बजार चलायमान बनाउन राष्ट्र बैंकले सबै नीतिगत दरहरु घटाउने


काठमाडौं । राष्ट्र बैंकले सबै नीतिगत दरहरु घटाउने निर्णय गरेको छ। राष्ट्र बैंकले घटाएको नीतिगत दरको सन्देश ‘बैंकहरुलाई निक्षेपको ब्याज दर अझै घटाउ’ भन्नु रहेको बैंकरको बुझाइ छ।

राष्ट्र बैंकले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरि बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरेको छ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई भने यथावत राखिएको छ।

‘अहिले ब्याज दर घट्ने दिशामा थियो। अझै घटाउ भनेर राष्ट्र बैंकले दिशा दिएको छ,’ बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने, ‘बजारको अपेक्षा पनि ब्याज दर तल जाओस् भन्ने थियो। त्यसलाई राष्ट्र बैंकले सम्बोधन गर्न खोजेको छ।’

उनका अनुसार पछिल्लो समय बैंकहरुको खराब ऋण बढिरहेको छ। ब्याज महँगो भएका कारण पनि खराब कर्जा बढेको भन्ने छ। त्यसैले पनि ब्याज घटाएर व्यवस्थापन गर्न खोजिएको हो कि भन्ने देखिन्छ।

राष्ट्र बैंकले सेयर धितो ऋण, रियलस्टेट कर्जामा अपनाएको लचकताले अर्थतन्त्र चलायमान बनाउन खोजेको सन्देश दिएको उनले बताए।

‘सेयर र घरजग्गालाई चलाएपछि अर्थतन्त्र चलायमान हुन्छ भन्ने देखियो,’ उनले भने, ‘जोखिम भार घटाइएको छ। साथै सानो खालको घरकर्जालाई बढावा दिन किस्ता तिर्ने अनुपात पनि बढाइएको छ।’

बैंकरको बुझाइमा अब पुस १ गतेबाटै निक्षेपको ब्याज घट्नेछ। अहिले बैंकहरु अधिक तरलतामा रहेको र राष्ट्र बैंकले पनि ब्याज घटाउन चाहेको देखिएकाले बैंकहरुले निक्षेपको ब्याज घटाउने छन्।

‘नीतिगत दरहरु घटाउनुको अर्थ त बजारको ब्याज थप घटाउ भन्नु हो। त्यसैले बैंकहरुलाई निक्षेपको ब्याज घटाउन यसले दबाब दिन्छ,’ बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले भने।

अहिले मुख्यरुपमा ऋणको ब्याज महँगो भएको र यही कारण ऋण विस्तार हुन नसकेको विश्लेषण भइरहेको छ। निक्षेपको ब्याज घटेपछि बैंकहरुको लागत कम भएर ऋणको पनि ब्याज घट्छ।

‘ऋण विस्तारलाई राष्ट्र बैंकले प्राथमिकतामा राखेजस्तो देखिन्छ,’ उनले भने, ‘रियलस्टेटदेखि सेयर धितो कर्जासम्मको जोखिम भार घटाइएको छ। यसको अर्थ अब त्यतातिर पनि लगानी गर्दा हुन्छ भन्ने नै हो।’

राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको घर कर्जामा किस्ता अनुपात ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्‍याइदिएको छ। अब तुलनात्मक रुपमा कम आम्दानी हुनेले पनि घर कर्जा लिन सक्छन्।

यसबाहेक रियलस्टेट र सेयर धितो ऋणमा जोखिम भार घटाइएको छ। ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो ऋणको जोखिम भार १२५ प्रतिशतमा झारिएको छ। रियलस्टेटमा पनि १२५ प्रतिशतमा झारिएको छ।

केसीले बैंकहरुको ऋणपत्रलाई ५० प्रतिशत स्रोतमा गणना गर्ने व्यवस्थाले बैंकहरुलाई खासै ठूलो असर नपर्ने बताए। उनले अहिले नै कर्जा-निक्षेप अनुपात औसतमा ८० प्रतिशत रहेकाले यो व्यवस्थाले उल्लेख्य रुपमा कर्जा-निक्षेप अनुपात बढाउन दबाब नदिने बताए।

प्रकाशित मितिः     २२ मंसिर २०८०, शुक्रबार १२:३२  |