नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पदस्थापना गरे लगत्तै बिभिन्न क्षेत्रका अगुवाहरुसंग सल्लाह लिन छलफल आयोजना गरे । त्यसै छलफलको निरन्तरता थियो पत्रकारहरुसंग भेटघाट । कार्यक्रममा जिल्लाको शान्ती सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारीले सुझाव मागेपछि पत्रकारहरुको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले क्यासिनो सिटी भनेर परिचित भएको नेपालगन्जको अध्याँरो पाटोका बिषयमा केही सुझाव दिए ।
क्यासिनो र स्पाका नाममा भइरहेको गैरकानूनी धन्दा नियन्त्रण गर्न सुझाव दिदै अध्यक्ष भण्डारीले स्पष्टरुपमा भने,–‘ क्यासिनो र स्पाले गरिरहेको अवैध गतिबिधिका बिषयमा मिडियाले लेखेकै छन् तर प्रहरी,प्रशासनबाट एक्सन भएको पाइएन । मलाई बिश्वास छ यि लगायत सबै गैरकानूनी धन्दा रोक्न यहाँ अग्रसर हुनुहुने छ ।’
अध्यक्ष भण्डारीले क्यसिनोमा नेपालीलाई प्रबेश गराउदा थुप्रै नेपाली घरबार बिहिन भइसकेको बताएका छन् । उनी भन्छन्,– ‘अहिले नेपालगन्जमा चारैतिर जुवा चलेको छ । बाँके प्रहरीले एक्सन नलिने हो भने फेरी कति घरबार बिहिन हुने हुन यो दशैमा ?’
भारतीयलाई लक्षित गरी नेपालगन्जलगायत सीमावर्ती सहरमा बग्रेल्ती क्यासिनो खुलेका छन् । यी क्यासिनोमा नेपाली नागरिकलाई जानु कानुनतः निषेध छ । तर कानुनको खिल्ली उडाउँदै नेपाली नागरिक यस्ता क्यासिनोमा जाने गरेका छन् । यो कानुनी कुरा भए पनि क्यासिनोमा भारतीयसँगै नेपालीलाई समेत मिलोमतोमा छिराउने गरेको पाइन्छ ।
नियमित क्यासिनोको लतका कारण नेपाली नागरिकको समेत उठिबास भएका उदाहरणहरू छन् । यस्ता नेपालीहरू कानुनी व्यवस्थाका कारण कहीँकतै बोल्न चाहँदैनन् र क्यासिनोले पनि नेपाली छिराएको विषयलाई स्वीकार्दैनन् ।
क्यासिनोबाट पीडित दिलबहादुर थापा (नाम परिवर्तन)का अनुसार आर्थिक हैसियत थाहा पाएपछि क्यासिनोले सजिलै नेपाली पस्न दिन्छन् । खेल्न लत लागेपछि खेलेको खेल्यै गरिरहन्छन् । थापाको दाबी अनुसार उनले १ करोड रुपैयाँ सिध्याइसकेका छन् ।
‘म त बर्बादै भएँ । दुईवटा घडेरी र तीस लाख खाताबाटै सकियो,’ थापाले भने, ‘नेपालीलाई क्यासिनोमा पस्न दिँदैनन् भन्ने कुरा पुरै बकबास हो ।’ थापाको भनाइमा उनका तीन जना साथी क्यासिनोका कारण उठिबास भएका छन् । ‘एक जना साथीको त डेढ करोड सकियो । सम्पत्तिको नाममा अब उसको केही बाँकी छैन,’ उनले भने ।
आफूहरू गएदेखि कहिल्यै प्रहरीले छापा नमारेको देखेर आश्चर्य लागेको थापा बताउ“छन् । नेपालगन्जको एउटा क्यासिनोमा लामो समय काम गरेका सुरक्षा अधिकारीका अनुसार, पहिलेका नामुद जुवाडेहरू अहिले क्यासिनो धाइरहन्छन् । त्यसरी क्यासिनो जानेको नाम नै पढ्दै उनले भने, ‘पहिलाका जुवाडेलाई अहिले क्यासिनो सबैभन्दा सुरक्षित ठाउँ बनेको छ, प्रहरीले के हेरेको छ बुझ्न सकेको छैन ।’
ठगिएका नेपालीले कसैलाई पनि भन्ने अवस्था नरहेको बताउँदै उनी भन्छन्, ‘भनेर के गर्नु ? उल्टै किन गइस् त क्यासिनो भन्लान् भन्ने डर छ ।’ पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगन्जमा तारे होटलपिच्छे ‘क्यासिनो’ खुलेका छन् । होटल सोल्टीमा महाजोङ, सिद्धार्थ भ्यूमा ज्याकपट, स्टारलाइटमा लक्की स्टार, स्नेहमा ब्लिज, कलपत्रुमा एसएन ब्लु, ड्रिमल्यान्डमा ह्याप्पी आवर र सिटी प्यालेसमा सिटी ग्यामिङ सञ्चालनमा छन् ।
उद्योग विभागमा दर्ता भई सञ्चालनमा आउन बाँकी अन्य क्यासिनोसमेत रहेका छन् ।
नेपालगन्जलाई क्यासिनो सिटी बनाउनुपर्नेबारे धेरै पहिलेदेखि चर्चा परिचर्चा भइरहेको थियो । नभन्दै पछिल्लो एक दशकमा भारतीयलाई लक्षित गरेर यहाँ आधा दर्जन बढी क्यासिनो खुलिसकेका छन् । थप होटलमा क्यासिनो सञ्चालन गर्न पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ । क्यासिनो खुलेपछि नेपालगन्जका होटलहरू गुल्जार बनेका छन् । चहलपहल बढेको छ । तर नेपालीसमेत प्रवेश गराएर उनीहरूको उठिबास हुने अवस्था देखापरेको छ । रोजगारी, भारतीय मुद्रा आर्जन र तारे होटलको आम्दानीको स्रोत बनेका छन् क्यासिनो ।
फाइदासँगै क्यासिनोका कारण कुनै पनि प्रकारको विकृति नभित्रियोस् र नेपालगन्जको मौलिक पहिचान नगुमोस् भन्नेमा कोही सचेत देखिएका छैनन् । गत शुक्रबार प्रतिनिधिसभाको लेखा समितिको बैठकमा पूर्वपर्यटनमन्त्री प्रेम आलेले सीमावर्ती क्षेत्रमा खुलेका क्यासिनोका कारण भारतीयको उठिबास भएको प्रसंग उठाएका थिए । तर उनले नेपाली नागरिक पनि त्यसबाट बर्बाद भइरहेको उल्लेख गरेनन् । उनीलगायत कुनै पनि सरकारी निकायले नेपालीको उठिबास भएको विषयमा बोलेका छैनन् ।
लेखा समितिमा आलेले भनेका छन्,– ‘भारतीयलाई सडकमा ल्याएका, उनीहरूको उठिबास लगाउने नेपाली क्यासिनोले राजस्व बुझाएका थिएनन् म पर्यटनमन्त्री हुँदा बुझाउन लगाएँ ।’ तर कानुनविपरीत नेपालीलाई समेत क्यासिनो खेल्न दिएर उनीहरूको उठिबास लगाएको विषय गोप्य रहन्छन् । नेपाली नागरिकलाई क्यासिनो जानबाट रोक्न कुनै पनि सरोकारवाला निकायले चासो दिने गरेका छैनन् ।