नेपालगन्ज ७ असोज । नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिव बिवादका कारण नेपालगन्ज रंगशाला एक महिनादेखि बन्धक बनेको छ । जसका कारण खेलाडीहरुले कुनै पनि प्रशिक्षण गर्न पाएका छैनन् । चीनमा शुरु भएको एशियन खेलकुदका लागि यहाँबाट सहभागि हुने खेलाडी काठमाडौंमा गएर प्रशिक्षण लिन बाध्य भए ।
निर्वाचन समितिको असक्षमताका कारण संघ बाहेक अरुका लागि खासै अर्थ नराख्ने विवादले सुरक्षा निकाय र खेलक्षेत्र प्रभावित बनेको छ । मतपेटिका सुरक्षाका लागि १२ जना सुरक्षाकर्मी दिनरात डिउटीमा खटिएका छन् भने रंगशालामा खेलाडीले प्रशिक्षण गर्न पाएका छैनन् ।
सुविधा सम्पन्न पूर्वाधार संघको महासचिवको मतगणना बिवादले बन्धक बनेको छ र त्यहाँ रहेको मतपेटिका सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिनरात डिउटीमा खटाइएको छ । प्रहरीको अस्थायी ब्यारेकमा परिणत भएको भारोत्तोपलन हल कहिले खुल्ने हो भन्ने टुङ्गो छैन ।
नेपालगन्ज उद्योग वाणिज्य संघ गत भदौ २ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनमा महासचिवको बिषयलाई लिएर उत्पन्न बिवाद अदालत पुगेको छ र न्यायिक निरुपणको बिषय बनेको छ । निर्वाचनमा १ हजार ९ सय २६ मत प्राप्त गरेका समावेशी प्यानलका उम्मेदवार रानाभाटलाई निर्वाचन आयुक्तले विजेता घोषणा गरेका थिए ।
साझा प्रजातान्त्रिकका टंक प्रसाद शर्माले १ हजार ९ सय २० मत पाएका थिए । ६ मत अन्तरले रानाभाटलाई विजेता घोषणा गरिएको थियो । तर शर्मा निकट व्यवसायीहरुले बाँकी रहेका मत नगन्दै निर्वाचन आयुक्तले रानाभाटालाई बिजय घोषणा गरेको भन्दै अदालतमा रिट दायर गरेका थिए । स्ंवय निर्वाचन आयुक्तले पनि पुन मतगणनाको मिति तोक्दै सार्वजनिक सूचना जारी गरिदिएका थिए । तर समितिले नै फेरी मतगणना नगर्ने भनेपछि बिवाद अदालसम्म पुगेको हो ।
शर्मा पक्षले दायर गरेको रिटका सन्र्दभमा उच्च अदालत नेपालगन्जले महासचिव पदबारे निर्वाचन आयुक्तको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिइसकेको छ । साथै अदालतले मतपेटिका सुरक्षित राख्न भनेको छ ।
उक्त आदेश पछि संघमा महासचिव बाहेकको पदको पदस्थापना भइसकेको छ भने संघले आफ्ना गतिबिधि नियमितरुपमा संचालन गरिरहेको छ । तर यता नेपालगन्ज रंगशाला र नेपाल प्रहरीका लागि मतपेटिकाका कारण टाउको दुखाई बनेको छ । मतपेटिकालाई सुरक्षा गर्न नेपाल प्रहरीका सई सहित ६ जना र सशस्त्र प्रहरीका असई सहित ६ जना शक्ति दिनरात डिउटीमा खटिएका छन् ।
डिउटीका लागि जनशक्ति अभाव झेलिरहेका प्रहरीको ठूलो जनशक्ति यसरी एक महिनादेखि संघको मतपेटिकाको सुरक्षामा लगाइएको छ । अर्कोतर्फ रंगशालाको गतिबिधि ठप्प छन् । क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दका अनुसार, एशियन खेलकुदका लागि खेलाडीले प्रशिक्षण गर्न पाएनन् । उनीहरुलाई काठमाडौंमा प्रशिक्षण दिन लगाइएको थियो । संघको महासचिवको बिवादले खेलकुद गतिबिधि प्रभावित भएको उनको भनाई छ । ‘एकाध दिनमा सकिन्छ होला भन्ने लाग्या थियो । तर बिवादले समय धेरै लम्बाइदियो । हाम्रो खेलकुद गतिबिधि प्रभावित भयो ।’– सिंहले भने ।
रंगशालाले दैनिक साढे १२ हजारको शुल्क सहित एक महिनाको हलभाडाको बिल भुक्तानीका लागि संघलाई पत्र पठाएको छ । यसबाट संघलाई समेत ठूलो आर्थिक भार पर्ने देखिएको छ । संघको इतिहासमा यति ठूलो बिवाद भएको सम्भवत पहिलो पटक हो । जसका कारण राज्य, खेलक्षेत्र र स्ंवय संघले क्षती व्यहोर्नुपरेको छ ।