नयाँ हवाई रुटको अनुमतिका लागि पठाएको पत्रमा भारत जवाफहीन


वसन्तराज उप्रेती/बिजमाण्डुबाट

काठमाडौं । नेपालले नयाँ हवाई रुटको अनुमतिका लागि पठाएको पत्रमा भारत जवाफहीन बनेको छ। प्रधानमन्त्री तहमा भएको समझदारी अनुसार हवाई रुटको अनुमतिका लागि नेपालले गत असार पहिलो साता पत्राचार गरेको थियो। तर भारतले अहिलेसम्म जवाफ दिएको छैन।

जेठ तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाललाई नयाँ हवाई रुट दिन भारत तयार भएको भनिएको थियो। दाहालसँगको वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमै हवाई रुट उपलब्ध गराउने बताएका थिए। दाहालले दिल्लीबाट फर्किएपछि हवाई रुट दिन मोदीले सहमति जनाएको बताएका थिए।

त्यसको दुई सातापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले जनकपुर, लुम्बिनी, नेपालगन्ज र महेन्द्रनगरबाट हवाई रुट दिन परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको थियो। तर अहिलेसम्म भारतले त्यो पत्रको जवाफ नदिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणमा सहमति भएको भनिएपछि हामीले त्यसको दुई सातामै परराष्ट्र मन्त्रालयमार्फत भारतको नागरिक उड्डयन मन्त्रालयमा पत्र पठाएका थियौं। पत्रमा जनकपुर, लुम्बिनी, नेपालगन्ज र महेन्द्रनगरबाट हवाई रुट दिए दुवै देशलाई फाइदा हुने उल्लेख गरेका थियौं। तर अहिलेसम्म उताबाट रेस्पन्स आएको छैन,’ निरौलाले भने।

नेपालले मागेको हवाई रुट प्रयोग गर्न दिँदा आफ्नो एयरबेसमा असर पर्ने भारतीय अधिकारीको बुझाइ छ।

नेपाललाई भारतले हाल एउटा मात्र हवाई रुट उपलब्ध गराउँदै आएको छ। विभिन्न मुलुकबाट आउने उडान सिमरा नजिकैको रोमियो बिन्दुबाट मात्र नेपाल प्रवेश गर्छन्। यो प्रवेश विन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजका लागि मात्र उपयुक्त हो।

जानकारहरुका अनुसार महेन्द्रनगर प्रवेश विन्दु गौतम बुद्ध, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजका लागि उपयुक्त हुन्छ। त्यसैले नेपालले थप हवाई रुट उपलब्ध गराउन भारतसँग लामो समयदेखि अनुरोध गर्दै आएको छ।

प्रधानमन्त्री प्रचण्डको नयाँ दिल्ली भ्रमणपछि यस विषयमा कुरा गर्न प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि दिल्ली पुगेका थिए।

‘प्राधिकरणका महानिर्देशक आफैं गएर पनि पहल गर्नुभएको हो। महानिर्देशकसँग भारतीय अधिकारीले नकारात्मक कुरा त गरेका थिएनन्,’ निरौलाले भने, ‘तर पत्रको जवाफ नै नआएपछि उसले अनुमति दिन नमानेको रुपमा लिएका छौं।’

आफ्नो सुरक्षामा ‘थ्रेट’ हुने कारण देखाउँदै नेपाललाई नयाँ रुट दिन नमानेको भारत गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ कम्पनीले बनाएका कारण थप बिच्किएको हो।

‘औपचारिक बैठकमा भारतीय अधिकारीसँग सकारात्मक नै कुरा हुन्छ। तर उसले रुट नदिनु भनेको भूराजनीतिक कारण पनि हो,’ पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले भने।

नेपालले भैरहवामा ‘इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम’ (आईएलएस) सञ्चालनका लागि पनि भारतको अनुमति मागेको छ। कम उचाइमा उडान गर्दा आफ्नो संवेदनशील क्षेत्रको गोप्यता भंग हुने कारण देखाउँदै भारतले आइएलएस प्रयोगका लागि स्वीकृति दिएको छैन।

यो प्रविधि सञ्चालनमा आउँदा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ८५० मिटर भिजिबिलिटीमै अवतरण गर्न सक्छन्।

भारतले नयाँ हवाई रुटका साथै आईएलएस सञ्चालनका लागि अनुमति नदिंदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थले बिजनेस पाउन सकेको छैन। त्यहाँ अहिले सातामा जम्मा एउटा उडान हुने गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा त सञ्चालनमा आएको करिब १ वर्ष हुन लाग्दा एउटै नियमित उडान भएको छैन।

प्रकाशित मितिः     ४ मंसिर २०८०, सोमबार ०६:५५  |