टमाटरको महङ्गी थामिनसक्नु थियो । शनिवारदेखि अचानक प्याजको भाउ बढेको छ । हरेकको भान्सामा नभई नहुने टमाटर र प्याजको मुल्य छोइनसक्नु गरी बढेपछि उपभोक्ता हैरान छन् । टमाटर जस्तै प्याजमा समेत कालोबजारी भएको भन्दै उपभोक्ताले अनुगमनको माग गरेका छन् ।
नेपालगन्ज – उपभोक्ताका लागि टमाटरको महङ्गी थामिनसक्नु थियो । झण्डै दुई सय रुपैया प्रति किलो टमाटर खरिद गर्न बाध्य उपभोक्ताले अर्को महङ्गीको सामना गर्नुपरेको छ । त्यो हो प्याज ।
शनिवारदेखि प्याजको भाउ अचानक बृद्धि भएको छ । प्रति किलो साठ्ठी रुपैयाका दरले कारोवार भइरहेको प्याज शनिवारदेखि प्रति किलो अस्सीदेखि नब्बेसम्म पुगेको छ । अप्रत्याशितरुपमा बढेको मुल्यले उपभोक्ताको ढाड सेकेको छ । हरेकको भान्सामा नभई नहुने टमाटर र प्याजको मुल्य छोइनसक्नु गरी बढेपछि उपभोक्ता हैरान भएको नेपालगन्ज–१२,कोरियनपुरकी वर्षा पोखरेल बताउँछिन् । ‘टमाटरको महङ्गीले हैरान थियौं अब प्याजले रुवाउने भयो ।’– पोखरेलले भनिन् ।
भारतीय संचारमाध्यमका अनुसार, भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएको छ । भारतको अर्थ मन्त्रालयले शनिबार सूचना जारी गर्दै आन्तरिक बजारमा ब्याजको मूल्यवृद्धि रोक्न र आपूर्ति सहज बनाउन निर्यातमा ४० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरिएको जनाएको हो । यो निर्णय आगामी डिसेम्बर ३१ सम्मका लागि जारी रहने छ ।
बढ्दो मूल्यवृद्धिबाट सर्वसाधारणलाई राहत दिन सरकारले यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । समाचारमा जनाइएअनुसार उत्पादनमा गिरावट आएपछि ११ अगस्टबाट भण्डारण राखिएको ब्याज निकाल्न शुरू गरेको थियो ।
भारतले आर्थिक वर्ष २०२३÷२४ का लागि ३ लाख टन प्याज मौज्दातमा राखेको थियो । त्यसअघिको आर्थिक वर्ष २०२२÷२३ मा सरकारले २.५१ लाख टन प्याज स्टकमा राखेको थियो । उत्पादन कम भएको बेला मूल्य बढ्ने हुँदा मूल्य स्थिरीकरणका लागि हरेक वर्ष मौज्दात राख्ने गर्छ ।
त्यहाँका सञ्चारमाध्यमका अनुसार शनिबार भारतमा ब्याजको खुद्रा मूल्य औसत ३० भारतीय रुपैयाँ हाराहारी छ। बढीमा ६३ भारतीय रुपैयाँसम्म रहेको छ । विश्वको प्रमुख निर्यातकर्ता मुलुक भारतको यो निर्णयले स्थानीय बजारमा प्याजको मूल्य घटे पनि एशियाली मुलुकहरूमा मूल्य बढ्न सक्ने समाचार संस्था रोयर्टसले उल्लेख गरेको छ। नेपालसहित बंगलादेश, मलेसिया, यूएई, श्रीलंकालगायतका मुलुक भारतीय प्याजमा निर्भर छन्।
नेपाली भान्सामा प्रयोग हुने प्याज ठूला परिमाणमा भारतबाट भित्रिने गरेको छ । नेपालगन्ज भन्सार नाकाबाट मात्रै छ हजार मेट्रिक टन बैधानिकरुपमा भित्रिएको छ । तर अवैधरुपमा प्याज आयात गरेर उपभोक्तालाई महङ्गोमा बेच्ने गरिएको छ ।