वार्षिक उत्सवमा विद्युत प्राधिकरणका कर्मचारीलाई १५ हजार भत्ता


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले वार्षिकोत्सव भत्तालाई यसपालि पनि निरन्तरता दिएको छ। प्राधिकरणले वार्षिकोत्सव भत्ताका रुपमा कर्मचारीलाई यसपालि पनि जनही १५ हजार रुपैयाँ दिने भएको हो।

३८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अरु सुविधा बढाउने निर्णय पनि सुनाएका छन्। उनका अनुसार महिला कर्मचारीका लागि प्रसुति स्याहार भत्ता दोब्बर बनाइएको छ। यसअघि ७ हजार ५०० रुपैयाँ पाउँदै आएका कर्मचारीले अब १५ हजार रुपैयाँका दरले प्रसुति स्याहार भत्ता पाउनेछन्।

कर्मचारीले विद्युतीय सवारीसाधन खरिदका लागि प्राधिकरणबाट ५ लाख रुपैयाँ पाउने भएका छन्। यसअघि ३ लाख रुपैयाँ पाउँदै आएका थिए। शैक्षिक अनुदान रकम १० हजार रुपैयाँबाट ३० हजार रुपैयाँ पुर्‍याइएको छ। कडा रोग लाग्ने कर्मचारीले पाउने सुविधा २० हजार रुपैयाँबाट ५० हजार रुपैयाँ पुर्‍याइएको छ।

काजक्रिया खर्च १० हजारबाट २० रुपैयाँ पुर्‍याएको प्रबन्ध निर्देशक घिसिङले जानकारी दिए। उनका अनुसार दैवी प्रकोप अनुदान २० हजारबाट ४० हजार पुर्‍याइएको छ।

त्यसैगरी कर्मचारीलाई साविकको आवास खर्चमा १ हजार रुपैयाँ बढाइएको छ। कर्मचारीका लागि छात्रवृत्ति कोष स्थापना गरिएको छ। कोषमा प्राधिकरणले ५० लाख रुपैयाँ जम्मा गरेको छ। हरेक कार्यालयमा शिस्यु स्याहार केन्द्र स्थापना गर्ने निर्णय पनि प्राधिकरणले गरेको छ।

प्रकाशित मितिः     १ भाद्र २०८०, शुक्रबार १६:४२  |