नेपालगन्ज । ग्राहकहरुको ‘फेस्टिभ मुड’लाई खिच्न अटोमोवाइल कम्पनीहरुले बिभिन्न अफर सार्वजनिक गरेका छन् । त्यसरी सार्वजनिक भएका अफरका कारण बाँकेको अटोमोवाइल व्यवसायमा उत्साह थपिने आशा रहेको व्यवसायीहरु बताउँछन् ।
आकारले यहाँको अटोमोवाइलक्षेत्रको आकार बढेपनि कारोवार बढ्न सकेको छैन । झन् त्यसैमा कोभिड महामारी र पछिल्लो समय उत्पन्न आर्थिक संकटका कारण अटोमोवाइल व्यवसाय धरासायी बन्दै गएको छ । यस्तो अवस्थामा चाडपर्वहरुमा केही भएपनि ग्राहक बढ्ने अपेक्षा गरिएको बाँके अटोमोवाइल डिलर्स एशोसियसनका अध्यक्ष रबिन्सन् श्रेष्ठले जानकारी दिए ।
उनले भने,—‘कारोवार थोरै बढेको छ तर बिगतका बर्ष जस्तै छैन ।’ बिगतमा अटोमोवाइल व्यवसायसँग सम्बन्धित विषयहरुमा एक पछि अर्को व्यवसाय हित बिपरित नीति नियमहरु लागू गर्दा अटोमोवाइल व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको थियो ।
सयौं अटोमोवाइल शो रुमहरु बन्द भईसकेको अवस्था छ भने थप अन्य शो रुमहरु समेत बन्द हुने क्रममा रहेको बिषय सार्वजनिक भइसकेको छ ।
आयात प्रतिबन्ध, पूँजी कर्जा तथा बैंकको व्याज तथा प्रिमियम दरमा गरिएको वृद्धि, राष्ट्र बैंकले लगाएको कर्जा सीमा, जोखिम भारमा वृद्धि, प्रतितपत्र मार्जिनमा बढोत्तरी लगायत विभिन्न नीति नियमहरुमा गरिएको कडाईका कारण केही महिना अघिसम्म अटोमोवाइल व्यवसायीहरु पूर्णतः धरासायी हुने अवस्थामा पुगेका थिए ।
तर कपिय नीतिगत कुराहरु सल्टिएपनि आर्थिक समस्याका कारण व्यवसाय पुरानै अवस्थामा फर्किको छैन् । अध्यक्ष श्रेष्ठका अनुसार, बाँके पश्चिम नेपालकै प्रमुख अटोमोवाइल हब हो । यसको कारण बढोत्तरी भए पनि कारोवार अपेक्षा गरिए जस्तो नबढेको बताउँदै उनी भन्छन्,—‘समस्याहरु धेरै छन् । पछिल्लो आर्थिक संकटले त हाम्रो क्षेत्रको ढाड नै सेक्यो ।’