नेपालगन्ज – नेपालगन्ज भन्सार कार्यालयलाई तीन वर्षयता राजश्व असुलीका लागि प्राप्त लक्ष्य भेटाउन ‘फलामको चिउरा चपाउनु’ सावित भएको छ । कुनै बेला लक्ष्य भन्दा ३८ प्रतिशत बढि राजश्व असुली गर्ने उक्त भन्सारले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्य भेटाउन त परै जाओस् लक्ष्य भन्दा ३८ प्रतिशत कम मात्र राजश्व संकलन गर्न सक्यो ।
गत आर्थिक वर्षमा नेपालगन्ज भन्सारलाई रु २९ अर्व ३२ करोड ९५ लाख ३९ हजार राजश्व संकलनको लक्ष्य प्राप्त थियो । तर जम्मा १८ अर्व १९ करोड ६९ लाख ७५ हजार मात्रै राजश्व संकलन गर्न सक्यो । यो लक्ष्यको ६२.०५ प्रतिशत मात्रै हो । पछिल्लो एक दशकमा लक्ष्यको निरासाजनक राजश्व असुलीको यस्तो अवस्था नेपालगन्ज भन्सारले पहिलो पटक भोगेको हो ।
जबकी आर्थिक वर्ष २०७३/७४ राजश्व संकलन प्रतिशत १ सय ३८ प्रतिशत पुगेको थियो । उक्त आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य ५ अर्व ५३ लाख थियो भने संकलनको अवस्था ७ अर्व २० करोड ७३ लाख थियो । हुन त पछिल्लो आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्यको आकार धेरै भएको पाईन्छ । एकातिर लक्ष्यको आकार धेरै र त्यसैमा उत्पन्न आर्थिक संकटले राजश्व संकलन नराम्रो गरी प्रभावित भएको भन्सार अधिकृतहरु बताउँछन् ।
गत आर्थिक वर्ष मात्रै नभई आर्थिक वर्ष २०७८/७९ मा पनि नेपालगन्ज भन्सारले राजश्व संकलनको लक्ष्य भेटाएको थिएन । उक्त आर्थिक वर्षमा २५ अर्व २१ करोड लक्ष्य रहेकोमा २२ अर्व ३१ करोड मात्रै राजश्व संकलन भएको थियो जुन लक्ष्यको ८८.५३ मात्रै हो ।
नेपालगन्ज भन्सारका प्रमुख नरबहादुर थापाले नीतिगत निर्णयमा गरिएका परिवर्तनका कारण भन्सार राजश्व देशैभर प्रभावित भएको बताउँछन् । सरकारले केही वस्तुहरुमा लगाएको प्रतिबन्ध र व्यवसायमा आएको गिरावट आएको हो । नेपालगन्ज भन्सारबाट भारतवाट पैठारी हुने मुख्य मुख्य बस्तुहरुमा पेट्रेलियम पदार्थ हो । नेपालगन्ज भन्सारमा असुल हुने कूल राजस्व असुलीको ठूलो मात्रा राजस्व पेट्रोलियम पदार्थ रहेको छ । भारत निकासी हुने बस्तुहरुमा खयर कत्था, कच्छ, जडिबुटि, अदुवा, सुठो आदि पर्दछन् भने तेश्रो मुलुक निकासी हुने बस्तुहरु गहुँको पीठो, ,टिमुर, रिठा, जटामसी मार्क आदि रहेका छन ।
राजश्व लक्ष्य नराम्रो गरी प्रभावित भएपछि नेपालगन्ज भन्सारले राजश्व संकलनमा कडाई गरेको छ । उसले रु एक सय भन्दा माथीको सामान ल्याउनेलाई समेत करको दायरामा ल्याउने गरी कडाई गरिरहे पनि तस्करहरुले अवैधरुपमा सामान ल्याई नेपालगन्जको बजारका पसलसम्म पुर्याउन छाडेका छैनन् ।
खण्डहर बने छोटी भन्सार
नेपालगन्ज भन्सार कार्यालय अनर्तरगत ७ वटा छोटी भन्सार कार्यालयहरु रहेका छन । यि कुनै पनि संचालनमा छैनन् भने सबैको भौतिक पूर्वाधार खण्डरहरमा परिणत भएका छन् । बाँकेमा सुइया बघौडा,नरैनापुर,भगवानपुर,खडैचा,भंघोटना, साईगाउँ,उढरापुरमा छोटी भन्सार थिए । यि मध्ये उढरापुर,भगवानपुर,सुइया बघौडा बाहेक अन्य छोटी भन्सारको आफ्नै भवन रहे पनि अहिले कामै नलाग्ने गरी खण्डहर बनेका छन् ।