नेपालगन्ज २३ मंसिर । ‘मरेतुल्य अवस्थाको छोरो आज हिड्ने भएको छ ।’— बर्रर आँशु झारेकी कल्पना मल्ल छेउमै रहेका डा प्रकाश श्रेष्ठलाई देखाउँदै भन्दै थिइन,—‘कयौं अस्पतालले नहेरेको छोरोलाई उहाँले बचाइदिनुभयो । मेरो छोरोले दोस्रो जन्म पायो ।’
कैलाली जिल्ला जोशीपुर गाउँपालिका—६ की कल्पनाले चारदिन अघि नेपालगन्जको लाइफलाइन जनरल अस्पतालमा एघार बर्षिय छोरा रिदमलाई भर्ना गरेकी थिइन । उनलाई ठाउँ—ठाउँका ठूला अस्पतालले उपचार सम्भव नभएको भन्दै रेफर मात्रै गरेका थिए । कैलाली र बाँकेका अस्पताल डुलाउँदाडुलाउँदै हैरान भएकी कल्पना मंसिर १९ गते डा श्रेष्ठलाई खोज्दै लाइफलाइन अस्पतालमा पुगेकी थिइन ।
जीवनमरणको दोसाधमा पुगेको बालक, उसलाई जोगाइदेउ भन्दै रुँदै आएका बाबुआमालाई देखेर डा. श्रेष्ठको मन पग्लियो । अरु जस्तै नाईनास्ती गरेर फिर्ता पठाएनन् । जोखिम नै मोलेर उनले तत्कालै बालककोे उपचार शुरु गरिदिए । उनको उपचार पछि रिदम अहिले खतरामुक्त
छन् । तर उनमा रहेको मुख्य स्वास्थ्य समस्याको उपचार हुन भने बाँकी नै छ ।
कन्सल्टेन्ट फिजिशियन डा. श्रेष्ठ भन्छन्,—‘अहिले बच्चा खतरामुक्त हुनुहुन्छ, तर अब उहाँको जुन खास समस्या हो त्यसको उपचार गर्नुपर्छ ।’ शुक्रवार अस्पताल परिसरमा भेटिएका रिदमका बुवा बिरबिक्रम भन्छन्,—‘आशै मारेको छोरो हिड्ने भएको छ । अब थप उपचारका लागि डाक्टरसंग सल्लाह गरिरहेका छौं ।’
रिदमको जन्मजात मलद्धार थिएन । त्यसबाट उत्पन्न स्वास्थ्य समस्याले उनलाई मृत्युको मुखमा पु¥याइदिएको थियो । रोग बल्झिएपछि छोरो बचाउँन आमा कल्पना र बुवा बिरबिक्रमले लामो संघर्ष गर्नुपरेको छ । उनीहरुले गरेको संघर्षले पश्चिम नेपालको स्वास्थ्य प्रणालीको अवस्था उजागर गरेको छ भने एउटा चिकित्सकले मोल्ने जोखिमले बिरामी र उसको परिवारमा फर्किने खुसी पनि दर्शाएको छ । त्यसैको एउटा उदाहरण बनेका छन् रिदम ।
जन्मजात मलदर नभएर स्वास्थ्य समस्या भएपछि नवजात अवस्थामै उनलाई लखनउमा लगेर शल्यक्रिया गरिएको थियो । त्यहाँ शल्यक्रिया पछि पाइपबाट दिशा गराइन्थ्यो तर बेलाबखत समस्या बल्झिरहन्थ्यो । करिब दुई हप्ता अघि उनलाई निमोनिया भयो । गाउँकै स्वास्थ्यचौकी देखाइयो । त्यहाँ सम्भव नभएपछि धनगडीस्थित सेती अस्पतालमा लगियो । खासमा उनलाई सामान्य निमोनिया थिएन पुरानै समस्याले गाँजेको थियो । त्यही अवस्था देखेर अस्पतालले उपचार सम्भव नभएको भन्दै स्थानीय नीजि अस्पतालमा रेफर ग¥यो । नीजि अस्पतालका चिकित्सकले पनि बच्चा गम्भीर अवस्थामा रहेको र दुईघण्टाभित्र जे पनि हुन सक्ने भन्दै अन्त लैजान भनेको बुवा बिरक्रिम बताउँछन् । ‘बच्चाको अवस्था नाजुक बन्दै गएको थियो । दुईवटा अस्पतालले फर्काइसकेका थिए । हामी कहाँ जाउ र के गयौं भन्ने अवस्था थियौं ।’ उनले भने,—‘त्यसपछि एम्बुलेन्समा हालेर बाँके ल्याए । यहाँ पनि दुईवटा अस्पताल धाए तर कसैले उपचार गर्न मानेनन् । बच्चाको अवस्था हेर्ने बित्तिकै अन्त लैजानुस् भन्थे ।’ अस्पताल खोज्दा खोज्दै बिरामीको अवस्था झनै जटिल बन्यो । बिरामी बोकेर एम्बुलेन्स कहिले नेपालगन्ज त कहिले कोहलपुर पुग्थ्यो ।
त्यही बेला गाउँकै चिनेजानेको स्वास्थ्यकर्मीले सुझाएपछि रिदमलाई लाइफलाइन अस्पतालमा लगियो । ‘बेहोसी अवस्थाको छोरोलाई समातेर रुदै आएका थियौं ।’— कल्पना भन्छिन्,—‘ठूला अस्पतालले फर्काएको मेरो छोरोलाई कस्ले हेरिदेला जस्तो भएको थियो । तर प्रकाश डाक्टर साहबले हेरिदिनु भयो । अहिले मेरो छोरोले नयाँ जीवन पाएको छ ।’ जटिल अवस्थाको बालकलाई उपचारपछि हिडिरहेको देख्दा डा श्रेष्ठ पनि खुसी देखिन्थे । ‘यहाँ ल्याउँदा बच्चाको अवस्था अतिनै क्रिटिकल थियो । त्यस्तो अवस्थाको बच्चालाई मैले पनि नहेरिदिए अन्याय हुन्छ भन्ने ठानेर उपचार गरेको हुँ ।’ श्रेष्ठ भन्छन्,—‘त्यस्तो अवस्थाको बच्चा आज मेरो अगाडी हिड्दै आएको देख्दा खुसी लागेको छ ।’
रिदमको थप उपचारका लागि नेपालगन्जकै अन्य चिकित्सकसंग पनि समन्वय भइरहेको डा श्रेष्ठले बताए । उनी भन्छन्,‘हामीले क्रिटिकल अवस्थाबाट बच्चालाई बचाएका छौं । उहाँको थप उपचारका लागि समय मिलेको छ ।’ बच्चाको मलद्धारबाटै पिशाव समेत जाने भएको र डाइलेसिस गरिरहनु पर्ने भएकाले त्यसको थप उपचार गर्नुपर्ने डा श्रेष्ठले बताए ।