घरजग्गामा ३२ खर्ब २ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह


काठमाडौं। बैंक तथा वित्तीय संस्थाले कूल ऋणको ६८ प्रतिशतसम्म घरजग्गा धितोमा लगानी गरेका छन्। गत असारसम्म बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ३२ खर्ब २ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले कूल ४७ खर्ब ९ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। जसको ६८ प्रतिशत कर्जा घरजग्गा धितोमै प्रवाह गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

बैंक तथा वित्तीय संस्थाले कूल प्रवाहित कर्जामा ८७.४० प्रतिशत अर्थात ४१ खर्ब १६ अर्ब २१ करोड रुपैयाँ सम्पत्ति धितोमा कर्जा प्रवाह गरेका छन्। एक वर्षमा सम्पत्ति धितोमा जाने कर्जा २५.२ प्रतिशत वृद्धि भएको हो। अघिल्लो आवमा सम्पत्ति धितोमा कूल ३६ खर्ब ४७ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।

सम्पत्ति धितोमा प्रवाहित कूल कर्जामध्ये १ खर्ब २१ अर्ब ८३ करोड रुपैयाँ मेसिनरी र उपकरण धितो, फर्निचर र फिक्स्चर धितो १ अर्ब ७३ करोड, सवारीसाधन धितो १ खर्ब ८४ अर्ब ४२ करोड र अन्य स्थिर सम्पत्ति धितोमा १ खर्ब १ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।

de1692358176.PNG

यसैगरी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशत बढेको छ। अघिल्लो वर्ष यस्तो कर्जा १३.१ प्रतिशत बढेको थियो।

समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहितमध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३.५, विकास बैंक ७.६ र वित्त कम्पनीहरूको ०.६ प्रतिशत बढेको छ।

उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवारमा प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ र ३६.७ प्रतिशत थियो।

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेका कर्जामध्ये ६८.० प्रतिशत घरजग्गा धितो र ११.६ प्रतिशत चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) धितोमा प्रवाह भएको छ। २०७९ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ र १२.३ प्रतिशत थियो।

२०७९÷८० मा कृषि क्षेत्रमा ६.८, औद्योगिक उत्पादन ८.३, यातायात, सञ्चार तथा सार्वजनिक सेवा २१, थोक तथा खुद्रा व्यापार ३.९ र सेवा उद्योगमा बैंक तथा वित्तीय संस्थाको कर्जा ३.७ प्रतिशत बढेको थियो।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ३२, रियलइस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.६ र हायर पर्चेज कर्जा १.३ प्रतिशत बढेको छ। ट्रस्ट रिसिट (आयात) कर्जा ६.२, ओभरड्राफ्ट कर्जा ६७.७, डिमान्ड तथा चालू पुँजी कर्जा १३.२ र मार्जिन प्रकृति कर्जा ५.२ प्रतिशत घटेको छ।

प्रकाशित मितिः     १ भाद्र २०८०, शुक्रबार १७:३९  |