पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाको ८ औं अधिवेशन कात्र्तिक १८ गते सम्पन्न भयो । उक्त अधिवेशनले सागर ज्ञवालीको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ । प्रस्तव त व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा संवाद ;-
बसन्त लामिछाने,पूर्व अध्यक्ष
पुस्तक तथा स्टेशनरी व्यवसायीले नीतिगत समस्या झेल्दै आएका छन् । जसको समाधानका लागि आवाज उठाए पनि राज्यका निकायले सुन्दै सुनेको छैन । झेल्नु परिरहेको नीतिगत समस्या समाधान ठोस रुपमा नहुदासम्म पुस्तक तथा स्टेशनरी व्यवसाय संरक्षित व्यवसाय बन्न सक्दैन ।
आफ्नो व्यवसायलाई व्यवस्थित बनाउन आफै सचेत र संगठित हुनु पर्ने अवस्था छ । हाल हाम्रो व्यवसायमा निम्त्याएको बेथितिको मारमा साना व्यवसायीहरु परेको हुदा त्यसको संरक्षणमा लाग्न जरुरी छ ।
नारायण ज्ञवाली,पूर्व अध्यक्ष
हाम्रो व्यवसायले शिक्षाको पैरबी गर्छ । राज्यको पहुँच भन्दा बाहिर रहेका ठाउँमा समेत पुस्तक तथा स्टेशनरी व्यवसायीले शैक्षिक जागरणको काम गरिरहेका छन् यसर्थ यो सेवामुलक व्यवसाय पनि हो । व्यवसायीक हकहितसंगै अभिभावक र विद्यार्थीहरुलाई प्रदान गर्ने सेवा सुविधाबारे पनि व्यवसायीले ख्याल गर्नुपर्छ ।
हेमराज पौडेल, पूर्व अध्यक्ष
व्यवसायीहरुले गुणस्तरहीनलाई निरुत्साहित गर्दै स्वदेशी प्रकाशन, स्टेशनरी वा मसलन्द सामग्रीको विक्रि वितरणमा जोड दिइरहेका छौं । तर राज्यले स्पष्ट नीति नलिएका कारण हाम्रा कयौं समस्या समाधान हुन सकेका छैनन् । समस्या समाधानका लागि नीति बनाउन आवश्यक छ ।
बुद्धिप्रसाद सुवेदी,पूर्व अध्यक्ष
स्पष्ट पुस्तक नीति नहुदा त्यसको मारमा व्यवसायी परेको अवगत नै छ । हामीले सम्बन्धित निकायमा यो कुरा जोडतोडले उठाएका छौं तर सुनुवाई भएको छैन । मलाई बिश्वास छ सरकारले अब यि कुरा सुन्ने छ र समस्या समाधानको पहल गर्नेछ ।
शालिक सुवेदी, पूर्व अध्यक्ष
पुस्तकलाई नियमन गर्ने आधिकारिक निकाय नहुने, विदेशी उत्पादकलाई सरकारले नियन्त्रण गर्न नसक्ने, नेपाली प्रकाशक र उद्योगलाई संरक्षण गर्नेगरी कच्चा पदार्थमा सहुलियत दिन सरकार सकारात्मक देखिनुपर्छ । यदि यि कुरा हुन सके राम्रो हुन्छ जस्तो लाग्छ ।
सागर ज्ञवाली, नवनिर्वाचित अध्यक्ष
खुला सीमानाका कारण पुस्तक तथा स्टेशनरी व्यवसायी मारमा परेका छन् । यसको नियन्त्रणका लागि सरकारको ध्यानार्कषण गराउँदछु । अहिले पनि सीमापारीबाट अवैधरुपमा स्टेशनरी सामाग्री भित्रिनु राम्रो होइन । चरम आर्थिक संकटको सामना गरिरहेका व्यवसायीका पक्षमा नीति निर्माण हुनुपर्ने हो तर राज्यका निकाय त्यस बिषयमा गम्भीर छैनन् । खासमा देशमा पुस्तक नीति नै बनेको छैन । किन बनाउन नचाहेका हुन बुझिनसक्नु छ ।
प्रदिप सापकोटा, पूर्वद्धितीय उपाध्यक्ष
चरम आर्थिक संकट,सीमापारको किनमेल हाम्रो चुनौतीका रुपमा रहेको छ । व्यवसायीहरु चरण आर्थिक संकटको सामना गरिरहेका छन् । व्यवसायबाट पलायन हुने अवस्था आइसकेको छ । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरले ढाड नै सेकिएको छ । सरकारले स्पष्ट पुस्तक नीति बनाउन सकेको छैन भने आर्थिक संकट समाधानको पहल खोजिरहेको छैन ।
मिना डाँगी, उपाध्यक्ष
हिजो जसरी नेपालगन्जमा सबै प्रकारको व्यवसाय चलायमान थियो आज त्यो अवस्था रहेन । अन्य व्यवसाय झैं पुस्तक तथा स्टेशनरी व्यवसाय पनि यतिबेला संकटमा छ । संकटका कारणहरु थुप्रै छन् तर समाधानका पहलहरु भइरहेका छैनन् । व्यवसायीक संघ संस्थाहरुले समस्या समाधानका लागि आवाज उठाउँछन् तर सुनुवाई हुँदैन ।
मोहन चन्द, सचिव
खुला सीमानाका कारण पुस्तक तथा स्टेशनरी व्यवसायी मारमा परेको सबै व्यवसायीको गुनासो छ । खासगरी स्टेशनरी व्यवसायीहरु प्रभावित छन् । पुस्तक तथास्टेशनरी व्यवसायले शिक्षाक्षेत्रमा जागर पैदा गर्ने पनि काम गरेको छ भन्ने कुराको मुल्यांकन सरकारले नगरेका कारण अनेकन समस्या आइरहेका छन् । त्यसमा झन् पछिल्लो पटक कोरोना र आर्थिक संकटले हरेक व्यवसाय क्षेत्र धरासायी बनेको छ ।