प्लाष्टिकको चामल हुँदैन, तर पनि उजुरीको हैरानी


नेपालगन्ज । प्लाष्टिकको चामल नहुने पुष्टि भइसकेपनि यसका बारेमा आउने उजुरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका कर्मचारी हैरान छ । चालु आवमा केही उजुरी आएको कार्यालयले जनाएको छ । प्लाष्टिकको चामल नहुने भएपनि भ्रम रहेको कार्यालय प्रमुख अमित भुषण सुमनले बताए ।

उनले भने,—‘प्लाष्टिकको चामल हुँदैन भन्ने पुष्टि भइसकेको छ तर यसका बारेमा कतिपयमा भ्रम रहेको पाइएको छ ।’ चामल भन्दा महंगो हुने हुँदा व्यवसायिक दृष्टिबाट पनि कसैले पनि प्लाष्टिकको चामल बनाउन नसक्ने उनको भनाई छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ३ महिनाको अवधिमा १ सय १ पटक विभिन्न प्रकारका खाद्य व्यवसाय अनुगमन गरेको र उपभोग्य मिति सकिएको, लेवल विवरण नभएको तथा अन्य कैफियत देखिएका खाद्य वस्तुहरु लगभग रु. ७० हजार २ सय ७० बराबरको जफत नष्ट गरेको छ ।

प्रयोगशालामा ८ सय ५ वटा खाद्य तथा दाना नमुनाहरु विश्लेषण भएकोमा ४२ वटा नमुनाहरुमा कैफियत देखिएको थियो । खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेले प्रस्तुत गर्दै कार्यालयको वित्तीय प्रगति ३६.६१ प्रतिशत, भारित प्रगति ५२.८८ प्रतिशत र राजश्व संकलन रु. ९,०९,११० रहेको जानकारी गराए । उनले प्रगति कम हुनुको कारण भाद्र अन्तिममा मात्र बजेट प्राप्त भएको र दरबन्दी अनुसार कर्मचारी नभएको बताए ।

यसै गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दाङको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यालय प्रमुख उज्जल रायमाझीले लक्ष्य अनुसार प्रगति भएको बताए । यस आवधिमा कार्यालयले ६६ पटक व्यवसाय अनुगमन गरेको थियो।

उपभोक्ता हित संरक्षण मंचका सचिव प्रभात कुमार ठकुरीले यस कार्यालयले खाद्य स्वच्छताको क्षेत्रमा राम्रो काम गरेको भए पनि बजारमा अस्वच्छ तथा कम गुणस्तरका सामानको विगविगी रहेको पाइएकोले आगामी दिनमा कार्यालयले अझै प्रभावकारी रुपमा काम गर्न पर्नेमा जोड दिए ।

नेपालगंज उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष चिरन्जीवी ओलीले उपभोक्ताले गुणस्तरिय बस्तु प्राप्त गर्नपर्नेमा आफुहरु संधै सजग रहेको र नियमनकारी निकायले गर्ने अनुगमनमा सहजीकरण गर्ने बताए ।

बाँकेका सहायक प्रमुख जिल्ला आधिकारी लालबहादुर गुरुङले कार्यक्रम सफलताको शुभकामना दिनुहुदै यस कार्यालयको जिम्मेवारी गहन रहेकोले यस कार्यालयले गरेका काम अझ प्रभावकारी रुपमा जनतामाझ पुर्याउनुपर्ने बताए ।

निमित्त कार्यालय प्रमुख अमित भूषण सुमनले कार्यालयले यस क्षेत्रको खाद्य स्वच्छता कायम गर्न नियमित काम गरिरहेको बताए ।

प्रकाशित मितिः     १३ मंसिर २०८०, बुधबार ०८:०२  |