सम्झौताको दुई दशकपछि संचालनमा आउँदै छ,नेपालगन्ज आईसिपी


नेपालगन्ज १२ मंसिर । नेपालगन्ज भंसार जाँचचौकी (आईसिपी) निर्माणको काम सम्पन्न भएको छ । आईसिपीको ‘फिनिसिङ्ग’ को छिटफुट काम मात्रै बाँकी रहेकाले एक महिनाभित्र पूर्णरुपमा संचालन गर्ने तयारी छ ।

इन्टरमोडल यातायात विकास समितिले नेपालगन्ज आईसिपी संचालनका लागि खुला प्रतिस्पर्धाबाट टिआरएस एट्लस लजिपार्क प्रालिलाई छनोट गरिसकेको छ । समितिका उपनिर्देशक हरिकृष्ण मिश्रका अनुसार, संचालन एवं व्यवस्थापन गरे वापत उक्त कम्पनीले पाँच वर्षमा २० करोड ८८ लाख बुझाउनुपर्ने छ । खुल्ला प्रतिस्पर्धाबाट उच्च मूल्य बोलकबोल गर्ने कम्पनीलाई छनौट गरिएको हो ।

नेपालगन्ज भंसार जाँचचौकी बहुप्रतिक्षित आयोजना हो । भारत सरकारको सहयोगमा उक्त परियोजना बनेको हो । भारतले हस्तान्तरण गर्ने बित्तिकै संचालनको जिम्मेवारी पाएको नेपाली नीजि कम्पनीलाई आईसिपी हस्तान्तरण गरिने छ । डिसेम्बर २०२२ मा सक्नुपर्नेमा कोरोनाका कारण पाँच महिना म्याद थप गरिएको थियो ।

आइसिपी क्षेत्रमा ब्लक बिछ्याउने र स्टिल स्ट्रक्चर संरचना निर्माण सकिएको र अधिकांश पक्की भवन निर्माण पूरा भइसकेको छ  । इन्टरमोडल यातायात विकास समितिले आईसिपीको काम सम्पन्न भइसकेकोरुपमा लिएको छ । केही सामान्य काम बाँकी रहेकाले अब एक महिनाभित्र संचालन हुने अनुमान गरेको छ ।

८८ बिघा क्षेत्रमा फैलिएको आइसिपीमा भन्सार, अध्यागमन, प्लान्ट तथा पशु क्वारेन्टिन, बैंक, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकको व्यवस्था रहेको छ । सन् २००५ मा एकीकृत भन्सार जाँचचौकी (आइसिपी) निर्माण गर्न नेपाल—भारत सरकारबीच सम्झौता भएको थियो । नेपालको विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्जमा आइसिपी निर्माण गर्ने सम्झौता एकैसाथ भए पनि विराटनगर र वीरगन्जमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

आईसिपी संचालन पछि नेपालगन्ज नाका हुँदै हुने आयात निर्यात प्रभावकारी हुने अपेक्षा गरिएको छ । कतिपयले आईसिपीसंगै सुख्खा बन्दरगाहा पनि निर्माण गर्नुपर्ने माग अघि सारेका छन् । नेपालगन्ज भंसार नाकामा सुख्खा बन्दरगाहा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । नेपालगन्ज पश्चिमको प्रमुख भंसार नाकाकारुपमा स्थापित भएपनि एकिकृत भंसार जाँचचौकीसंगै सुख्खा बन्दरगाहा निर्माणको आवश्यक रहेकाले त्यसका लागि सरकारको ध्यानाकर्षण गराइएको हो ।

शनिवार नेपालगन्जमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला समक्ष नेकपा एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ,बरिष्ठ उद्योगी संजय अग्रवालले यो बिषयको उठान गरेका हुन । एकिृकत भंसार जाँचचौकी (आईसिपी) निर्माण भई संचालनको अन्तिम चरणमा छ तर उक्त पूर्वाधारले तेस्रोमुकुलसंग हुने कारोवारलाई बढावा नदिने उनीहरुले बताएका छन् ।

एकिकृत भंसार जाँचचौकीले हालकै भंसार कार्यालयको कामको सहजिकरण र व्यवस्थापन गर्ने भए पनि यसले तेस्रो मुलुकसंग हुने आयात निर्यातलाई खासै फरक नपर्ने मन्त्री ज्वालासंगको भेटघाट पछि जारी बिज्ञप्तिमा उल्लेख छ । तसर्थ पश्चिम नेपालको प्रमुख भंसार नाका भएका कारण नेपालगन्जमा आईसिपीलाई सुख्खा बन्दरगाहामा परिणत गर्नपर्ने टड्कारो आवश्यक देखिएको उनीहरुको भनाई छ ।

प्रकाशित मितिः     १२ मंसिर २०८०, मंगलवार ०८:११  |