६ वर्षपछि प्रधानमन्त्री ‘प्रचण्ड’ थवाङमा,विकास मागे जनताले


राेल्पा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६ वर्षपछि शुक्रबार रोल्पाको थवाङ पुगेका छन्। उनी थवाङ खोलामा नवनिर्मित पक्की पुल उद्‍घाटन गर्न गएका हुन्।

थवाङलाई सशस्त्र द्वन्द्वका बेला माओवादीले आधार क्षेत्रका रुपमा लिने गरेको थियो। दाहालले सशस्त्र विद्रोहको तयारी, उठान र सञ्चालन थवाङबाटै गरेको बताए।

उनी थवाङमा सहिद मार्ग अन्तर्गत बनाइएको १६९ मिटर लम्बाइको पुल उद्‍घाटनका साथै पार्टीको गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन्।

कार्यक्रममा सम्बोधनका क्रममा विभाजनका कारण माओवादी केही कमजोर बनेपनि नेत्रविक्रम चन्द नेतृत्वको पार्टीसँग एकीकरणका लागि कुरा भइरहेको र एकीकरणपछि पार्टी बलियो हुने बताए। उनले रोल्पाका सबै स्थानमा विद्युत् सेवा विस्तार गर्ने आश्‍वासन पनि दिएका छन्।

उनले त्यसपछि जिल्ला अस्पताल रोल्पाको उद्‍घाटन गरे। रोल्पा नगरपालिका–२ रेउघामा नवनिर्मित अस्पताल भवन ५० शय्या क्षमताको हो।

पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड काठमाडौं १० का साथै रोल्पाबाट चुनाव जितेका थिए ।

अस्पताल भवन उद्‍घाटनका क्रममा उनले रोल्पा क्रान्ति, शान्ति, निर्माण र पुनःनिर्माणको प्रतीक भएको बताए। ‘पछिल्लो परिवर्तनको मियो रोल्पा विकासका दृष्टिले पछि रहे पनि विस्तारै विकासको मूल प्रवाहमा प्रवेश गर्न लागेको छ,’ उनले भने।

उनले अस्पतालमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने आश्‍वासन दिए। उनी २०६४ को निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका थिए।

प्रकाशित मितिः     २५ कार्तिक २०८०, शनिबार ०७:१६  |