अनुदानले प्लाईउडकाे निर्यात बढायाे


बाँके  । नेपालगन्जबाट आर्थिक वर्ष २०८०/८१ को साउन महिनामै रु १ करोड ४६ लाख मुल्य बराबरको २५ हजार ४ क्युबिक मिटर प्लाईउड भारत निर्यात भयो ।

जबकी गत आर्थिक वर्ष २०७९/८० को साउन महिनामा ५३ लाख मुल्य बराबरको २ सय १५ क्युबिक मिटर प्लाईउड निर्यात भएको थियो । नेपालगन्ज भंसार कार्यालयका अनुसार उक्त आर्थिक वर्षभित्र भने रु १४ करोड मुल्य बराबरको २१ लाख क्युबिक मिटर प्लाईउड निर्यात भयो ।

सरकारले निर्यातलाई प्रोत्साहन गर्न अनुदानको कार्यक्रम राखेपछि नेपालगन्ज नाका हुँदै प्लाईउडको निर्यात ह्वात्तै बढेको छ । त्यसको दर चालु आर्थिक वर्षमा अझै बढ्ने संकेत आर्थिक वर्षको पहिलो महिना श्रावणमा भएको निर्यातको तथ्यांकले नै देखाएको छ । ‘सरकारले प्रोत्साहन गरेपछि प्लाईउड उद्योगको निर्यात बढेको छ । यसले उद्योगी व्यवसायीलाई निर्यात व्यापारका लागि उत्साह थपेको छ ।’ –बरिष्ठ उद्योग एवं शिखर प्लाईउड उद्योगका प्रबन्ध निर्देशक चम्पालाल बोथराले भने,–‘अब हामीले प्लाईको कच्चा पदार्थ रुखहरु लगाउन कृषकहरुलाई प्रोत्साहन गर्नुपर्छ ।’

कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा रहेको बोथराको शिखर प्लाई उद्योगले भारतका विभिन्न सहरमा नेपाली प्लाइउड बिक्री गरिरहेको छ । अन्य उद्योगले पनि भारतको लखिमपुर र लखनउको पाटीलाई प्लाई बेचिरहेका छन् । वन कार्यालयबाट स्वीकृति पाएपछि ट्रान्जिट परमिट लिएर निर्यात हुँदै आएको छ । भारतमा बिक्री गर्दा ठूलो परिणाममा खपत हुने र उधारोको झन्झट पनि बेहोर्नु नपर्ने उद्योगी बताउँछन । उदोगी बोथराका अनुसार, नेपाली प्लाई उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ पनि भारतीय बाटो भएर आयात गरिन्छ । नेपालमै उत्पादन भएको कच्चा पदार्थबाट बनेको प्लाई निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने अवस्था नभएको भने होइन । प्लाइउड उत्पादक संघका पूर्वराष्ट्रिय अध्यक्ष चम्पालाल बोथरा पनि नेपाली उत्तिसको प्लाइउडको भारतमा उच्च माग रहेको बताउँछन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत स्वदेशी उत्पादनलाई निर्यातका लागि प्रोत्साहन गर्ने नीति लिएका कारण भारत निर्यात सम्भव भएको सञ्चालक बोथराले बताए । सरकारले नेपाली उद्योगले भारत तथा तेस्रो मुलुकमा आफ्ना उत्पादन निर्यात गरे निर्यातको करिब ८ प्रतिशतसम्म नगद अनुदान दिने नीति ल्याएको छ ।

सरकारले कार्यविधि बनाएर बजेटमा उल्लेख गरेको कुरा कार्यान्वयन गरेसँगै सिमेन्टपछि प्लाई समेत भारतका बजारमा निर्यात हुन थालेको हो । नेपाली कच्चा पदार्थबाट उत्पादन भएको प्लाई भारत निर्यात थालिएको उद्योगले जनाएको छ ।

‘छब्बिस वर्षअघि उद्योग खोल्दा हामीले देखेको सपना अहिले पूरा भयो’ आफ्नो उत्पादन भारत निर्यात गर्दा खुसी देखिएका उद्योगी बोथराले भने, ‘कृषक दाजुभाईहरुले लगाउनुभएको कच्चा पदार्थका कारण यो सम्भव भएको हो ।’ प्लाई उत्पादनका लागि नभई नहुने लिप्टीस जस्ता रुख लगाउन उद्योगी बोथराले अभियान नै सुरु गरेका थिए । अहिले तीनै रुखहरु प्लाईमा प्रयोग गर्न मिल्ने भएका छन् । कच्चा पदार्थको सहजताका कारण निर्यातको माहौल बनेको उद्योगी बोथरा बताउँछन् ।

‘विगतमा त्यस्तो कच्चा पदार्थ भारतबाट हामीले मगाउनुपथ्र्यो । कच्चा पदार्थमै करोडौं रुपैयाँ त्यता जान्थ्यो तर अहिले अवस्था ठिक बदलिएको छ’ उनले भने, ‘स्वदेशमै कच्चा पदार्थको उपलब्धताले हामी प्लाई भारत निर्यात गर्न सक्षम भएका हौं । यसले देशमा विदेशी मुद्राको बढोत्तरी र कच्चा पदार्थ उत्पादनमा लागेका कृषकलाई फाईदा गर्छ ।’

प्रकाशित मितिः     ४ आश्विन २०८०, बिहीबार १७:४०  |