नयाँ नोटमा सास्ती


नेपालगन्ज । नयाँ नोट लिन नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयमा थामिनसक्नु भिड लागेको छ । बिगतको जस्तो सबै बैंकले नयाँ नोट दिन पाएका छैनन् ।

जसको प्रत्यक्ष प्रभाव राष्ट्र बैंकको नेपालगन्ज कार्यालयमा देखिएको छ । नयाँ नोट वितरण गर्न शुरु गरेदेखि नै यहाँ दैनिक जसो थामिनसक्नु भिड लागेको छ ।

दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गरिरहेको छ । राष्ट्र बैंकले दशैं–तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ । अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।

नयाँ नोट नभई सफा नोट प्रयोग गर्नुपर्ने आवाज उठेको छ । चर्चित बैंकर्स मनोज ज्ञवालीले एउटा तस्वीर शेयर गर्दै सामाजिक संजालमा लेखेका छन्,–

नयाँ नोट सटही गर्न आज (शुक्रवार) विहान ६ बजे देखि नेपाल राष्ट्र बैंकको गेटमा देखिएको लाईन हो यो । रु एक सय को नयां नोट न रु १०१ मा चल्ने हो न त पुरानो नोटको मूल्य रु ९९ हुने हो। दशैं मा सटही गरिएका नोटहरुको आयु कम हुन्छ । नोट हरुमा टिका पानी लगाइने, तोड मरोड़ हुने , तास खेल्न प्रयोग हूने कारण नोटहरुको आयु कम हुन जान्छ । दशैंमा सटही गरेका साना नोटहरु तिहार पछी झुत्रो भएर बैंक मा आउछन, खुद्रा नोट व्यवस्थापन बैंक र राष्ट्र बैंक लाई समेत गार्हो भएको छ। नोट छाप्न बर्षेनी करोडौ रुपैया खर्च हुन्छ। पैसा खेलौना होईन , विनिमयको साधन हो जÞिम्मेवार भई प्रयोग गरौं । सकेसम्म डिजिटल बैंकिंग प्रोडक्ट प्रयोग गरौं । मैले यस पटक सफा नोट मात्र प्रयोग गर्ने निर्णय गरेको छु, नयां नोट सटही नगर्ने निर्णय गरेको छु। ईबैकिङ्ग, मोवाईल बैकिङ्ग प्रयोग गर्नेछु !!

प्रकाशित मितिः     ३ कार्तिक २०८०, शुक्रबार १२:५९  |