नेपालगन्ज / प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञापन बोर्डले हालै गरेको विज्ञापन सम्बन्धी नीतिगत निर्णयको स्वागत गरेको छ । संघले एक विज्ञप्ती जारी गर्दै बोर्डले गरेको निर्णयको स्वागत गरेको हो ।
विज्ञापन बोर्डले विज्ञापन एजेन्सीहरुले विज्ञापन प्रकाशन तथा प्रसारण गरेबापत सम्बन्धित निकायबाट १५ प्रतिशत मात्र कमिशन लिन पाउने व्यवस्था गरेको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले विज्ञप्तमिा विज्ञापन बोर्डको पछिल्लो व्यवस्थाले धरासायी अवस्थामा पुगेका आम सञ्चारमाध्यमलाई केही राहत पुग्ने अपेक्षा गरिएको उल्लेख छ ।
संघका अध्यक्ष नवराज कुँवर र सचिव माधव नेपालद्वारा जारी विज्ञप्तीमा विज्ञापन बापतको रकम भुक्तानी लिंदा विज्ञापन एजेन्सीहरुले काट्ने बिलसँगै प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यमले उक्त एजेन्सीलाई काटेको बिल पनि अनिवार्यरुपमा संलग्न गराउने व्यवस्थाले सञ्चारमाध्यमलाई प्रयोग गरेर बीचमा मोटो कमिसन खाने बिचौलिया प्रथाको पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।
विज्ञप्तीमा पछिल्लो व्यवस्थालाई सम्बन्धित सबै पक्षले इमान्दारिताका साथ कार्यान्वयन गर्न पनि आग्रह गरिएको छ ।