नेपालगन्जमै भइरहेकाे छ सिएको अध्ययन


नेपालगन्ज – नेपालगन्ज स्थित इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट (आईबीएम) ले यस क्षेत्रमा पहिलो पटक सिए कक्षा सञ्चालन गरेको छ।

यस क्षेत्र कै वरिष्ट तथा अनुभवी चार्टर्ड एकाउन्टे्ट्हरुले आईबीएम सञ्चालनमा ल्याएका हुन्। लेखा, कर, लेखापरीक्षण, व्यवसायिक परामर्श जस्ता क्षेत्रमा दक्ष जन शक्ति उत्पादन गर्ने आई.बी.एम सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक सिए सागर अधिकारीले जानकारी दिए। आज यस क्षेत्रमा सिए पढ्न इच्छुक विद्यार्थीहरूलाई सिए कोर्ष बारे जानकारी गराउने उदेश्यले आईबिएमले ‘क्यारियर काउन्सेल्लिङ’ सञ्चालन गरेको छ।

आई.बी.एम. मै सिए पढाई र नेपालगन्ज मै परीक्षा हुने भएकोले अब सिए अध्ययन गर्न काठमाण्डौ जानु पर्ने वाध्यताको अन्त भएको अर्का सञ्चालक सिए सन्तोष कडेंलले बताए।
निकट भविष्य मै आई.बी.एम. ले लेखाव्यवस्थापन तालिम, कर सम्बन्धी तालिम र अर्थ सम्बन्धी विभिन्न तालिम तथा गोष्ठीहरु आवश्यकता अनुसार सञ्चालन गर्ने सञ्चालक विवस खड्काले बताए।

वि.सं. २०५३ मा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) गठन भएपछि नेपालमा औपचारिक रूपमा सिएको पढाइ सुरु भएको हो । बर्सेनि सिएमा ८ सय जना विद्यार्थी भर्ना हुन्छन् । चार्टर्ड एकान्उटेन्सी (सिए) पेशागत शिक्षा हो । यो शिक्षा आर्जन गरेपछि मुख्यतया विद्यार्थीहरूले लेखापरीक्षणको काम गर्न पाउँछन् । यसबाहेक सिए अध्ययनपश्चात् विद्यार्थीहरू लेखा, वित्तीय व्यवस्थापन, कर, कानुनलगायत बिभिन्न विधामा दक्ष हुने भएकाले सम्बन्धित क्षेत्रमा परामर्शदाता अथवा दक्ष जनशक्तिका रूपमा पनि काम गर्न सक्छन् । खासगरी एनजिओ, आइएनजिओ, बैंक, अस्पताल, सरकारी कार्यालय, प्राइभेट कम्पनी, व्यापार, उद्योगसँग सम्बन्धित कार्यालयमा सिएले काम गर्न सक्छन् ।

कति खर्च लाग्छ?
घरमै बसेर अध्ययन गर्ने हो भने डेढ लाख जति रुपैयाँमा अध्ययन पूरा गर्न सकिन्छ । इन्स्टिच्युटमा गएर पढ्ने हो भने ३ देखि ४ लाख रुपैयाँमै कोर्ष पूरा गर्न सकिन्छ । यदि विदेश गएर अध्ययन गर्ने हो भने तीन गुणा बढी पैसा लाग्छ । CAP-I तहका लागि २७ हजार ५ सय रुपैयाँ CAP-II तहका लागि ३२ हजार ५ सय रुपैयाँ र CAP-III तहका लागि ४० हजार रुपैयाँ दर्ता शुल्क तिरे पुग्छ । उपरोक्त शुल्कबाहेक न्यूनतम परीक्षा शुल्क तिर्नुपर्छ भने अन्य कुनै शुल्क तिर्नु पर्दैन । अर्को फाइदा के छ भने यसको शुल्क एकमुष्ट तिर्नु पर्दैन।

छात्रवृत्तिको व्यवस्था
सिए पढ्न आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार तथा मेहनती विद्यार्थीहरूलाई छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । आवश्यकता हेरी हरेक तहमा ५० देखि शतप्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गरिएको हुन्छ ।

कोर्ष पूरा गर्न कति समय लाग्छ ?

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ नेपाल (आइक्यान) ले सञ्चालन गर्ने कोर्ष अन्तर्गत (CAP-I) तह ६ महिना, (CAP-II) तह ९ महिना र (CAP-III) ३ वर्ष गरी लगभग ४ वर्ष ३ महिनाको समयावधिमा सिएको अध्ययन पूरा गर्न सकिन्छ ।

परीक्षा र नतिजा

सिएको हरेक तहको अन्तिम परीक्षा वर्षको दुई पटक ६ महिनाको फरकमा अंग्रेजी महिनाको जुन तथा डिसेम्बरमा सञ्चालन हुन्छ । परीक्षा सम्पन्न भएको दुई महिनापछि नतिजा प्रकाशन हुन्छ ।

सिए पढ्दा तालिम लिनुपर्ने व्यवस्था छ ?

सिए पढ्दा विद्यार्थीले CAP III तहमा तालिम लिनुपर्ने व्यवस्था छ । यसलाई आर्टिकलसिप ट्रेनिङ भनिन्छ । विद्यार्थीहरूलाई यस प्रकारको तालिम पेशागत व्यवसायमा रहेका चार्टर्ड एकान्टेन्टहरूले दिन्छन् । तालिम अवधिमा चार्टर्ड एकान्टेन्टले कम्तीमा पहिलो वर्ष मासिक रूपमा कम्तिमा ४ हजार, दोस्रो वर्ष ५ हजार तथा तेस्रो वर्ष ७ हजार रुपैयाँका दरले प्रशिक्षण भत्ता अनिवार्य प्रदान गर्ने व्यवस्था आइक्यानले गरेको छ । बजारमा कार्यक्षमता अनुसार विद्यार्थीहरुले बढी रकम पाइरहेका हुन्छन्।

कत्तिको गर्‍हो छ पढाइ ?

आमरूपले धेरैले सिए गर्‍हो विषयका रूपमा बुझे पनि वास्तवमा यो गर्‍हो विषय भने होइन । नेपालमा आईक्यान स्थापना हुनुपूर्व विदेश गएर पढ्नुपर्ने हुनाले अलि खर्चिलो थियो र सबैको पहुँचमा थिएन । नेपालमै यसको पठनपाठन सुरु भएपछि भने सजिलो भएको छ । पूरा समय दिएर सबै पाठ्यक्रम समेट्ने गरी अध्ययन गर्नुपर्ने हुनाले केही बढी समय भने लाग्छ ।

नेपालको सिए र अरू देशको सिएबीच भिन्नता

हरेक देशमा सिएको शिक्षा प्रदान गर्ने अधिकार प्राप्त संस्था हुन्छ । नियमबमोजिम उक्त संस्थाले सो देशमा लेखापरीक्षण गराउनका लागि सिए तयार गरेको हुन्छ । त्यसैले हरेक देशको सिएको आफ्नै मान्यता हुन्छ । कुनै पनि देशको सिए अन्य कुनैपनि देशको सिए भन्दा कम अथवा बढि मान्यताको छ भन्न मिल्दैन । नेपालको सिएले पनि नेपालभित्रै लेखा व्यवसाय गर्न सक्नुका साथै अन्य पेसागत कार्यहरू नेपालभित्र र बाहिर गएर दक्षताका साथ गर्न सक्छ । नेपालको पढाइ, तालिम, परीक्षा आदि सबै विषय अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त संस्था IFAC ले निर्धारण गरेको आधारमा सञ्चालन गरिने हुनाले नेपालको पढाई समेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । आइक्यानले अष्ट्रेलिया, न्यूजील्याण्ड, इंडिया, श्रीलंका, इङ्ल्यान्ड लगायत देशहरू संग अन्तर्राष्ट्रिय सम्झौता गरेको छ।

सिएमा भविष्य
अहिले विश्व बजारमा सिएको माग बढ्दै गएको छ । नेपालको अर्थ व्यवस्था कमजोर भए पनि यहाँ सिएका लागि अवसरको कमी भने छैन । भविष्यमा अर्थ व्यवस्था सुदृढ हुँदै जाँदा सिएको माग अझ बढ्दै जानेछ । अर्कातिर सिएले नेपालमा मात्र सीमित नभई विदेशका कतिपय देशमा गएर काम गर्न सक्छन् ।

हालको अवस्था

नेपालमा हाल करिब २००० जना सिए छन् । यसमध्ये कतिपय विदेशका ठूलठूला प्रभावशाली संघसंस्थाहरू वल्र्ड बैंक, आईएमएफ, युएन जस्ता संस्थाहरूमा कार्यरत छन् । कतिपय नेपालभित्रै लेखा व्यवसायमा संलग्न छन् भने कतिपय सिए अन्य संस्थागत क्षेत्र बैंक, वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, सरकारी वा प्राइभेट संस्थामा कार्यरत छन् ।

प्रकाशित मितिः     १३ जेष्ठ २०८०, शनिबार १८:२७  |