भूकम्प पिडितहरुका अस्थायी घर/टहरा बनाउन एमालेले खटाउँदै छ सीपयुक्त जनशक्ति


नेपालगन्ज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जाजरकोटका भूकम्प पिडितहरुका अस्थायी घर/टहरा निर्माण गर्न पार्टीले खटाउने स्वयमसेवकहरुको परिचलान मंसिर १ गते (भोलि)देखि हुने बताएका छन् ।

भूकम्प प्रभावित क्षेत्रको स्थगत अनुगमन गरेर फर्केका एमाले केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीसँगको छलफलका क्रममा महासचिव पोखरेलले घरबार बिहिन भएका जाजरकोट र रुकुमपश्चिम जिल्लाका भूकम्प प्रभावितहरुलाई जतिसक्यो सुरक्षित आवासमा सार्न पार्टीका तर्फबाट खटाइने स्वयमसेवकहरुले भूकम्प प्रभावित क्षेत्रमै गएर मंसिर १ गते सुक्रबार देखि काम थाल्ने बताएका हुन् ।

‘कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले घरबार बिहिन बनेका भुकम्प पीडितहरु खुला आकाशमा कष्टकर जीवन बिताई रहनु भएको छ । राहतका नाममा विभिन्न निकायबाट संकलन भएका राहत सामाग्रीहरु एकद्वार प्रर्णालीबाट वितरण गर्ने भन्दै सदरमुकाममा थन्काउने काम भइरहेको छ’, लुम्बनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले भने, भुकम्प पीडितका आस्थायी घर टहरा निर्माण गर्नका लागि पार्टीले परिचालन गर्ने एक हजार स्वयमसेवक मध्ये पार्टीका पोलिटब्यूरो सदस्य तथा एमालेको मजदुर संगठन ट्रेड युनियमन महासंघ (जिफण्ट) का अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय स्वयमसेवकहरुले भोलि मंसिर १ गतेदेखि जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ थाप्ले, पिपलडाँडा क्षेत्रबाट काम शुरु गर्नेछ ।’

भुकम्प पिडितहरुका लागि राहत वितरणमा वर्तमान सरकारका प्रतिनिधिहरुबाट सत्ता र शत्तिको चरम दुरुपयोग भएको आरोप लगाउनु भएका महासचिव पोखरेलले कर्णालीमा भएको प्राकृतिक विपत्तिमा सबै क्षेत्रका नागरिकको साथ र सहयोग छ भन्ने सन्देश प्रवाह गर्नकै लागि पनि पार्टीका ९ वटै प्रदेश कमिटीहरुको प्रतिनिधित्व हुने गरी एक हजार स्वयम्सेवक परिचलान गर्न लागेको जानकारी दिए ।

छलफलमा एमाले उप–महासचिव विष्णु रिमालले भुकम्प प्रभावित क्षेत्रका नागरिकहरुको अस्थायी घर टहरा निर्माणको काममा नेपाली सेनालाई परिचलान गर्न सकेको खण्डमा मितव्ययी र प्रभावकारी हुने बताए ।

केही वर्ष अघि तराईको बारा र पर्सा जिल्लामा गएको आँधी हुरी प्रभावितहरुको आवास निर्माणको जिम्मा पाएको नेपाली सेनाले सबैभन्दा छरितो र प्रभावकारी ढंगले काम सम्पन्न गरेको उल्लेख गर्दै उप–महासचिव रिमालले जाजरकोट भुकम्प प्रभावितहरुका लागि सरकारले दिने भनिएको ५० हजार राहत रकमबाट अस्थायी घर/टहरा निर्माणको काम नेपाली सेनालाई दिंदा प्रभावकारी बताए ।

प्रकाशित मितिः     ३० कार्तिक २०८०, बिहीबार १८:५२  |