नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२३,पुरैनीमा २०७१ सालमा प्रभातसिंह ठकुरी, पशुस्वास्थ्य कार्यालयका पूर्वप्रमुख पुष्पराज श्रेष्ठ सहित बिभिन्न पेशामा आवद्ध व्यक्तिहरु मिलेर कामधेनु गाईफर्म संचालन गरे । रु ७०
लाख लगानीमा खुलेको गाईफर्ममा बाउन्नवटा गाई थिए जो बाँकेमै सबैभन्दा ठुलो गाईफर्मका रुपमा थियो ।
दैनिक एक सय पचास लिटर दुध उत्पादन गर्ने कामधेनु गाईफर्म सुरुको एक वर्ष राम्रै चल्यो । तर त्यसपछि भने अपेक्षाकृत हुन सकेन । संचालनको दुईवर्षमै
उक्त फर्म बन्द भयो । लगानीकर्ता मध्ये एक ठकुरी भन्छन्,–‘निकै ठूलो आशा र अपेक्षा सहित खुलेको गाईफर्म केही वर्षमै बन्द हुँदा दुख लाग्यो ।’
दूधले बजार राम्रै पाए पनि फर्म संचालनबीच धैर्यता नहुने हो भने पशुपालन गर्न मुस्किल पर्ने पाठ सिकेको बताउँदै ठकुरी भन्छन्,–‘पशुपालनमा धैर्यता चाहिन्छ,त्यसको अभावमा प्रगति हुँदैन जस्तो लाग्यो ।’ सामाजिकक्षेत्रमा
क्रियाशिल बैजनाथ चिसापानीका पुनित बिक्रम शाहले पनि गाईफर्म संचालनमा ल्याएका थिए । उनको फर्म बन्द भएको लामो समय भइसकेको छ ।
बाँके दुग्ध व्यवसायी संघका अध्यक्ष दिपक भण्डारीले २०६८ सालतिर रु ७० लाखकै लगानीमा बैजानाथ–६ मा ६० वटा गाई पाले । तर उनको गाईफर्म पनि लामो समय टिक्न सकेन । ‘गाईको दुधले बजार नै नपाउने अवस्था सिर्जना भयो । फेरी बाहिरबाट ल्याएको गाईलाई स्याहारसुसार गर्न पनि निकै कठिन हुने रहेछ ।’–गाईफर्म बन्द हुनाको कारण खोतल्दै भण्डारी भन्छन्,–‘मैले त काम गर्ने जनशक्तिको पनि अभाव झेल्नुपरेको थियो ।’
बाँकेमा यसरी ठुला गाईफर्म धमाधम बन्द भएका छन् जसमा लागेको लाखौं रकम डुबेको छ । गाईफर्म बन्द भएपछि व्यवसायीहरु त्यसको बिकल्पमा अरुले उत्पादन
गरेको दुध मात्रै बेचिरहेका छन् । भण्डारी भन्छन्,–‘फर्म बन्द गरेपछि मैले दुग्ध व्यवसायमा हात हाले । अहिले बुझ्दा गाईको दुधले बजार नै नपाउने भन्ने छैन रैछ ।’
तथ्यांक विभागले सार्वजनिक गरेको कृषि जनगणना–२०७८ अनुसार बाँकेमा राँगाभैसी पाल्ने धेरै छन् भने गाईगोरु पाल्ने कम देखिएका छन् । बाँकेमा ४८ हजार ८ सय १८ पशुचौपाय पाल्ने कृषक छन् । ती कृषकले ३१ हजार ९ सय ४१
वटा गाईगोरु पालेका छन् भने अन्य कृषकहरले ५३ हजार ६ सय ४७ राँगाभैसी पालेका छन् ।
दुग्ध कृषक संघ बाँकेका अध्यक्ष समेत रहेका भण्डारीका अनुसार, व्यवसायीक दृष्टिकोण र दुध उत्पादनका कारण पनि भैसीपालन बढेको हुन सक्ने बताए । उनले भने,–‘मैले नै दशवर्ष अघि ६० वटा गाईपालन गरे तर त्यसमा खासै प्रगति
भएन । धेरै कृषकले दुधका लागि गाईनै पाल्न थाल्नुभएको थियो तर अहिले अवस्था त्यस्तो छैन ।’ बजारको माग अनुसार भैसीको दूध धेरै विक्री हुने भएका कारण भैसीपालन बढेको पाइन्छ ।