भारतीय भंसारकाे चारघण्टा अवराेधपछि नेपालगन्ज भित्रिए मुर्रा राँगा


बाँके ७ मंसिर । रुपैडियास्थित भारतीय भंसारकाे चारघण्टा अवराेधपछि बिहीबार अवेर साँझ मात्रै १५ वटा मुर्रा राँगा जमुनाहस्थित पशु क्वारेन्टाइनकाे पशु यार्डमा ल्याइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उपहार स्वरुप पशु प्रजननका लागि पठाएको उन्नत जातकाे १५ वटा ‘मुर्रा’ राँगा नेपाल भित्र्याउन
रुपैडियास्थित भारतीय भंसारले अनेक कागजात माग्दै अवराेध सिर्जना गरेकाे थियाे ।
विभिन्न कागजात माग्दै भंसार क्लिरेन्स गर्न नमानेपछि बिहीबार दिनभर राँगा रुपैडियामै अल्झनुपरेकाे थियाे । हरियाणाबाट बुधवार दुईवटा ट्रकमा लाेड गरेर पठाइएका रांगा भारतीय कस्टममा बिहीबार दिउँसाे तीन बजे ल्याइएको थियाे । तर भारतीय अधिकारीहरुले अनेक कागजात खाेजेपछि साँझ सात बजे मात्रै राँगा नेपालगन्ज ल्याउन सकिएको नेपाली अधिकारीहरुले बताए । कागजात हुँदाहुँदै उपहारकाे राँगा निकासीमा पनि भारतीय पक्षले गरेकाे अवराेप्रती कर्मचारी हैरान थिए ।

राँगा ल्याएर आएका भारतीय पशुचिकित्सकले नेपाल र भारतका प्रधानमन्त्री स्तरकाे सहमति पछि नेपाललाई राँगा पठाइएको ब्यहाेरा सहितकाे पत्र देखाए पनि कस्टमका अधिकारीहरुले मानेनन् । उनिहरुले शुरुमा त रुपैडिया नाकाबाट ‘मुर्रा’ जातकाे राँगा निकासी नै गर्न नमिल्ने सम्म बताएका थिए । तर सवै कागजात देखाएपछि मात्रै अन्य प्रक्रिया शुरु गर्न सहमत भए । राँगा दुईदिन देखि भाेकभाेकै रहेका छन् । ट्रकमा माटाे बिछ्याइएको र साेहि कारणले दिएको घाँस समेत नखाएकाे चालकहरु बताउँछन् ।

दिउँसो १ बजे रुपैडिहा नाका हुँदै नेपाल ल्याइने भने पनि साँझ मात्रै ल्याउन सकिएको पशु क्वारेनटाइन कार्यालय नेपालञ्जका प्रमुख विनयकुमार कर्णले बताएका थिए।

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । जसअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो ।

 

राँगा लिनका लागि पशुसेवा विभाग, पशु क्वारेन्टाइन र केन्द्रीय पशु प्रयोगशालाका अधिकारीहरु नेपालगञ्ज भन्सार कार्यालय पुगेका छन् ।

बुधबार नेपाल भित्रिने राँगाहरु ३ वटा नेपालगञ्ज, ५ वटा लाहान र ७ वटा पोखरामा रहेको ब्रिडिङ केन्द्रमा लगिने विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए । यसले नेपालको दूध उत्पादन क्षमता तथा भैंसीको नश्ल सुधारमा फड्को मार्नेछ ।

भारतीय सेन्ट्रल इन्ष्टिच्युट फर बफेलोले विकास गरेको मुर्रा प्रजातिको भैंसीको जात विश्वमै उन्नत मध्येको एक मानिन्छ । भारतको हरियाणामा रैथाने प्रजातिलाई अनुवंशिक विकास गर्दै लामो अध्ययनबाट उन्नत बनाइएको यो जात दूध उत्पादन विकासका लागि सबैभन्दा राम्रो मानिन्छ ।

दक्षिण भारतीय हावापानीमा यो जातको भैंसीले एक बेत (३०० दिन ) मा ५ हजार लिटरसम्म दूध दिन्छ । यस्तो भैंसीको जातका कारण भारतले दुग्ध उत्पादनमा तीन गुणा वृद्धि गरेसँगै संसारभर भारतबाट मुर्रा जातको नश्लका लागि माग बढेको छ ।

अहिले नेपाल, चीन, ब्राजिल कोलम्बिया लगायतका देशका हावापानीमा यो जातको राँगाबाट उन्नत नश्ल सुधार मार्फत दूध उत्पादन बढ्ने देखिएपछि भारतसँग यो नश्लको राँगो र वीर्य माग गर्ने देशको संख्या बढ्दो छ ।

प्रकाशित मितिः     ७ मंसिर २०८०, बिहीबार ०७:४९  |