चाडपर्वका पर्यटकले ठाकुरद्धाराका व्यवसायीलाई जगायो आशा


नेपालगन्ज १३ कात्र्तिक । वडा दशैँको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउने पर्यटकहरुको कारण ठाकुरद्धाराक्षेत्रका होटल र होमस्टे भरिए ।

कोभिड,आर्थिक मन्दीका कारण खस्कदो व्यापारबीच चाडपर्वले आशा जगाएको बताउँछन्,बर्दिया गैंडा क्याम्पसका संचालक रामजी थापा । उनी भन्छन्,—‘दशैंका बेला आएका पर्यटकहरुले हामीलाई उत्साहित बनाएको छ ।’

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार, शुक्रबारसम्म आन्तरिक र बाह्य गरी १ हजार ५८५ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । निकुञ्ज भ्रमण गर्न आउनेहरुमा नेपाल, भारतसहित सार्कराष्ट्र अन्य देशका पर्यटकहरु छन् । निकुञ्ज अवलोकन गर्नेहरुमा सार्क मुलुकका १७ जना र विदेशी ४४६ जना छन् भने स्वदेशी १ हजार १२२ जना रहेका छन् ।
अघिल्लो वर्षको वडा दशैँ पर्वसहित एक महिनाको अवधिमा १ हजार ४८६ जनाले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । पर्यटकको आगमन बढेसँगै निकुञ्जको राजस्वमा समेत वृद्धि भएको छ ।

प्रायजसो पर्यटकहरुले निकुञ्ज भित्र पाटेबाघ देख्न पाएपछि खुशी भएका छन् । इजरायल, फ्रान्स, अमेरिका, भारत लगायतका देशबाट बर्दिया निकुञ्ज अवलोकनका लागि आएका पर्यटक बाघ देख्न पाएपछि दङ्ग छन् । बर्दिया निकुञ्ज अवलोकनका लागि आएका पर्यटकले नेपालको चितवनमा मात्र बाघ देख्न पाइने सुने पनि त्यहाँ भन्दा बर्दिया निकुञ्जमा आफूहरुले दिनहुँ बाघ देखेको बताएका छन् । दिनहुँ बाघ देख्न पाएकै कारण कतिपय पर्यटकहरु अन्त घुम्न जान छाडेर बर्दियामै दिन बिताउन थालेको बताउँछन् पर्यटनक्षेत्रमा लामो समय लेख्दै आएका बर्दियाका पत्रकार भावुक योगी ।

उनका अनुसार, कोभिडका कारण थलिएको पर्यटकीय गतिविधि बाघ लगायतका वन्यजन्तु अवलोकन गर्न पाइने भएकाले बर्दियामा पर्यटकीय गतिविधि बढेको हो । बाघ हेर्न आउने पर्यटकहरु बढ्न थालेका छन् । बाघ लगायत अन्य वन्यजन्तु अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरु बर्दिया निकुञ्ज अवलोकनका लागि आउने क्रम बढ्न थालेको पर्यटन व्यवसायीहरु पनि खुसी भएका पर्यटन व्यवसायी पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बताए ।

 

प्रकाशित मितिः     १३ कार्तिक २०८०, सोमबार ०७:५९  |