लुम्बिनीका मिडियालाई आर्थिकरुपमा सक्षम बनाउने ‘रोडम्याम’


प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवर ।

नेपालगन्ज – प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भदौ  १ र २ गते बुटवलमा सम्पन्न मिडिया सम्मेलन २०८० ले १३ बुंदे बसन्तपुर घोषणापत्र जारी गरेको छ । लुम्बिनी प्रदेश भित्रका झण्डै दुईसय मिडियाका सञ्चालकहरुको सहभागितामा भएको सम्मेलनले लुम्बिनी केबलकारको टप स्टेशन पाल्पाको तिनाउ गाउंपालिका ३ बसन्तपुरबाट १३ बुंदे बसन्तपुर घोषणा पत्र २०८० सार्वजनिक गरेको हो ।   घोषणापत्रमा समानुपातिक विज्ञापन वितरण  प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसहरुमा  हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।

प्रदेश भित्रका सम्पुर्ण मिडियाका सञ्चालकहरुको सहभागीता, प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा मिति २०८० साल भाद्र १ र २ गते चलेको मिडिया सम्मेलन २०८० मा उठेका सवाललाई समेटेर यो बसन्तपुर घोषणा पत्र २०८०, सार्वजनिक गरिएको छ ।

१) लुम्बिनी प्रदेशमा मिडिया हाउसहरुको संख्या उल्लेख्य छन् । मिडिया हाउसमा लुम्बिनी प्रदेश भित्र हजारौ संख्यामा सञ्चारकर्मी सहित विभिन्न पदमा कार्यरत जनशिक्त  छन् । मिडिया हाउसहरुलाई कोरोना कहरसंगै सरकारी क्षेत्रको नीतिगत अस्पस्टताको कारणले मिडिया उद्योगले सोचे अनुसारको सामाजिक उत्तरदायित्व वहन गर्न सकेका छैनन् । त्यसैले सरकारी र नीजि क्षेत्रले मिडिया हाउसलाई सहयात्रीको रुपमा सहकार्य गर्ने वातावरण वनाउन सम्मेलन माग गर्दछ ।

२) मिडिया हाउस आर्थिक रुपले सवल र सक्षम हुन नसकेकाले सोचे अनुसारको मिडियाको सामग्री उत्पादन र मिडियाकर्मीलाई पारिश्रमिक उपलब्ध गराउन कठिन भएको छ । त्यसैले मिडियालाई सबल बनाउन आर्थिक पक्ष बलियो हुनुपर्दछ । मिडिया हाउसहरुको मुख्य आम्दानीको स्रोत विज्ञापन बजार हो । यसलाई व्यवस्थित गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंगै उद्योग, व्यवसाय र अन्य निकायहरुले मिडिया हाउसलाई सवलिकरण र सामाजिक जवाफदेहीता अभिबृद्धिमा लाग्न प्रोत्साहन गर्न र समानुपातिक विज्ञापन वितरण  प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न यो सम्मेलन माग गर्दछ ।

३) मिडिया हाउस सक्षम र सवल भएको खण्डमा मात्र श्रमजीवी पत्रकार ऐनको व्यवहारिक कार्यान्वयन गर्न सकिने भएकाले सम्मेलन मार्फत यस बिषयमा सबै पक्ष गम्भिर हुनुपर्ने र हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न यो सम्मेलन आग्रह गर्दछ ।

४) तिनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन यो सम्मेलन जोडदार माग गर्दछ ।

५) सरकारले लिदै आएको विद्युतीय सञ्चार माध्यमको नविकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाईन, छापामाध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महशुलमा छुटको व्यवस्था अविलम्व शुरु गर्न यो सम्मेलन माग गर्दछ ।

६) नीजि क्षेत्रलाई ‘विज्ञापन, व्यवसाय प्रवद्र्धनमा गरिएको लगानी हो, यसको प्रतिफल तत्काल भन्दामा पनि दीर्घकालीन हुन्छ’ भन्ने बुझाईलाई व्यापक बनाउन मिडिया उद्योगले सहयोग गर्ने र मिडिया उद्योगको प्रर्वद्धनमा सहकार्यका लागि नीजि क्षेत्रलाई अभिपे्ररित गर्न आवश्यक वातावरण वनाउन यो सम्मेलन माग गर्दछ ।

७) सरकारले संचारगृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न, यो सम्मेलन माग गर्दछ ।

८) रेडियो र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउनुपर्ने यो सम्मेलन माग गर्दछ । साथै दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन समेत जोडदार माग गर्दछ ।

९) संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न यो सम्मेलन माग गर्दछ ।

१०) प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याजअनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न यो सम्मेलन प्रेस काउन्सिल नेपाल समक्ष अनुरोध गर्दछ ।

११) बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।

१२) लुम्बिनी प्रदेशको पर्यटन प्रर्वद्धनका लागी लुम्बिनी केवलकार सञ्चालन भएकाले नीजि क्षेत्रलाई प्रदेशस्तरमा अन्य पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न सरकारसंग यो सम्मेलन माग गर्दछ ।

१३) भाद्र १ गते बुटवल र २ गते पाल्पाको बसन्तपुरमा आयोजित यस सम्मेलन सफल पार्न सहयोग पु¥याउने प्रदेश सरकार, स्थानीय सरकारहरु, नीजिक्षेत्र र विभिन्न संघ संस्थाप्रति हार्दिक आभार व्यक्त गदै अगामी दिनमा यस्तै सहकार्य रहिरने विश्वास व्यक्त गर्दछौ ।

अन्त्यमा, प्रदेशका मिडिया हाउसहरुको सवलिकरणमा तिनै तहका सरकारहरु र नीजिक्षेत्रसंग सहकार्य गर्न प्रकाशन तथा प्रसारण संघ, लुम्बिनी सदैब तयार रहेकाले मिडिया हाउसको विकासले प्रदेशको संमृद्धि र विकासमा सहयोग पुग्ने अपेक्षा गर्दछौ ।

 

 

प्रकाशित मितिः     ३ भाद्र २०८०, आईतवार ०८:२३  |