नेपालगन्ज वडा नं १० को वडा भेला सम्पन्न


नेपालगन्ज , असार १ गते –नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को वडा भेला आज सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८०/ ०८१ को लागि प्रस्तावित योजना, काय संकलनका लागि भेला आयोजना गरिएको थियो । भेला नेपालगन्ज गणेशमान चोकस्थित साथी कृष्ण कटेजमा संचालन गरिएको थियो ।

भेलामा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं १० का अध्यक्ष श्रवण कुमार श्रेष्ठले वडाबासीको अपेक्षा धेरै,वजेट कम भएपनि समग्र विकासका लागि हर सम्भव प्रयास भइरहेको दाबी गर्नु भयो । उहाँले वडा कार्यालयको क्षमता र स्थानीय माग अनुसार नै योजनाका काम सम्पन्न गर्ने विश्वास पनि दिलाउनुभयो ।

वडा सदस्य दिपेन्द्रराज श्रेष्ठले आर्थिक वर्ष २०७९।०८०मा सम्पन्न भएका पुर्वाधार योजनाको बारेमा जानकारी दिदै आगामी योजनाबारे पनि प्रकाश पार्नु भएको थियो । वडा सदस्य भरत ध्वज शाहीले सहभागीका तर्फबाट उठाइएका जिज्ञाशा हल गर्ने प्रयास गर्नु भएको थियो । वडा सदस्य विना थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमको सञ्चालन वडा सचिव शान्ति केसी गर्नु भएको थियो । आर्थिक वर्ष २०८०। ०८१ को लागि प्रस्तावित कार्य योजना संकलनका लागि वडा भित्रका टोल विकास संस्था, विद्यालय, क्लव, विभिन्न संघ संस्था र वडाबासीहरुले आफ्नो योजना लिखित तथा मौखिक रुपमा पेश गरेका थिए ।

बिशेष गरेर सडक निर्माण , ग्रावेल, नाला व्यवस्थापन, स्वास्थ्य, सरसफाई, वत्ती, खानेपानी, युवा, महिला तथा बालबालिकाका लागि कार्यक्रम, व्यवसायिक दक्षताका लागि विभिन्न तालिम आदि विषयमा वजेट माग गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा एक करोड ३१ लाख ८७ हजारको बजेट सिलिङ नेपालगन्ज उपमहानगरपालिकाबाट प्राप्त भएको छ । कार्यक्रममा वडा सदस्यहरू, जेष्ठ नागरिक, बाल अधिकारकर्मी, समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     १ असार २०८०, शुक्रबार २१:२७  |