नेपालगन्ज । सबैभन्दा धेरै घरजग्गा खरिद बिक्री हुने मालपोत कार्यालयमा बाँके पनि परेको छल। पूर्वको इनरुवा अग्रस्थानमा रहँदा मनाङ मालपोत सबैभन्दा पछाडि रहेको छ ।
देशभर रहेका १२६ मालपोत कार्यालयमध्ये सबैभन्दा धेरै घरजग्गा किनबेच गराउनेमा पुर्वी नेपालकै मालपोत कार्यालयको बाहुल्यता देखिन्छ । पश्चिम नेपालको बाँके जिल्ला पनि रियल इस्टेटको हटस्पट बन्न थालेको छ ।
गएको आर्थिक वर्ष ०७९र८० मा सुनसरीको इनरुवा मालपोतबाट करिव २० हजार घरजग्गाको लिखत पारित हुँदा मनाङ र सिर्दिवास मालपोत कार्यालयबाट जम्मा २१र२१ वटा लिखत पारित भएका छन् ।
भूमि व्यवस्थापन विभागका अनुसार, एक वर्षमा १७ हजार ५६४ घरजग्गा किनबेच गराइ बाँकेको नेपालगञ्ज मालपोत कार्यालय दोस्रो नम्बरमा परेको छ । तेस्रोमा मोरङको बेलवारी मालपोत कार्यालय रहेको छ, जहाँ वर्षमा १६ हजार ४४९ घरजग्गाको लिखत पारित भएका छन् ।
धनुषाको जनकपुर मालपोतले वर्षमा १६ हजार ११६ घरजग्गा किनबेच गराइ चौथो बन्दा झापाको भद्रपुर मालपोत कार्यालय १२ हजार ८७० घरजग्गा किनबेच गराई देशकै प्रमुख पाँच मालपोतमा दहरिन पुगेको छ ।
सातौंमा तौलिहवा
छैठौं नम्बरमा रहेको सप्तरीको राजविराज मालपोत कार्यालयबाट १२ हजार ५१८ घरजग्गा किनबेच भएका छन् भने कपिलवस्तुको तौलिहवा मालपोतबाट ११ हजार ३३८ घरजग्गा किनबेच भई सातौं नम्बरमा छ ।
पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पाका मानिसहरु बसाई सरेर तराई झर्ने जिल्ला कपिलवस्तुमा घरजग्गा कारोबारमा उछाल आइरहेको देखिन्छ ।
कुनै समय सर्वाधिक घरजग्गा किनबेच हुने काठमाडौं उपत्यका, कास्की ९पोखरा०, रुपन्देहीका मालपोत कार्यालयहरु पछाडि पर्न थालेका छन् ।
उपत्यकाको ललितपुरस्थित लगनखेल मालपोतबाट वर्षमा १० हजार ७९४ घरजग्गा किनबेच भई आठौं नम्बरमा परेको छ । मोरङकै विराटनगर मालपोतबाट १० हजार ७५३ घरजग्गा किनबेच हुँदा देशकै प्रमुख १० मालपोतभित्र पर्न सकेको छ ।
भक्तपुरबाट १० हजार ७१३, बाराको कलैयाबाट १० हजार ४३४ र काभ्रेपलाञ्चोक मालपोतबाट वर्षमा १० हजार ५९ घरजग्गा किनबेच भएका छन् । माथि उल्लेखित १२ मालपोत कार्यालय वर्षमा १० हजार भन्दा बढी घरजग्गा किनबेच गराउनेमा पर्छन् ।
जिल्लामा मोरङ पहिलो
सबैभन्दा धेरै घरजग्गा किनबेच गर्नेमा सुनसरीको इनरुवा मालपोत पहिलो भए पनि जिल्लागत आधारमा मोरङ पहिलो बनेको छ ।
गत आर्थिक वर्षमा मोरङबाट करिव ३१ हजार घरजग्गा किनबेच भएका छन् । काठमाडौं जिल्लामा रहेका ६ वटा मालपोत कार्यालयबाट २४ हजार ८३७ घरजग्गा किनबेच हुँदा दोस्रो बनेको छ ।
यस्तै, सुनसरी जिल्लामा २३ हजार ५४५, झापामा २१ हजार ९७८, दाङमा २१ हजार ९२५, बाँकेमा १७ हजार ५६४, चितवनमा १७ हजार १६, सिराहामा १६ हजार ५५०, धनुषामा १६ हजार ११६, सप्तरीमा १५ हजार २१३ घरजग्गा किनबेच भएका छन् ।