रतिलिटर ७० रुपैयासम्म पाइरहेका छन् ।’ डाँगी भन्छन्–‘ यो हिसावले हाम्रो वडामा दुध बिक्रीबाट मात्र रु ३० लाखसम्म भित्रिने रहेछ ।’ सडक, दुग्ध चिस्यान केन्द्र,
पशुपालनका लागि घाँस,पानी लगायतको सुविधा भएपछि पशुपालन गर्नेहरु बढेको पारेखेत कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडका अध्यक्ष महेश ओली
बताउँछन् ।
‘पहिले दुध बेच्न दश किलोमिटर परको बोटेचौरसम्म जाने गरेका थियौं । तर अहिले दुध चिस्यान केन्द्र गाउँमै बनेपछि दुध लिन घरआगनमै आईपुग्छन् डेरीवाला ।’– ओलीले भने ।
अगुवा कृषक एवं वडा नम्बर ४ का सदस्य ज्ञानबहादुर डाँगीले पाँचवटा गाई र एउटा भैसी पालेका छन् । दुध बेचेर मासिक एक लाखसम्म आम्दानी गरिरहेका उनले अहिले गाउँमा गाईभैसी नपाल्ने कोही पनि नभएको बताउँछन् । ‘हामीले शुरु
गर्दा गाईभैंसी पनि कसैले पाल्छ भन्दै होच्याउनेका गोठमा प्रशस्तै गाईभैसी देखिन्छ । उनीहरुको आम्दानीको मुख्यस्रोत नै दुध हो ।’–उनले भने ।
पारेखेत कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड एक्लैले दैनिक सात सय लिटर दुध बिरेन्द्रनगर पठाउने गरेको अध्यक्ष ओली बताउँछन् । त्यतिकै हाराहारीमा अरुले पनि दुध संकलन गरेर अन्यत्र बेच्ने गरेका छन् । आफ्नो सहकारीबाट प्रत्यक्षरुपमा एक सय कृषक लाभान्वित भएको बताउँदै ओलीले भने,–‘एकजना कृषकले न्यूनतम सात हजारदेखि अधिकमत एकलाखसम्म आम्दानी गर्दै
आएका छन् ।’
पशुपालक कृषकलाई प्रोत्साहित गर्न पशु पन्छी विकाश निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको सहयोगको दुध चिस्यान केन्द्र निर्माण गरिएको थियो ।
दुध चिसान केन्द्रका सचिव हस्तबहादुर डाँगीका अनुसार, चिलिमभ्याट ,क्यान , जेनेरेटर ,मिल्क एनालाइजर मेसिन राखिएको छ । ‘ यो व्यवसायिक योजना सम्पन्न
भइसकेपछि यस क्षेत्रका कृषकहरुलाई पशुपालनमा अझ उत्साहित बनाई उनिहरुले उत्पालन गरेको करिब ३ लाख ६५ हजार दुध संकलन गरी विक्रि वितरण गर्ने लक्ष्य
यो सहकारीको रहेको छ ।’–डाँगीले भने ।
पूर्वाधार विकासले कृषि तथा पशुपालनबाट हुने उत्पादनको विक्री बितरणमा समस्या छैन । ‘अब हामी घरघरमा व्यवसायीकरुपमा पशुपालन र कृषि उत्पादन बढाउनका लागि अभियान सन्चालन गर्ने छ ।’– अगुवा कृषक ज्ञानबहादुर डाँगीले भने ।
सहकारीका अध्यक्ष ओलीका अनुसार, कुल दुधको ५५ प्रतिशत जति सुर्खेत जिल्लाको कुल दुधको ५ प्रतिशत जति हिस्सा संकलन केन्द्रको छ । जिल्लाको कुल बजार मागको ५० प्रतिशत जति बाह्य जिल्लाबाट आयात हुने गरेको छ ।