व्यस्त सडकमै अन्धाधुन्ध चल्छन् गाडी, देख्दैनन् प्रहरी


नेपालगन्जको अस्तब्यस्त ट्राफिक व्यवस्थापनको दिर्घकालिन समाधानका योजना बन्दै गर्ला ! तर हालकै अबस्थामा पनि मुख्य बजारक्षेत्रकै सडकमा अन्धाधुन्ध गतिमा सवारी चलाउने माईक्रोबस, ट्यांकर,टिप्पर, भ्यान, क्यासिनो र मालबहाक गाडीलाई नियन्त्रण गर्ने हो भने थप दुर्घटना भोग्नुपर्दैन ।

 

नेपालगन्ज १२ मंसिर । नेपालगन्जको ब्यस्त सडकमा अन्धाधुन्ध गतिमा चल्ने सवारीसाधनको आतंक चोक—चोकमा बस्ने सुरक्षाकर्मीको नजरमा पर्दैनन् । चालकको मनपरी र सुरक्षा निकायको लापरवाहीका कारण हुने सवारी दुर्घटनाले धेरैको अकालमा ज्यान लिएको छ ।

शहरको अति नै व्यस्त धम्वोझीचोकको जेब्राक्रसिङ्गमै आईतवार साँझ तिव्र गतिकोे ट्यांकरले किच्दा नेपालगन्ज—१७ की शालिनी पाठकको मृत्यु भएको घटनाले शहरमा भयावह बन्दै गएको ट्राफिक व्यवस्थापनको उजागर भएको छ । यो घटनाको बिरोधमा सडकदेखि सर्बसाधारणसम्ममा तिव्र आक्रोस देखिएको छ र ब्यस्त बजारभित्रको सडकमा अन्धाधुन्ध गतिमा चल्ने सवारीलाई नियन्त्रण गर्ने प्रहरी,प्रशासनको आलोचना भइरहेको छ ।

ना३ख ८८५२ नम्बरको ट्यांकरले भे११प ७६५७ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको थियो । पुष्पलाल चोकतर्फबाट वीपी चोकतर्फ गइरहेको ट्यांकरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएपछि शालिनीको मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार ठक्कर दिएलगत्तै ट्यांकरको टायरले किचेर किशोरीको दुर्घटनास्थलमै मृत्यु भएको हो । ठक्करबाट मृतक किशोरीका बाबु मोटरसाइकल चालक ४३ वर्षीय दिलिपकुमार पाठक सामान्य घाइते भएको डिएसपी डाँगीले जानकारी दिए । शहरीक्षेत्रमै तिब्र गतिमा हुँइकिने गाडीले किच्दा यसअघि पनि सर्बसाधारणले अकालमै ज्यान गुमाउनुपरेको छ ।

२०७९ पुष महिनामा ट्रकको ठक्करबाट नेपालगन्जको न्युरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेख नारायण नगरपालिका—५ का रत्नबहादुर दर्लामीको मृत्यु भयो । गत बैशाखमा पुरैनीमा मङ्गलबार दिउँसो १ बजेर ४५ मिनेटमा ना १ ख २२७१ नम्बरको टिप्परले ठक्कर दिँदा युपी ४० जे १२१७ नम्बरको मोटरसाइकलमा रहेका तेली गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भयो ।
तिब्रगतिमा चल्ने सवारीसधानका कारण जुनसुकै अवस्थामा भयावह दुर्घटना हुन सक्ने पूर्व अनुमान गरेका एकजना सर्वसाधारण आईतवार धम्वोझीचोका सडक दुर्घटना पछि सामाजिक संजालमा लेख्छन्,—‘जुन कुरा मैले धम्बोझीको ट्राफिक प्रहरीलाई तिहारको बेला भनेको थिए । ट्राफिकले मेरो कुरालाई ठिक हो त भने तर भिड ब्यस्तमा कसैले मान्दैन यस्तै चलेको छ भन्न जवाफ दिए । हिजो ठ्याकै त्यही कारणले त्यहि ठाउँमा दुर्घटना भएको छ ।’
उनले मापदक पदार्थ र ब्लुबुक चेक गर्दैमा ट्राफिकको जिम्मेवारी पुरा नहुने भन्दै अन्धाधुन्ध चल्ने सवारी नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । उनी मात्रै होइन सामाजिक संजालमा यस्तै आशयका धेरै बिचारहरु प्रकट भइरहेका छन् ।

श्रीराम सिग्देल भन्छन्,—‘ट्राफिकको दोष नै छैन भन्ने होइन । नेपालगन्जको हकमा कुरा गर्दा समस्या ट्राफिक प्रहरी भन्दा पहिले सडक क्षमता भन्दा बढी सवारी साधन हुनु हो । अझ भन्ने हो भने ई—रिक्सा सबै भन्दा बढी समस्या हो ,रिङ्गरोड नहुनु अर्को दुर्भाग्य हो । निर्माण सामाग्री,ढुवानी सेवा लगायतका पशलहरु बिच बजारमा हुनु पनि हो ।’ सिग्देलका अनुसार जहाँसम्म नेपालगन्जमा भएका सडकका कुरा गर्दा सडक अतिक्रमण ,फुटपाथ अतिक्रमण, ट्राफिक लाइट , सिसी क्यामेरा ,ठेला व्यवसाय लगायतका थुप्रै समस्याहरुको समाधान स्थानीय सरकारले गर्नतर्फ लाग्नुपर्छ ।

नेपालगन्जको अस्तब्यस्त ट्राफिक व्यवस्थापनको दिर्घकालिन समाधानका योजना बन्दै गर्ला † तर हालकै अबस्थामा पनि मुख्य बजारक्षेत्रकै सडकमा अन्धाधुन्ध गतिमा सवारी चलाउने माईक्रोबस, ट्यांकर,टिप्पर, भ्यान, क्यासिनो र मालबहाक गाडीलाई नियन्त्रण गर्ने हो भने थप दुर्घटना झेल्नुपर्दैन ।

बाँकेमा सवारी दुर्घटनाको तथ्यांकले भयावह अवस्था देखाउँछ । पछिल्लो तीन वर्षमा ४४४ वटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार ती दुर्घटनामा परेर २३० जनाले ज्यान गुमाएका छन् । साना ठूला ४४४ वटा सवारी दुर्घटनामा परेर २३० जनाले ज्यान गुमाएका छन् भने ५२० जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार, घाइतेमध्ये अधिकांशको हात खट्टामा गम्भीर चोट लागेको छ । उनीहरु अपाङ्गताको अवस्थामा छन् । अधिकांश दुर्घटनाका घटनाहरु किन र कसरी भए भन्ने बारेमा प्रहरीले गरेको अध्ययन अनुसन्धानबाट सडक दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको पाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवेदीले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटनाको मुख्य कारण सडकको अवस्था, चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु र सडकमा चौपायाको झुण्ड हुनु र सवारी साधनको अवस्था नै रहेको पाइएको छ ।

गत तीन वर्षको अवधिमा दुर्घटनामा परेर करिब ६० भन्दा बढी पशु चौपायाको पनि ज्यान गएको तथ्यांकले देखाएको छ । छाडा पशु चौपायाका कारण पनि बाँकेमा धेरै दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाँकेमा ट्राफिक नियम उल्लङ्घनका घट्नाहरु पनि सो अवधीमा ठूलो संख्यामा भएका छन् । दुर्घटनाको अर्को प्रमुख कारण ट्राफिक नियम उल्लङ्घन पनि बताइएको छ । पछिल्लो तीन वर्षमा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा एक लाख ३१ हजार ८८९ सवारी साधनलाई कारवाही गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवेदीले विगतका दुर्घटना र कारण केलाउँदै जाँदा जिल्लामा ट्राफिक सचेतनाका विभिन्न कार्यक्रम र गतिविधि निरन्तर सञ्चालन गर्नपर्ने, गति नियन्त्रणलाई कडाइका साथ लागू गर्नपर्ने र मापसे चेकजाँचलाई पनि निरन्तर जारी राख्नु पर्ने देखिएको बताए ।

प्रकाशित मितिः     १२ मंसिर २०८०, मंगलवार ०८:१८  |